काठमाडौं । आफ्नो आप्रवासन नीतिमा पछिल्लोपटक कडाइ गर्दै गइरहेको अस्ट्रेलिया सरकारले विद्यार्थी भिसामा थप कडाइ गरेको छ । अस्ट्रेलियामा अब पर्यटक भिसामा रहेका तथा ग्राजुएट भिसा (टीआर)मा रहेकाले विद्यार्थी भिसाका लागि आवेदन दिन पाउने छैनन् ।
बुधबार विज्ञप्ति जारी गर्दै अस्ट्रेलियाका गृहमन्त्री क्लेयर ओनिलले पर्यटक भिसा र टेम्पोररी भिसामा रहेकाहरू पुनः विद्यार्थी भिसाका लागि योग्य नहुने घोषणा गरेका हुन् ।
पछिल्लोपटक पर्यटक भिसामा आएर विद्यार्थी भिसामा जानेहरूको संख्या बढिरहेको थियो । लामो समय विद्यार्थी भिसामा रहिरहने प्रवृत्ति पनि बढिरहेको थियो । यो नियम जुलाई १ बाट लागू हुने नयाँ आप्रवासन नीतिमा समेत समेटिएको छ ।
कानुनी छिद्रहरूलाई प्रयोग गर्दै लामो समय भिसा लम्ब्याएर अस्ट्रेलिया बसिरहनेहरू अब यो नियमसँगै प्रभावित हुने छन् । गृहमन्त्री क्लेयरद्वारा जारी विज्ञप्तिमा पछिल्लो १० महिनामा ३६ हजार जना पर्यटक भिसाबाट र टीआरबाट ३२ प्रतिशत विद्यार्थी भिसामा गएको उल्लेख छ ।
तर उनीहरूले आफ्नो देश फर्कन पुनः विद्यार्थी भिसामा भने आवेदन दिन सक्नेछन् । नयाँ नियमले नेपाली विद्यार्थीहरू पनि प्रभावित हुने छन् । अस्ट्रेलियामा नेपाली विद्यार्थीको संख्या ठूलो छ ।