Logo
Logo

आफ्नै कारणले विवादित अर्थमन्त्री


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ५ बैशाख । गत सोमबार काठमाडौंको काँडाघारीस्थित सनसिटी अपार्टमेण्टमा बस्दै आएका एउटै परिवारका दुईजनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि एकाएक अर्थमन्त्री पनि चर्चामा आएका छन् । सरकारमा पछिल्लो महिनादेखि प्रधानमन्त्रीझैँ प्रभावशाली देखिएका मन्त्री खतिवडा राहत प्याकेज वा अन्य कुनै विशेष काम गरेर चर्चामा आएका भने होइनन् । उनी कोरोना संक्रमित व्यक्ति र परिवार रहेको स्थानमा गए वा नगएका साथै यसबीचमा उनले को कोसँग भेटघाट गरे भन्ने विषयले सर्वत्र चिन्तासहितको खुल्दुली बढाउँदा खतिवडा चर्चामा आएका हुन् ।


चैत ११ गते बेलुकी पाँच बजेको समयमा छोराको निवास सनसिटी अपार्टमेण्टमा गाडीमा झण्डा हल्लाउँदै अर्थमन्त्री पुगेको र झण्डै एक घण्टा त्यहाँ बिताएको विभिन्न तथ्य, प्रमाण र प्रविधिले पुष्टि गरिसकेको छ । त्यसैगरी, छोरा तिलक पनि कार्यालयको काममा लकडाउनको समयमा बैंकमा आउजाउ गरेको बताइन्छ । यसबीचमा नियुक्त नयाँ गभर्नर महाप्रसाद अधिकारीलाई तात्तातो बधाई दिन खतिवडाका हाकिम सीईओ जनक शर्मा पौडेल चैत २४ गते साँझ अधिकारी निवासमै पुगेका थिए । लकडाउनको समयमा पनि काठमाडौं, धापासीका पौडेल ललितपुरको भैंसेपाटी पुगेर नवनियुक्त गभर्नरलाई बधाई दिएको तस्बिर आफैंले सार्वजनिक गरेका थिए ।
त्यसबखत बैंकका सीईओ र अन्य दुईजना कर्मचारीले पनि संक्रमणबाट जोगिन कुनै उपाय अवलम्बन गरेका थिएनन् । गभर्नरले समेत मास्क र पञ्जा नलगाई त्यसबखत फूलको गुच्छा र खादा स्वीकारेका थिए । त्यसपछि लगत्तै मन्त्रीलाई भेट्न गभर्नर अधिकारी पुल्चोकस्थित मन्त्री निवासमा पुगेको पनि सुरक्षा निकायले समेत पुष्टि गरेको छ ।
यसअघि चैत ८ गते सनसिटीमा भएको अपार्टमेण्टधनीहरूको संगठनको चुनावमा तिलक सचिवमा छानिएका थिए । बैशाख १ गते कोरोना पुष्टि भएका उक्त अपार्टमेण्टका व्यक्तिहरू पनि चुनावमा सहभागी भएका थिए । बेलायतबाट आएको १४ दिनपछि सचिव खतिवडाको संक्रमित व्यक्ति र परिवारबीच धेरै पटक भेटघाट भएको हुनसक्ने स्थानीय बासिन्दाले बताएका छन् । कोरोना संक्रमण जोसुकैबाट र जस्तोसुकै अवस्थामा सर्नसक्ने भएकाले यसबाट जोगिन हाललाई सामाजिक दूरीलाई नै बढावा दिइएको छ । तर, मुलुकको प्रधानमन्त्रीलगायतका उच्चतहका व्यक्तिसँग नियमित भेटघाट हुने अर्थमन्त्रीको चैत ११ गतेको सनसिटीसम्मको यात्राले जोखिम बढाएको पक्कै हो । तरपनि मन्त्रीले वास्तविकता प्रष्ट नपार्नुले अवस्थालाई झन् रहस्यमय र सशंकित बनाइदिएको हो । उनका प्रेस सहयोगी र निजी सचिवले यसअघि अनौपचारिक रूपमा गरेको खण्डन पनि आज सार्वजनिक भएको एउटा सूचनाले गलत साबित गरिदिएको छ ।
केहीदिन पहिले मन्त्रीले मन्त्रालयबाटै गरेको दातृ निकायहरूसँगको भिडियो कन्फरेन्सको क्रममा पनि एकजना सचिव बाहेक तस्बिरमा देखिएका अन्य कसैले पनि मास्क र पञ्जा लगाएका थिएनन् । अरुलाई अर्ति दिने विद्धान मन्त्री स्वयम् पनि मुटु र चिनीको रोगी भएको तथ्य उनैका निजी सचिव र प्रेस सहयोगीले यसअघि नै बताइसकेका छन् । तर, यस्तो डरलाग्दो संक्रमणमा कतै मन्त्री नै जोखिममा पर्नुभयो की भनेर सर्वसाधारण र सञ्चारमाध्यमले चासो राख्नुलाई आफू बिरुद्धको षडयन्त्र ठान्न नहुने स्वास्थ्यकर्मीहरूले पनि बताएका छन् ।
सञ्चारमाध्यममा हुने स्वस्थ आलोचनालाई समेत नरुचाउने खतिवडाको गलत प्रवृत्तिका कारण पनि यो विषयले चर्चा पाएको हो । अन्तरजातीय बिबाहपछि खतिवडाका जेठा छोरा तिलक धुम्बाराहीको घर छाडेर अलि टाढा बस्दै आएका थिए । पहिले क्लिन इनर्जी डेभलपमेण्ट बैंकमा र पछि आफ्नै परिवारको ठूलो लगानी रहेको जनता बैंकको जागिरे उनी पछिल्लो केही वर्षदेखि सनराइज बैंकमा कार्यरत छन् । हुनपनि गत फागुनमा दोस्रोपटक मन्त्रीको सपथ लिँदा मात्र खतिवडा जेठा छोरा, बुहारीसँगै औपचारिक रूपमा शीतल निवासमा देखिएका थिए । त्यसपछि उनीहरूबीच आउजाउको क्रम बढेको आफन्तहरू नै बताउँछन् ।
दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि संवेदनशील स्वास्थ्य अवस्थामा रहेका प्रधानमन्त्रीसँग नियमित भेट गर्नुपर्ने, बालुवाटार गइरहनुपर्ने, कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकमा सहभागी भइरहनुपर्ने र मन्त्रालयको आन्तरिक कार्यक्रममा नियमित सहभागी भएका कारण उनैबाट उच्च राजनीतिक तहमा समेत कोरोना जोखिम बढ्यो कि भन्ने चिन्ता सर्वसाधारणले लिएका हुन् । तर अर्थमन्त्रीको रवैया र पछिल्लो अनौपचारिक जानकारीलाई विश्लेषण गर्दा खतिवडाले अहिलेको चर्चालाई आफ्नो नीजि जीवन र मामलामा अरुले दखल पुर्याएको अर्थमा बुझेको हो की भन्ने भान परेको छ । स्मरणरहोस्, सरुवा रोग फैलिएको र मुलुकमा विशेष अवस्था सृजना भएको बेलामा सर्वसाधारण र उच्च ओहोदाका कसैको पनि निजी जीवन र स्वतन्त्रता भन्ने हुँदैन ।

प्रतिक्रिया दिनुहोस्