काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि अन्तर्राष्ट्रिय पर्यटन मेला शुरु हुँदैछ । समिट इभेन्ट्स मार्केट्सले गर्न लागेको यो मेला नेपालको समग्र पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रबाट पहिलो पटक आयोजना गरिएको हो ।
नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरसम्म जोड्न मेलाको आयोजना गरिएको मेलाका संयोजक विष्णु पाण्डेले बताए । नेपाल पर्यटन बोर्ड र काठमाडौ महानगरपालिकाको मुख्य सहयोग रहेको मेलामा एक हजारभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने संयोजक पाण्डेले बताए ।
मेलामा विभिन्न समूहगत छलफल हुनेछन् । मेलाले विभिन्न देशका पर्यटन व्यवसायीलाई एकै ठाउँमा ल्याउने र यसबाट नेपालको अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवर्द्धन गर्न नयाँ अवसरको सिर्जना गर्ने विश्वास लिइएको आयोजकले जनाएको छ । मेलामा १६ देशका एक सय ५५ पर्यटन व्यवसायी सहभागि हुनेछन् ।
मेलामा नेपाल, भारत, कोरिया, ताइवान, सिङ्गापुर, माल्दिभ्स, अमेरिका, नेदरल्याण्ड्स, श्रीलङ्का, चीन, थाइल्याण्ड, दुबई, बङ्गलादेश, भियतनाम, मलेसिया, भुटान सहभागी हुने मेलामा एक करोड रुपैयाँभन्दा बढी खर्च हुने आयोजकले जनाएको छ ।