Logo
Logo

टी-२० विश्वकप : नेपाल र श्रीलंकाबीचको खेल रद्द


819
Shares

काठमाडौं । जारी आइसिसी टी–२० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ । अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रंगशाला क्षेत्रमा दिनभर वर्षा भएपछि खेल रद्द भएको हो ।

मैदानको आउटफिल्डमा पानी जमेको छ । मुख्य पीच छोपिए पनि रनिङ क्षेत्र वर्षातका कारण भिजेको थियो । यससँगै नेपाल र श्रीलंकाले एक–एक अंक पाएका छन् । लगातार दुई खेलमा पराजित श्रीलंका भने बाहिरिएको संघारमा पुगेको छ । अब नेपालले सेन्ट भिसेन्टमा दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्नेछ । दुवै टिमलाई हराए मात्र नेपाल सुपर–८ मा पुग्नेछ ।

खेल हेर्नका लागि अमेरिकाभर तथा अरू देशबाट फ्लोडिडा आइपुगेका हजारौं दर्शकका लागि पनि मौसमले खिन्न बनाएको छ । केही समर्थकहरु खेल सुरु हुनभन्दा तीन घन्टा पहिले रंगशाला आइपुगेका थिए । श्रीलंकाविरूद्धको खेलअघि अन्तिम अभ्यासका लागि सेन्टर ब्रोवार्ड काउन्टी रंगशालामा भेटिएका नेपालका कप्तान रोहितकुमार पौडेलको पनि मौसमकै चिन्ता थियो ।

गर्मी बढिरहेको फ्लोरिडामा अहिले हरेक दिनजसो वर्षा भइरहेको छ । दुई दिनअघि पनि भारी वर्षा हुँदा ब्रोवार्ड काउन्टी मैदानमा पानी जमेको थियो ।

प्रतिक्रिया दिनुहोस्