काठमाडौं, ६ बैशाख । पश्चिमी वायुको प्रभावसँगै तीन दिनसम्म मौसम बदली भई देशका अधिकांश भू–भागमा मेघगर्जन र चट्यांङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले बुलेटिन निकालेर केही दिनदेखि नेपालमा जारी रहेको पश्चिमी वायुको प्रभाव अझै सक्रिय देखिने भएकाले सतर्कता अपनाउन पर्ने बताएको छ । देशका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित वर्षा हुनसक्ने देखिएकाले सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।
शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका मध्य र पूर्वका केही स्थनका साथै पश्चिमका थोरै स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ ।
साथै, रातको समयमा पनि देशको पूर्वी भू–भागमा सामान्य बदली र मध्य तथा पश्च्मिी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ । देशको पूर्वी भेग तथा मध्य र पश्चिमी पहाडी क्षेत्रका केही स्थानमा मेघर्जन, चट्याङ÷असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ ।
यस्तै, आइतबार पनि पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराईका भेगमा आंशिक बदली हुनेछ । पहाडी भेगका केही स्थानमा साथै तराईका एक, दुई स्थानमा मेघगर्जन, चटयाङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना छ । रातिको समयमा पनि यो क्रम जारी रहनेछ ।
त्यस्तै वैशाख ८ गते पनि देशभर आंशिकदेखि सामान्य बदली रहने र अपराह्नपश्चत पहाडी भूभागका केही स्थानमा साथै तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।