Logo
Logo

स्वास्थ्यमन्त्रीका सल्लाहकार मुद्रण ब्यवसायी


3k
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवलाई आफ्नो कार्यकालमा केही नयाँ काम गरौं भन्ने हुटीहुटी देखिन्छ । सक्रियता पनि देखाइरहेका छन् । संसदमा समेत स्वास्थ्य सुधारका लागि कार्ययोजना सुनाइरहेका छन् । तर उनलाई आफ्नै सल्लाहकारहरु गलपासो बन्ने निश्चित देखिन्छ । सप्तरीका अवधेश यादव मन्त्रीका सल्लाहकार नियुक्त भएका छन् । पेशाले मुद्रण ब्यवसायी हुन् । उनी चिकित्सक वा स्वास्थ्यकर्मी होइनन् ।

मन्त्री प्रदीप यादव र सल्लाहकार अवधेश दास

सामाखुसीमा छापाखाना चलाइरहेका अवधेशले स्वास्थ्यमन्त्रीलाई स्वास्थ्य नीतिका बारेमा के सल्लाह देलान् ? त्यो भने आश्चर्यको बिषय भएको छ । छापाखानासँगै उनको पृष्ठभूमि जीतेन्द्रनारायण देव पर्यटन मन्त्री हुँदा पर्यटन बोर्डको सदस्य र बिरामी हुँदा स्वास्थ्यकर्मी भेटेबाहेक स्वास्थ्य सम्बन्धी अन्य विज्ञता भएको सुनिएको छैन ।

यसअघिका स्वास्थ्यमन्त्रीहरुले विशेषज्ञ चिकित्सकलाई स्वास्थ्य सल्लाहकार बनाउँदैआएकोमा यादवले भने मुद्रण ब्यवसायी दासलाई सल्लाहकार बनाएर जग हँसाएका छन् । स्वास्थ्य मन्त्रालयमा मुद्रण ब्यसायी दासको हैकम चल्ने गरेको छ । टाई झुन्ड्याएर सचिवद्वयको कार्यकक्षसँगै नेमप्लेट राखेर उनी स्वास्थ्यका कर्मचारीलाई निर्देशन दिदैआएका छन् ।

अवैतनिक सल्लाहकार भने पनि दासले स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभाग, कार्यालय र प्रोजेक्टको बजेट हेर्ने, कस कसले काम पाएका छन्, त्यसको लेखाजोखा गर्दै भागशान्ति माग्न थालिसकेका छन् । सरुवा र नियुक्तिमा समेत उनले आँखा लगाउन थालेका छन् । सुविधा लिन्न भने दासले स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायका छपाईका काम आफ्नो प्रेसमा दिनका लागि दबाब दिन थालिसकेका छन् ।

अवैतनिक सल्लाहकारले मन्त्रीलाई आवश्यक हुँदा निवासमै गएर सल्लाह दिने हो । स्वास्थ्य मन्त्रालयका एक उपसचिवले प्रश्न गरे– ‘मन्त्रालयमा नेमप्लेटसहित कार्यकक्ष राख्ने र सरकारी गाडी र इन्धन प्रयोग गर्दैआएका दासले कसरी अवैतनिक भन्न मिल्छ ?’

‘बेतनधारी कर्मचारीले समेत राज्यको सेवा गर्न कन्जुस्याई गरिरहेका बेला अवैतनिक सल्लाहकारले मन्त्रालयमा आएर निःशुल्क सेवा गर्नुमा उनी के बिल गेट्स हुन् र ? बिचौलियाको काम गर्नकै लागि अवैतनिक भनेर सल्लाहकार राख्ने, देखावटी रुपमा सुृविधा नलिने, अन्यत्रबाट कुस्त लिने प्रपन्च हो’ ती उपसचिवले भने ।

दासले मन्त्रालय अन्तर्गतका निकायका उच्च पदमा हुने नियुक्तिमा मोलतोल गर्न थालिसकेका छन् । औषधि ब्यवस्था विभागको महानिर्देशक परिवर्तनको हल्ला चलाएर वर्तमान महानिर्देशक नारायण ढकालसँग ठूलै आर्थिक लेनदेनमा दासले सेटलमेन्ट गर्न खोजिरहेको बताइन्छ । ढकालको कार्यकक्षमै कयौं पटक पुगेर दासले भेटघाट गरिसकेका छन् ।

मन्त्रीले हटाउने सूचीमा राखेका ढकाललाई दासले च्यापेपछि विभागको महानिर्देशक परिवर्तन तत्काललाई टरेको छ । पैसाको थैली बोकेर महानिर्देशक पद किन्न दौडिरहेका भरत भट्टराईले अझै पनि सो पदको आश मारिसकेका छैनन् । अहिले दासले कर्मचारीहरुलाई निर्देशन दिने, होटल र कार्यकक्षमा बोलाएर मोलतोल गर्नेमात्र होइन, औपचारिक कार्यक्रममा समेत मन्त्रीपछिकै मर्यादाक्रममा रहेको पहुँच देखाइरहेका छन् ।

श्ुक्रबार औषधि ब्यवस्था बिभागद्वारा मन्त्रीकै सहभागितमा उच्चस्तरीय कार्यक्रम राखेको थियो । मन्त्री अमेरिकातिर लागेपछि सल्लाहकार दासले नै उक्त कार्यक्रममा मन्त्रीको प्रतिनिधित्व गरेको जस्तो सूचना प्रवाह गरिएको थियो । शुक्रबार याक एण्ड यति होटलमा औषधि स्वच्छ मूल्य निर्धारण–२०८१ को मस्यौदामा छलफलको कार्यक्रममा महानिर्देशक ढकाल, सचिव हरि मैनालीकै लहरमा दासको उपस्थिति थियो ।

मन्त्रिपरिषदबाट मात्र सल्लाहकार नियुक्ति हुनसक्छ । तर मन्त्रालयले मन्त्रीस्तरीय निर्णयका आधारमा दासलाई कसरी नियुक्ति गर्यो भन्ने प्रश्नमा स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेलले भने–अवैतनिक सल्लाहकारका रुपमा मन्त्रीलाई सल्लाह दिन दासलाई नियुक्ति गरेको हुनसक्छ ।

अवैतनिक भने पनि सरकारी सेवा सुविधा (गाडी र कार्यकक्ष) प्रयोग गरेकोबारेमा अर्का सचिव हरि मैनालीको कार्यक्षेत्र भएकाले उतै प्रश्न गर्न आग्रह गरे । अवैतनिक सल्लाहकारले औपचारिक कार्यक्रममा सहभागी हुन नमिल्ने उनको भनाइ थियो ।

मन्त्रालयमा नियुक्ति, सरुवा, ठेक्कापट्टामा मात्र होइन, उनले बिदेश भ्रमण समेत मन्त्रालयको खर्चबाट गरेका छन् । अवैतनिक सल्लाहकारलाई कुन हैसियतमा विदेशमा नेपालको प्रतिनिधित्व गराइयो ? प्रश्न खडा भएको छ । स्वास्थ्य मन्त्री भएलगत्तै यादव जेनेभा भ्रमणमा जाँदा दासलाई पनि सरकारी भ्रमण दलमा सहभागी गराइएको थियो । भन्ने अवैतनिक तर सबै सरकारी सेवा सुविधा र बिदेश मनोनयनमा समेत राखेर अख्तियारको समेत दुरुपयोग गरिएको छ ।

मन्त्रीपरिषदबाट हुनुपर्ने सल्लाहकार नियुक्ति मन्त्रीबाट भएको, स्वास्थ्य क्षेत्रकै विज्ञ सल्लाहकार बनाउनुपर्ने परिपाटी रहिआएकोमा दरबन्दी नै नभएको ठाउँमा अवैतनिक सल्लाहकार नियुक्तिको बिषयमा अवधेश दासको यस्तो प्रतिक्रिया छ–आफू मन्त्रीको सल्लाहकार भएको स्वीकार गर्दै अवैतनिक हो भन्दा जवाफ दिन हिचकिचाए । स्वास्थ्यकर्मी हुनुपर्नेमा मुद्रण ब्यवसायी स्वास्थ्य सल्लाहकार हुन पाउँछ त भन्ने प्रश्नमा पहिलाका मन्त्रीहरुले डाक्टरलाई गरेका होलान् भनेर हल्का ढंगले प्रस्तुत भए ।

प्रतिक्रिया दिनुहोस्