म चीनमा पढ्न पाउने भएँ । मलाई छात्रवृत्ति मिलेको खबरले अत्यन्तै खुसी बनायो । जिन्दगीको एउटा अध्याय नै नयाँ ढंगले सुरु हुने भयो । तर, बसाई सर्नुपर्ने भयो । म आफ्नै युनिभर्सिटीको होस्टेलमा जानुपर्ने भयो ।
अर्को समस्या पनि थियो । म त सानी छोरीको आमा पनि । मेरो युनिभर्सिटीको होस्टेलमा सानो बच्चालाई लैजान भने नमिल्ने भने । कस्तो फसाद ! सरोजको होस्टेलमा पनि शुरुमा त बच्चा राख्न नपाइने नै थियो । तर, विभन्न संयोगले हाम्रो निम्ति ढोका खुलेको थियो ।
त्यही नजिरले गर्दा अन्य विद्यार्थीले पनि पछि आफ्ना बच्चा भित्र्याए । यो सबैका निम्ति एकजना फाङ् थरका अधिकृत धन्यवादका पात्र छन् । उनी कार्यवाहक प्रमुख भएकै बेला त्यो ढोका खुलेको थियो । अहिले उनी छन् कि छैनन्, छन् भने कहाँ छन् केही थाहा छैन । हामी जस्तै त्यसबेलाका अन्य विद्यार्थी पनि उनीप्रति पक्कै कृतज्ञ होलान् ।
सम्भवतः चीनमा विदेशी विद्यार्थीले बच्चा लगेको घटना नै पहिलो थियो त्यो । तीन दशकभन्दा अगाडिको चीन अहिले जस्तो खुल्ला अझै भैसकेको थिएन । धन्न समयले साथ दियो हामीलाई र म आफ्नो बच्चा बोकेरै चीन पस्न पाएँ ।
मेरो निम्ति सबै कुरा नयाँ । सेप्टेम्बरतिर नै म चीन पुगेको, केही महिना बुढाको होस्टेलमा बच्चासँग खेलेरै बिताएँ । पढ्न पाउने भएपछि क्लास शुरु भएको चार महिनापछि जनवरीको जाडोमा बल्ल नयाँ कक्षामा प्रवेश गरेँ । बच्चालाई कहाँ राख्ने भन्ने सवालमा पनि धेरै छलफल भयो । सरोजकै होस्टेलका प्रशासकहरुको सहयोग र पहलमा एउटा राम्रो होस्टेलसमेत भएको किन्डरगार्टेनको बन्दोबस्त भयो ।
हामी आमाछोरीले नै ठाउँ फेर्नुपर्ने भयो । सरोज आफ्नै होस्टेलमा बस्ने । छोरी बच्चाहरूको होस्टेलमा । म पनि आफ्नै ‘इस्ट चाईना नर्मल युनिभर्सिटी’को होस्टेलमा हुँदा तीनजना तीनतिर छुट्टिएर बस्नुपर्ने भयो । यो अनुभव तीनैजनाको निम्ति सुखद र सहज थिएन ।
सुङ छिङ–लिन (सनयात् सेनकी पत्नी)को नामबाट बनेको र प्रायः उच्च तहका व्यस्त कर्मचारीका बच्चाहरुलाई राख्ने गरेको किन्डर गार्टेनमा आफ्नो बच्चालाई पनि राख्न पाउँदा मनमा सन्तोष नै भयो ।
यो सबै बन्दोबस्त सरोजकी गुरुआमा च्याङ युलान्ले मिलाई दिएकी थिइन् । त्यो गुनलाई पनि म कहिल्यै बिर्सिन्नँ । उनलाई सरोजकी चिनियाँ आमासमेत भन्दा रै’छन् । सुरुमा एमबिबिएस पढ्दा देखिकै घनिष्ट सम्बन्ध रहेछ सरोज र च्याङ गुरुआमाको बीचमा । म पुगेपछि जिस्क्याएर भनेकी थिइन् – ‘सरोजको ‘आमा’ भने पनि म तिम्रो सासु चाहिँ होइन है ! संसारमा कतै पनि सासु र बुहारीको सम्बन्धलाई त्यति राम्रो मान्दैनन् …।’
हामी आमा छोरीले नै ठाउँ फेर्नुपर्ने भयो । सरोज आफ्नै होस्टेलमा बस्ने । छोरी बच्चाहरुको होस्टेलमा । म पनि आफ्नै ‘इस्ट चाईना नर्मल युनिभर्सिटी’को होस्टेलमा हुँदा तीनजना तीनतिर छुट्टिएर बस्नु पर्ने भयो । यो अनुभव तीनैजनाको निम्ति सुखद र सहज थिएन । दुःख भन्ने कि सुख भन्ने, यसरी तीनजना तीनतिर बसेर पनि दिन बिताउनै पर्ने भयो ।
सबैभन्दा गाह्रो त बच्चालाई नै हुने कुराले म चिन्तित थिएँ । त्योभन्दा अगाडि जस्तै दुःख सुखमा पनि बच्चा आफ्नै साथमा हुन्थी । त्यतिबेला उसलाई स्कूल पु¥याउन जाँदा म रोएकी थिएँ । छोरीले चाल पाइछ । उसैले उल्टो सम्झाई मलाई– ‘मामु चिन्ता नलिनु, म ज्ञानी भएर बस्छु नि … ।’
एकदम समझदार र मेधावी थिई बच्ची । केही महिनामै उसको चिनियाँ भाषा धैरै राम्रो भैसकेको थियो । स्कूल नपढिसकेको भए पनि बुवाको होस्टेलको वातावरणले गर्दा सबैसँग चिनियाँ भाषामै अलिअलि कुरा गर्न थालिसकेकी थिई । किन्डरगार्टेनमा गएपछि त उसको चिनियाँ भाषा पक्का चिनियाँ बच्चाहरूकै जस्तो भयो ।
मैले पनि चिनियाँ भाषा नै पढ्नु थियो । ६ महिना अगाडि पढ्न थालिसकेका विदेशी विद्यार्थीहरूसँग मिस्सिएर पढ्नुपर्दा मलाई फलामको चिउरा चपाए जस्तो भयो । तर, मैले आँट नै गरेर पढ्ने निर्णय गरिसकेको भएर फलाम नै चपाउने अनुभव पनि गरेँ ।
पढाई छोड्नु जतिको सजिलो नहुँदो रहेछ फेरि पढ्न थाल्नु । राजनैतिक उदेश्यको निम्ति भनेर शिक्षालाई तिलाञ्जली गर्ने बेला पनि मेरो मनमा सञ्चो त थिएन । तर, कमिटीमा म अल्पमतमा परेकी थिएँ ।
घरमा बल्लबल्ल पढ्न पाएकी कान्छी छोरी म, संघर्ष गरेरै कलेजसम्म प्रवेश गरेकी थिएँ । उच्च शिक्षा प्राप्त गर्ने भोक ममा बाँकी नै थियो । तर, ‘देशको निम्ति’ भनेर पढाईको लोभ पनि त्याग्नु परेको थियो । तर, यतिबेला भने कुनै बेला तीर्थस्थल ठानेको त्यही देश चीनको एक ठूलो युनिभर्सिटीमा पढ्न पाउने भएकी थिएँ । यसलाई सानो रुपमा लिने त कुरै थिएन ।
‘इस्ट चाइना नर्मल युनिभर्सिटी’ चीनका नामी युनिभर्सिटीभित्रै पर्दो रहेछ । त्यहाँ पस्दा अर्कै एउटा दुनियाँमा पसेको अनुभव भयो । एउटा सानो शहर जस्तै लाग्ने विशाल क्षेत्रमा फैलिएको, सुन्दर बगैँचा, ठूला चौर, पुल, नहर, हरिया रुख, पार्क, फराकिला सडक र ठूला होस्टेल आदिले म चकित भएँ ।
विदेशीको निम्ति छुट्टै कक्षाकोठा र होस्टेलको बन्दोबस्त थियो । केटाहरूको निम्ति छुट्टै, केटीहरुको निम्ति छुट्टै होस्टेल रहेछन् । मेरो कक्षामा म एक्लै नेपाली थिएँ । जापानबाट आएका विद्यार्थीहरु धेरै थिए । अरु युरोप, अमेरिका र क्यानाडालगायत संसारका विभिन्न देशबाट आएका विद्यार्थीहरू सँगको हेलमेलले मेरो जीवनशैलीमा मात्र होइन, चिन्तनशैलीमा समेत केही प्रभाव पर्दै जानु स्वाभाविक नै थियो ।
होस्टेलमा एउटा कोठामा दुइजना बस्नु पथ्र्यो । चिनियाँ विद्यार्थीहरूको भन्दा धेरै सुविधाजनक होस्टेल थियो विदेशी विद्यार्थीका निम्ति । चिनियाँहरू त एउटै कोठामा आठजनासम्म विद्यार्थी बस्नु पथ्र्यो– दुईतल्ले बेड हुन्थे । अहिले कस्तो छ थाहा छैन, त्यो बेलासम्म चिनियाँहरू अझै त्यति सुविधाभोगी भइसकेका थिएनन् ।
तीनजना तीनतिर बस्दाको त्यो बेला हरेक सप्ताहन्तमा भने तीनजना फेरि एकैठाउँमा बस्न सरोजकै होस्टेलमा जान्थ्यौँ । सुरुमा हामीलाई दिएको भित्ताभरी दाग भएको कोठाबाट अर्को अलि राम्रो कोठामा सर्न पनि पायौँ । त्यो पनि अर्को खुसीको कुरा थियो ।
जीवनमा फेरि एकपल्ट विद्यार्थीकालमा फर्किन पाएकी थिएँ । सँगसँगै एउटी आमा र पत्नी पनि थिएँ । अनि विदेशको त्यो अनौठो अनुभव मिस्सिँदा एउटा कथाजस्तो बनेको थियो । युवाकाल पनि एकपल्ट मात्र आउने हैन रहेछ जस्तो लाग्न थाल्यो ! फेरि विद्यार्थी भएर विद्यार्थीका अनेक कार्यकलापमा पनि भाग लिदै गएँ ।
चीन जानु अगाडि विभिन्न परिस्थितिले किचिएर दुब्ली पातली भइसकेको मेरो शरीरमा र मनमा पनि नयाँ स्फूर्ति थपिएको अनुभव गर्न थालेँ …