एजेन्सी । कुवेतका अमिरले राजगद्दी सम्हालेको ६ महिनापछि र संसद् निलम्बन गरेको केही हप्तापश्चात् शनिबार नयाँ युवराजका रूपमा शेख सबाह खालिद अल–हमाद अल–सबाहको नाम सार्वजनिक गरेका छन् ।
सन् २०११ देखि २०१९ सम्म खाडी मुलुकको विदेशमन्त्री र २०२२ सम्म प्रधानमन्त्री भइसकेका ७१ वर्षीय शेख राजनीतिक एवं कूटनीतिकजगत्मा अनुभवी व्यक्ति मानिन्छन् ।
गएको मेमा ८३ वर्षीय अमिर शेख मेशाल अल अहमद अल सबाहले निर्वाचनको ६ हप्तापछि संसद् विघटन गरेपश्चात् कुवेतमा नयाँ राजनीतिक उथलपुथल मच्चिएको थियो । उनले संविधानका केही प्रावधान पनि निलम्बन गरेका थिए ।
गत डिसेम्बरमा राष्ट्र प्रमुखको जिम्मेवारी सम्हालेपछि उनले दोस्रो सरकार गठन गरी जिम्मेवारी तोकेका थिए ।
अरू खाडी मुलुकहरूको तुलनामा कुवेतमा प्रभावशाली संसद् छ भने अधिकांश शक्ति राजपरिवारमा छ । सांसदहरूसँग अधिकार भए पनि सरकारसँग उनीहरूको नियमित लडाइँले बारम्बार संकट निम्त्याउँछ ।
कुवेतसँग विश्वको करिब सात प्रतिशत तेल भन्डार छ । यो देशमा विश्वको सबैभन्दा ठूलो सार्वभौम सम्पत्ति कोष छ । तर, हालैका वर्षहरूमा कुवेतले आफ्नो अर्थतन्त्रलाई तेलमा निर्भरताबाट टाढा राख्न संघर्ष गरिरहेको छ ।