काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक अहिले बिहान ११ बजेका लागि बोलाइएको छ ।
आजको बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको जारी छलफललाई निरन्तरता दिइने छ ।
संसद् सचिवालयका अनुसार आज वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने कार्यसूची रहेको छ ।
यसका साथै, मन्त्रालयउपर विभिन्न सांसद्हरुले खर्च घटाउन प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ । उक्त प्रस्तावहरूलाई आजै निर्णयार्थ प्रस्तुत गरिने संसद् सचिवालयले जारी गरेको कार्यसूचीमा उल्लेख छ ।