- नन्दा थापा
बाजुरा, ३ वैशाख । बर्षासँगै खहरे खोलामा आएको बाढीले बगाएर हिमाली गाउँपालिकामा ११० भेडाबाख्रा र २ हल गोरु मरेका छन् । दिउँसो चारबजेपछि आएको अत्याधिक बर्षासँगैको बाढीले खोलाको ओराढमा राखिएका २ हल गोरु र खोला छेउ किनारामा राखिएका भेडाबाख्रा बाढीले बगाएर मरेका छन् ।
हिमाली गाउँपालिका ६ धुलाचौर बस्ने मेघराज पाण्डे र विष्णु चन्द्र जोशीका ओराढमा राखिराखेको अवस्थामा बाढीले बगाएरको प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताएका छन् । धुलाचौर नजिकै रहेको खेती छिउने खोलामा आएको बाढीले बगाएका दुई हल गोरु मध्ये २ वटा मरेको अवस्थामा फेला परेका छन् । भने २ वटा बेपत्ता रहेको बुझिएको छ ।
यस्तै हिमाली गाउँपालिका ७ बाँधुका विष्णु तिमिल्सेना, धनलाल तिमिल्सेना, देवीदत्त तिमिल्सेना र महेन्द्र भण्डारीका भेडा बाख्रा बाढीले बगाएको छ । बाँधुको हाउरी खोला छेउ मै त्रिपाल टाँगेर राखिराखेको अवस्थामा एकाएक आएको बाढीले बगाएर मरेको प्रहरीले बताएको छ ।
घटना स्थलमा प्रहरी जाँदा केही भेडाहरु मरेको अवस्थामा खोला छेउ छाउमा भेटिएपनि अधिकांश बाढीका कारण भासिएको हुनसक्ने अनुमान गरिएको छ । एक घण्टा जति परेको बर्षाले स्थानीय खहरे खोलामा ठुलो बाढी नै आएको बुझीएको छ ।
स्थानीय चार परिवारले १० लाख बढी नोक्सानी बेहोर्नु परेको छ । बाख्रा पालनबाटै परिवार पाल्दै आएका परिवारका लागि सही नसक्नु पीडा थपिएको छ । मौसम बदलीपछि भेडाबाख्रा पालमा ल्याएर राखिएका थिए । प्रहरीले दुबै घटनाको अध्ययन गरिरहेको छ ।
असिना पानीले लाखौँको अन्न बाली नष्ट
असिना पानीले जिल्ला सदरमुकाम मार्तडी आसपास क्षेत्रको अन्न बाली चुटेर नष्ट पारेको छ । करिब १ घण्टा बढी समयसम्म परेको असिना पानीले पाक्न लागेको गहुँ, पाकीसकेको जौ र तरकारी बालीलाई चुटेर नष्ट पारेको हो । मार्तडी क्षेत्रका स्थानीयले बैशाख पहिलो साताबाट जौ बाली भित्र्याउने गरेका छन् ।
असिनाले बडिमालिका नगरपालिका सहितका क्षेत्रमा लाखौँको अन्न बालीमा क्षति पुगेको छ । ठूला–ठुला दाना सहीत परेको असिनाले तरकारी र जौ बालीमा लाखौको क्षति पुर्याएको जुगाडाबाट पत्रकार प्रशान्तराज जोशीले बताएका छन् ।
दिउँसो १ बजेपछि एकाएक मौसम बदली भई असिना पानी परेको स्थानीय बडिमालिका ७ का जील्लीका स्थानीय समेत रहेका शिक्षक लालचन्द्र जैशीले बताएका छन् । बडिमालिका १ र ७ नम्बर वडा क्षेत्रमा गहूँबालीमा बढी क्षति पुगेको र प्रहरी रिपोटका लागि घटना स्थलमा पुगिसकेको प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताएका छन् ।
गहुबाली उत्पादनका लागि भण्डारको रुपमा चिनिएको बुढीगंगा र त्रिवेणी नगरपालिकामा पाक्न थालेका गहुँबालीमा असिनाले क्षति पुर्याएपछि किसानहरु चिन्तित बनेका छन् । बीउ उत्पादनका लागि समेत लगाइएको गहुँ बालीमा क्षति पुगेको स्थानीयले बताएका छन् ।
तरकारी र गहुँ जौको नलमा रस समेत निस्किने गरी क्षति पुगेको छ । असिनाले गहुँ बारी एकातिर पल्टिरहेको अवस्था छ । कुनै स्थानमा असिनाले नल परालसमेत नरहने गरी क्षति पुर्याएको छ । यस अघि कृषि ज्ञान केन्द्रले पनि त्रिवेणी, बुढीगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिका क्षेत्रमा असिनाले क्षति पुर्याएको थियो ।