वीरगञ्ज । सशस्त्र प्रहरी बलले पर्सास्थित वीरगञ्ज महानगरपालिका–१९, बर्वालागयत वीरगञ्जका विभन्न ठाउँबाट मंगलबार राति अवैध गोदाममा छापा मारेर ४४ लाख बढी मूल्य बराबरका सामान नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरीका सहप्रवक्ता, डीएसपी शैलेन्द्र थापाका अनुसार प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज रिजालको कमान्डमा खटिएको सुरक्षा फौजले वीरगञ्ज भन्सार कार्यालयका कर्मचारी समेतको उपस्थितिमा अवैध रूपले राखिएको गोदाममा छापा मारेर सौन्दर्य क्रिम, मुङ दाल, मोटर पार्टस् तथा अन्य अवैध सामान बरामद गरेको हो ।
बरामद सामानमा १४ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको लेक्मी ब्रान्डको क्रिम १४ हजार ५ सय ९२ पिस, सोही ब्रान्डको ८ लाख ६ हजार ४ सय रुपैयाँ बराबरको १६ हजार १ सय २८ पिस क्रिम छन् । यस्तै मानिस कोही नबस्ने सोही महानगरपालिकाको अर्को ठाउँबाट एक घरमा अवैध रूपले गोदाम गरी राखिएको ६ लाख रुपैयाँ बराबरको ३ हजार किलो दाल समेत बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
यस्तै मंगलबार राति नै सोही गुल्मले वीरगञ्ज महानगरपालिका–१० बाट अवैध रूपमा राखिएको ११ लाख रुपैयाँ बराबरको मोटर पार्ट्स र १० लाख ७५ हजार मूल्य बराबरको किराना सामान बरामद गरेको छ । बरामद सामान बुधबार बिहान आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।