Logo
Logo

कलैयाले बितरण गरेको दाल गुणस्तरहीन ठहर, दोषीमाथि के कारबाही हुन्छ ?


- दृष्टि न्युज/संवाददाता

252
Shares

काठमाडौँ, ४ बैशाख ।

कलैया उपमहानगरपालिका प्रमुख राजेश राय यादवले राहतको नाममा गरिब परिवारलाई कुहिएको दाल,चामल र दोब्बर मूल्यमा आलु बितरण गराएर राहतमा समेत भ्रष्टाचार गरेको प्रष्ट भइसकेको छ । एकपछि अर्को उनले राहतमा गरेका अनियमितता सार्वजनिक भएका भएपनि छानबिन र कारबाही सुरु हुन सकेको छैन ।


राहत बितरण गर्ने नाममा कालोबजारी गर्नको लागि नगरप्रमुख यादवले २७ वटै वडाहरुलाई बिकास निर्माणको लागि छुट्याइएको रकमबाट पेश्की दिनको लागि कार्यपालिका बैठकबाट नै निर्णय गराउन सफल भएका छन् ।

राहत बितरण नाममा आफूखुशी गर्नको लागि नगरप्रमुख यादवले वडाअध्यक्षहरुलाई रिझाउनको लागि कार्यपालिका बैठकको निर्णयको बहानामा नियम बिपरीत दुई करोड भन्दा बढी पेश्की कर्मचारीहरुलाई दिलाएका छन् ।

सार्वजनिक खरिद नियमावलीबिपरीत गएर कलैया उपमहानगपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र घिमिरे, तत्कालीन प्रशासकीय अधिकृत हरिनाराण बेल्वासे, लेखा अधिकृत दिब्या सर्राफले आर्थिक लाभ लिएर जनप्रतिनिधि र कर्मचारीहरुलाई दुई करोड भन्दा बढी पेश्की दिएको तथ्य बाहिर आएको हो ।

कलैया उपमहानगरपालिकामा रहेका २७ वटै वडाहरुमा साबुन, पानीको व्यवस्था गर्नको लागि एक एक लाखको दरले पेश्की दिने कार्यपालिका बैठकबाट निर्णय भए पनि कुनै वडालाई दुई लाखसम्म पेश्की दिइएको छ ।

राहत बितरण गर्नको लागि प्रत्येक वडाहरुमा ५–५ लाखको दरले पेश्की दिने निर्णय कार्यपालिकाबाट भए पनि कुनै वडालाई ७ लाख भन्दा पनि बढी पेश्की त्यस वडाका जनप्रतिनिधि र कर्मचारीहरुलाई दिइएको कलैया उपमहानगरपालिकाका लेखा शाखाका एक कर्मचारीले बताएका छन् ।

पेश्की दिने बेलामा तत्कालीन प्रशासकीय अधिकृत बेल्वासे र लेखा अधिकृत दिब्या सर्राफले पेश्की बुझ्नेसँग १० प्रतिशत कमिशन दिनुपर्ने सर्तनामा समेत गराएर कतिपय सँग कमिशन समेत असुली गर्न सफल भएको एक जनप्रतिनिधीले बताएका छन् ।

कलैया उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष हरिओम साह सोनारले वडामा राहत समग्री बितरण गर्नको लागि वडाले ७ लाख पेश्की पाएको र राहतमा बितरण गरिएको दाल र आलु नगर प्रमुखको कोल्डस्टोरबाट नै खरिद गरेको बताएका छन् ।

जनप्रतिनिधि र कर्मचारीहरुलाई पेश्की दिलाएपछि नगर प्रमुख यादवले खाद्यान्न सामग्रीमध्ये चामल, दाल, आलु अधिकांश वडाहरुमा आफ्नै मार्फत् सप्लाई गराएर ठूलो रकम कमाउने खेलमा लागेका वडा अध्यक्षहरुले बताएका छन् । पेश्की ७ लाख लगेका कलैया १ का वडाध्यक्ष सोनारले राहतमा १५ किलो चामल दिएको भनेर १० किलोमात्र दिएका छन् । ५ किलो आलु दिएको भने पनि २ किलोमात्र दिएको र दाल १ किलो भनेकोमा आधा किलो दिएर अर्को भ्रष्टाचार गरेको आरोप छ ।
चामल नजिकका राईस मिलहरुबाट बजार मूल्य भन्दा केही महँगोमा किनेको खुलेको छ । कतिपय वडाहरुमा न्यून गुणस्तको रहतको दाल र दोब्बर मूल्यमा बिक्री गरेर पदको दुरुपयोग गरे पनि सम्बन्धीत निकायले कारवाही गर्नमा आलटाल गर्दे आएको छ ।
खाद्यान्न सामग्रीमा बितरण गरिएको रहरको दाल कुहिएको (फंगल) भेटिएपछि नगर प्रमुख यादवको रंगपुरमा रहेको यादव कोल्डमा प्रहरी प्रशासनले छापा मारी ३ सय ८० बोरा दाल सिलसमेत गरेका छन् ।

नगर प्रमुख यादवले महामारीमा पनि उपमहानगरपालिकाको बजेटबाट महँगोमा आलु किनी राहतमा बितरण गर्नेदेखि गुणस्तरहीन रहरको दाल दिएर फुडप्वाइजन नै गराएर अर्को महामारी फैलाउन खोजेकोमा उनलाई मत दिने कलैयाबासी नै लज्जित भएका छन् ।

डेढ महिना पहिला १८ देखि २२ रुपैयासम्म प्रतिकिलोको दरमा किनेको आफ्नै कलैया उपमहानगरपालिका ७ रंगपुरमा रहेको यादव कोल्डस्टोरमा राखेको आलुलाई अहिले ३५ देखि ४० रुपैयाँ प्रति किलोको दरले वडाहरु मार्फत् बिक्री गरेर स्थानीयहरुलाई राहतमा बितरण गराउने काम नगर प्रमुख यादवले गरिरहेका छन् । कलैया उपमहानगरपालिकाले कुहिएको दाल बितरण गरेपछि त्यो दाल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग हेटौंडा कार्यालयमा परीक्षणका लागि पठाइएको थियो । खाद्य प्रविधि कार्यालय हेटौंडाले कलैया उपमहानगरपालिकाले राहतमा बितरण गरेको दाल खान योग्य नरहेको रिपोर्ट दिएको छ । खान अयोग्य दाल भनेर रिपोर्ट आइसकेपछि उपहानगरपालिका प्रमुख यादवलाई के कारबाही हुन्छ त भन्ने प्रतिक्रियाका लागि बाराका प्रमुख जिल्ला अधिकारी रुद्र पण्डितसँग पटक पटक प्रयास गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।

२५ लाखको कागजमै समित
कलैया उपमहानगरपालिकाभित्र रहेका स्वास्थ चौकीहरुलाई कोरोना भाइरसको बिरामीलाई चेकजाँच गर्न आवश्यक पर्ने स्वास्थ सामग्री खरिद गर्ने नामा २५ लाख रुपैया कागजमै कागजी प्रक्रिया पुर्याएर हिनामिना गर्ने खेल शुरु भएको छ ।
कलैया उपमहानगरपालिका प्रमुख यादव, तत्कालीन प्रमुख प्रशासनिय अधिकृत बेल्वासे र लेखा अधिकृत सर्राफले स्वास्थ्य शाखाका कर्मचारीहरुलाई पेश्की रकम दिएर अधिकांश रकम कमिसन बापत बाडफाँड गरेको र थोरै रकमको स्वास्थ्य सामग्री खरिद गरेको लेखा शाखाका ती कर्मचारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्