काठमाडौं, ७ बैशाख ।
लकडाउनको बेला आपूर्ती मन्त्रीको ध्यान भने कमिसनमा छ । मन्त्री लेखराज भट्टले आफु निकट केही व्यवसायीलाई ग्याँस उद्योग चलाउन अनुमति दिएका छन् । संसदीय समिति र सर्वोच्च अदालतको निर्णय विपरीत नयाँ एलपी ग्यास उद्योगलाई सञ्चालन अनुमति दिइएको हो । निगमको ३० चैतमा बसेको वैठकले तीनवटा उद्योग चलाउने स्वीकृति दिएको हो ।
सञ्चालन अनुमति पाएका उद्योगमा साइपल ग्यास उद्योग, सगरमाथा ग्यास उद्योग र सीता श्री ग्यास उद्योग छन् । जब कि तीन वर्षअघि संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले नयाँ ग्यास उद्योग सञ्चालन अनुमति नदिन निगमलाई निर्देशन दिएको थियो ।
यसमा ठूलो आर्थिक चलखेको आशंका गरिउको छ । ०६८ मा बाबुराम भट्टराई नेतृत्वको सरकारमा वाणिज्य तथा आपूर्ति मन्त्री छँदा लेखराज भट्टले नयाँ ग्यास कम्पनी नचाहिने भन्दै तीन दर्जन उद्योग खारेज गरिदिएका थिए । तर सोही विभागीय मन्त्रालयमा दोस्रो खेप पुग्दा भट्टले नयाँ ग्यास उद्योगलाई अनुमति दिन मौन स्विकृति दिए । यसको कारण हो भट्ट निकटका व्यावसायीले सञ्चालन गर्ने साइपल ग्याउ उद्योगलाई लाइसेन्स दिलाउनु । भट्टको गृहजिल्ला कैलालीबाटै यो उद्योग सञ्चालन हुनेछ, जसमा पाँच जनाले संयुक्त लगानी गरेका छन् । निगमले सबैभन्दा धेरै ग्यास उद्योग रहेको धादिङमै समेत अर्को थप्ने अनुमति दिएको छ । सीता श्री धादिङको धुनीबेसी नगरपालिकामा अवस्थित छ ।
निगमले गत ८ पुसमा ०७१ पछि उद्योग विभागमा दर्ता भएर ग्यास उद्योग चलाउने लाइसेन्स पर्खिएका उद्योगलाई तीन महिनाभित्र सम्पूर्ण तयारीसहित निगममा सम्पर्क राख्न सूचना निकालिएको थियो । निगमले यो सूचना नै आफूले चाहेका व्यावसायीलाई लाइसेन्स दिने उद्देश्यले निकालेको स्रोत बताउँछ ।