कास्की । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आसन्न १०औँ राष्ट्रिय महाधिवेशनले सर्वसम्मतिबाट नेतृत्व चयन गर्ने बताएका छन् ।
पार्टीको गण्डकी प्रदेश कमिटीको नवौँ पूर्ण बैठकलाई पोखरामा सम्बोधन गर्दै उनले महाधिवेशनका लागि एउटै दस्तावेज आएको र नेतृत्व पनि सर्वसम्मत रुपमा चयन गरिने र सर्वसम्मतका लागि आफू बाधक नबन्ने बताए ।
एकीकृत समाजवादीको आगामी असार १६ देखि काठमाडौँमा राष्ट्रिय महाधिवेशन हुँदैछ । अध्यक्ष नेपालले भने, ‘पार्टीको तल्ला कमिटी तथा सात वटै प्रदेश कमिटीहरुले सर्वसम्मत नेतृत्व चयन गर्न नेताहरुलाई आग्रह गरेका छन् । हामी कार्यकर्ताहरुको भावना अनुसार सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नेछाैं ।’
उनले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको कार्यक्रमको सान्दर्भिकता अझै पनि उत्तिकै रहेको बताए । ‘कम्युनिष्ट पार्टीभित्र लोकतान्त्रिक प्रतिस्पर्धा हुने, कामको श्रेष्ठताको आधारमा नेतृत्वमा पुग्ने लगायतका विषय सान्दर्भिक छन् । जवज पार्टीको कार्यक्रम हो,’ उनले भने ।
अध्यक्ष नेपालले सवै राजनीतिक पार्टीको अवस्था उस्तै रहेकाले उच्च मनोवलका साथ गण्डकी प्रदेशमा पार्टीको काममा लाग्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।