लेख्नका लागि राम्रो विषयवस्तु चाहिन्छ । राम्रो विषयवस्तुले मात्रै पाठकहरूको बौद्धिक विकासलाई मद्दत पुराउँछ, साथै सकारात्मक सोचको अभिवृद्धि गर्छ । सूचना प्रविधिको विकासले आम नागरिकलाई चौबीसै घण्टा सुसूचित गरिरहेको हुन्छ । पहिलाजस्तो सूचना र विचारका लागि पत्रपत्रिका खोजीखोजी पढ्नुपर्छ भन्ने छैन ।
सामाजिक सञ्जालको बढ्दो प्रयोगले नागरिक नै पत्रकारजस्तो भइसकेका छन् । सामाजिक सञ्जालबाटै धेरै कुराको जानकारी लिने र प्रतिक्रिया दिने अभ्यास नेपालमा पनि बढ्दै गएको छ । आमनागरिकले आफूलाई मन परेको कुरा ‘लाइक’ वा शेयर गर्ने, मन नपरेको कुरालाई प्रतिक्रियामार्फत अभिव्यक्त गर्ने हुँदा सामाजिक सञ्जाल बलियो सूचना प्रविधिको माध्यम बनेको छ ।
यति हुँदाहुँदै पनि पत्रकारिताको महत्त्व आफ्नै ठाउँमा छ । एउटा पत्रकारले जति जिम्मेवारीपूर्वक समाचार सम्प्रेषण गर्छ, त्यति जिम्मेवार सामाजिक सञ्जालमा पाठकहरू कमै भेटिन्छन् ।
कौवाले कान लग्यो भन्दैमा कौवाको पछाडि कुद्ने समूहको सामाजिक सञ्जालमा कमी छैन । त्यति हुँदाहुँदै पनि कान छाम्ने समूहको पनि सामाजिक सञ्जालमा उत्तिकै बाहुल्यता छ । हुन त पत्रकारिताको धर्म भनेकै सत्य, तथ्यमा टेकेर समाचार सम्प्रेषण गर्नु हो । सामाजिक सञ्जाल त्यही पत्रिकाका पाठकहरूको एउटा ‘फोरम’ मात्र हो ।
नेपाली पत्रकारिता जिम्मेवार पनि छ । जतिसुकै शक्तिशाली व्यक्ति वा शासकले गरेका भ्रष्टाचारलाई सतहमा ल्याउने आँट पत्रकारले नै गरेका छन् । पत्रकारिता सशक्त नभएको भए शासक कति भ्रष्ट हुन्थे कल्पना पनि गर्न सकिन्न । पाठकबिना पत्रकारिता बाँच्न सक्दैन । त्यसैले पाठकको कुरा सुन्नुपर्छ ।
त्यसैले जिम्मेवार पत्रकारहरू पनि सामाजिक सञ्जालप्रति बढी आकर्षित भएका छन् । आ–आफ्नै युट्युब च्यानल चलाएर जीविकोपार्जन गरिरहेका छन् । छापा, टेलिभिजनभन्दा ‘अनलाइन’, युट्युब बढी प्रभावकारी भएकोले पनि भावी पुस्ताको रोजाइमा ‘युट्युब अनलाइन’ परेका हुन् । मुख्य कुरा छापा माध्यम र अनलाइन, युट्युबहरुमा कस्तो सामग्री सम्प्रेषण गरिन्छ भन्ने कुरा महत्त्वपूर्ण छ ।
धेरैलाई राजनीति मन पर्न छाडेको छ । राजनीतिको नाममा अराजनीतिक गतिविधि बढ्दै गएपछि राजनीतिप्रति वितृष्णा जाग्नु स्वाभाविकै हो । त्यसैले पाठकहरूले भन्ने गर्छन्– ‘जुन पत्रिका पढे पनि खाली राजनीतिकै कुरा…?’
राजनीतिप्रति वितृष्णा जाग्नुको कारण बेथिति, कुशासन र भ्रष्टाचार नै प्रमुख कारण हो । नेताहरूको चरित्रका कारण लोकतन्त्र बदनाम भएको छ । जुन जोगी आए पनि कानै चिरेकाजस्ता छन् । त्यसैले पाठकहरूको राजनीतिप्रति आशाभन्दा निराशा बढ्दो छ ।
पाठक भनेका हाम्रा सम्पत्ति हुन् । पाठकबिना पत्रकारिता बाँच्न सक्दैन । त्यसैले पाठकको कुरा सुन्नुपर्छ । पाठकलाई राजनीति मन नपर्नुको कारण हाम्रा नेताहरूको चरित्र र व्यवहार हुन् । नेता सद्दे भए देश अवश्य सुध्रिन्छ ।
नेतालाई सुधार्ने भनेको पनि स्वस्थ आलोचनाले नै हो । तर, हाम्रा नेताहरूलाई स्वस्थ आलोचना पच्दैन । आफ्नो कमजोरी कसैले उजागर गरिदियो भने पत्रकारितालाई दुस्मन ठान्छन् । यो एक प्रकारको तानाशाही प्रवृत्ति हो, जुन प्रवृत्ति पत्रकारलाई पनि मन पर्दैन । त्यसैले भनिन्छ, पत्रकारिता भनेको स्थायी प्रतिपक्ष हो । जसको आलोचना चाहेर वा नचाहेर पनि सुन्नुपर्छ । किनभने, पत्रकारले गर्ने आलोचना व्यक्तिगत नभई सामूहिक जिम्मेवारीको कुरा पनि हो ।
नेपाली पत्रकारिता उत्तिकै जिम्मेवार पनि छ । जतिसुकै शक्तिशाली व्यक्ति वा शासकले गरेका भ्रष्टाचारलाई सतहमा ल्याउने आँट पनि पत्रकारले नै गरेका छन् । पत्रकारिता सशक्त नभएको भए शासक कति भ्रष्ट हुन्थे कल्पना पनि गर्न सकिन्न ।
हरेक नेतामाथि कुनै न कुनै आरोप छ । देश लुट्न पल्केकाहरूलाई यस्तो कुरा मन पर्दैन । त्यसैले यो वा त्यो बहानामा पत्रकारिता क्षेत्रमाथि हमला गर्ने गर्छन् । पछिल्लो समय त्यसको शिकार कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया बने । त्यसयता गृहमन्त्रीको विषयमा ‘कान्तिपुर’ मौन जस्तै छ ।
गृहमन्त्री रवि स्वयं एकताका सञ्चारकर्मी थिए, उनले पत्रकारितामाथि हमला गर्न हुँदैन थियो । त्यसको पश्चाताप उनले कुनै दिन अवश्य गर्लान् । तर, सिरोहियामाथिको राज्य आतंकले गिरिबन्धु टि–स्टेट प्रकरण पनि ओझेलमा परेको छ ।
बरु त्यसमा संलग्न गिरोहलाई चोख्याउन अन्तर्वार्ता लिने काम भएको छ । अपराध भनेको अपराध नै हो, त्यसमा संलग्न जो कोही भए पनि दण्डित हुनै पर्छ । सर्वोच्च अदालतले समेत गैरकानुनी सावित गरेको गिरीबन्धु काण्ड कसरी टुंगिन्छ, त्यो हेर्न भने बाँकी नै छ । तर, पत्रकारिताले झुन्डिनु परे पनि यस्तो मुद्दा छाड्नु हुन्न । यो नै पत्रकारिताको धर्म हो ।