नेकपा (एकीकृत समाजवादी) दशौँ राष्ट्रिय महाधिवेशनमा जुटेको छ । नेकपा एमालेबाट विद्रोह गरेर जन्मिएको पार्टीले गरेका कामको समीक्षा महाधिवेशनले कसरी गर्ला, त्यो कुरा आफ्नै ठाउँमा छ ।
तर, एमालेबाट विद्रोह गरेको एकीकृत समाजवादी पार्टीले आम जनतासामु विद्रोहको औचित्य पुष्टि गर्न नसक्दा प्रतिनिधिसभामा १० सिटमा खुम्चिनुपर्ने अवस्था आयो । यसो हुनुको कारण पार्टीले संगठन विस्तार गर्न नसक्नु नै हो ।
पदका लागि नेताको घरघरमा दिनरात लाम लाग्ने, संगठन विस्तारमा नेता, कार्यकर्ताले ध्यान नदिँदा राष्ट्रिय पार्टीसमेत बन्न सकेन । पार्टी विद्रोह गर्दा जति उत्साह थियो, आम चुनावसम्म त्यो उत्साह मर्दै गएको कारण एमालेबाट विद्रोह गरेर आएका कतिपय नेता, कार्यकर्ताहरू एमालेमै फर्किएको यथार्थ पनि छ ।
मूलतः कम्युनिष्ट पार्टीको ‘स्पिरिट’ क्रान्तिकारी हुनुपर्ने हो । कम्युनिष्ट पार्टीका प्रत्येक नेता, कार्यकर्तामा स्वच्छ छवि, उच्च नैतिकता हुनुपर्ने हो । तर, विचार र चिन्तन भुत्ते भएपछि एकीकृत समाजवादीका कतिपय अवसरवादी नेता, कार्यकर्ता ‘जता मल्कु, उतै ढल्कु’ बनेका छन् । जुन एकीकृत समाजवादी पार्टीको भविष्यका लागि चिन्ताको कुरा हो ।
अहिलेसम्म एकीकृत समाजवादीले विद्रोहको औचित्य पुष्टि गर्न सकेको छैन । हिजो विद्रोह गर्दा एमालेबाट अवसर नपाएकाहरूको एउटा झुण्ड एकीकृत समाजवादीमा समाहित भए, आज त्यही झुण्डले स्वाद चाख्न खुट्टा उचालिरहेका छन् । यो अवसरवादीको घेरा नतोड्दासम्म एकीकृत समाजवादीले विद्रोहको औचित्य पुष्टि गर्न सक्दैन ।
हिजो विद्रोह गर्दा एमालेबाट अवसर नपाएकाहरूको एउटा झुण्ड एकीकृत समाजवादीमा समाहित भए, आज त्यही झुण्डले स्वाद चाख्न खुट्टा उचालिरहेका छन् । यो अवसरवादीको घेरा नतोड्दासम्म एकीकृत समाजवादीले विद्रोहको औचित्य पुष्टि गर्न सक्दैन ।
हिजो जसलाई ‘चोर’ भनेर आफू साधु भएको नाटक गर्दै थिए, आज तिनै एकीकृत समाजवादीमा आएपछि ‘चोर’ साबित भए । हुँदाहुँदा एकीकृत समाजवादीको बैठकमा आउनसमेत तिनीहरूलाई लाज लाग्न थालेको छ ।
माधवकुमार नेपालको वरपर घुम्ने नेता, कार्यकर्ता कतिसम्म अवसरवादी छन् भन्ने कुरा दश भाइको एमाले प्रवेशले देखाइसकेको छ । नेपालले विश्वास गरेर वार्ताका लागि पठाएका दश भाइ एमालेमै विलय हुनु ठूलो गद्दारी हो । यस्ता गद्दारहरू अहिले पनि एकीकृत समाजवादीमा छन् । तिनीहरूबाट कुनै पनि बेला धोका हुनसक्छ भन्ने कुरालाई नेतृत्वले समयमै विचार पुर्याउनुपर्छ ।
को असल र नैतिकवान कार्यकर्ता हो, को अवसरवादी हो भन्ने कुरा नेतृत्वले विचार गर्नुपर्छ । अवसरवादी झुण्ड बोकेर कहीँ पनि पुग्न सकिन्न । इमानदार कार्यकर्तालाई नेताको घरदैलो चाहर्न नैतिकताले पनि दिन्न । जो घरदैलो धाउँछ त्यसैले अवसर पाउँदा इमानदार कार्यकर्ता पीडित भएको तथ्य नेकपा एकीकृत समाजवादीभित्रै पनि विद्यमान छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई–दुई पटक प्रतिनिधिसभा भंग गरेपछि विद्रोह गरेर एकीकृत समाजवादी पार्टी जन्मिएको हो । प्रतिगमनविरुद्ध सडक आन्दोलनमा रहेको एकीकृत समाजवादी पार्टी एमाले सहभागी सरकारमा सहभागी हुनु अर्को विडम्बना हो ।
किनभने, ओली जसरी भए पनि एकीकृत समाजवादी पार्टी सिध्याउन चाहन्छन् । थकाएर होस् कि गलाएर होस् एकीकृत समाजवादी पार्टी नसिद्धिएसम्म ओलीलाई निद्रा लाग्दैन । त्यसैले माधवकुमार नेपालको प्रधानमन्त्री बन्ने पालो आयो भनेर कांग्रेससँगको गठबन्धन तोड्न ओली सफल भए । फेरि पनि नेपाललाई थाङ्नामा सुताउन ओली कोटेश्वरमै पुगे ।
नभन्दै, नेपाल थाङ्नामै सुते । अहिले पश्चात्ताप गर्दैछन् । यदि, माधव नेपालमा राजनीतिक इमानदारिता छ भने संघ र प्रदेशबाट एकीकृत समाजवादी फिर्ता हुनुपर्छ । महाधिवेशन नजिकिँदै गर्दा संगठन निर्माणमा पार्टी जुट्नुपर्छ । अवसरवादी नेता, कार्यकर्तालाई संरक्षण गर्न समय खेर फाल्नु हुँदैन ।
पार्टीलाई चुस्त दुरुस्त रुपमा अगाडि बढाउन पनि नेता–नेताबीच विवाद अन्त्य गर्नुपर्छ । नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने हिम्मत गर्नुपर्छ । यो नै महाधिवेशनको सफलता हो ।