सर्लाही, ३ बैशाख । मंगलवार राती आएको हावाहुरीपछि सर्लाही जिल्लाभर विद्युत् अवरुद्ध भएको छ । मर्मतको काम गर्न वुधवार बिहानैदेखि नेपाल विद्युत् प्राधिकरणको लालबन्दी, मलंगवा र बरहथवा वितरण केन्द्रबाट प्राविधिक खटिसकेका छन् । तर, दिनभरीमा पनि विद्युत बनेको छैन ।
सर्लाहीमा रौतहटको चन्द्रनिगाहपुरबाट तानिएको ३३ केभी विद्युत् प्रशारणलाइनमा सानो हावाहुरी चल्ने बित्तिकै समस्या आउने गरेको छ । राती ठूलै हावाहुरी चलेकाले क्षतिको अवस्था बुझ्न प्राविधिकहरुको टोलीले बागमती पारीको जंगलमा गस्ती गरिरहेको नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख सुधीर रायले जानकारी दिए । क्षतिको अवस्था थाहा पाएपछि मात्रै बिजुली सूचारु हुन कतिबेला लाग्छ ? भन्न सकिने प्राविधिकहरुले बताएका छन् ।
यस्तै, जिल्लाको ईश्वरपुर क्षेत्रमा हावाहुरीपछि केही पोल भाँचिएको खबर खाएको लालबन्दी वितरण केन्द्रले जनाएको छ । मुख्य लाईन सूचारु गरेपछि जुन क्षेत्रमा समस्या आएको छ । त्यही क्षेत्रको मात्रै लाईन काटेर मर्मतको काम गरिने लालबन्दी वितरण केन्द्र प्रमुख रायले बताए ।