काठमाडौं । संघीय संसदअन्तर्गत आज तीन संसदीय समितिको बैठक बस्दै छ । संसद सचिवालयका अनुसार विकास, आर्थिक मामिला तथा सुशासन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्ष सिंहदरवारमा बस्दैछ । बैठकमा नेपालको सार्वजनिक व्यवस्थापनमा शासकीय सुधार तथा सुशासन प्रवर्द्धन गराउन सूचनाको हक कार्यान्वयनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय सूचना आयोगको भूमिका र भएका कामकारबाहीहरुको सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि मध्यान्न सवा १२ बजे बस्दै छ । बैठकमा जाजरकोट लगायतका भूकम्प प्रभावित क्षेत्रमा गरिएको स्थलगत अध्ययन, अवलोकन एवं अनुगमन कार्यक्रमको समीक्षा गरिने छ ।
त्यसैगरी विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा समितिले मिडिया काउन्सिल विधेयक, २०८० माथि सरोकारवाला निकायसँग छलफल गर्ने कार्यसूची रहेको समिति सचिवालयले जनाएको छ ।