काठमाडौं । अर्बौं चलखेल हुने धितोपत्र बोर्डको अध्यक्षमा एमालेले अडान राख्दा अहिलेसम्म नियुक्ति हुन सकेको छैन । एमालेले सन्तोषनारायण श्रेष्ठको पक्षमा अडान राख्दा अहिलेसम्म नियुक्ति हुन नसकेको हो । नेपाल जस्तो देशमा दुईवटा स्टक एक्सचेञ्ज आवश्यक छ÷छैन भन्ने कुराको अध्ययन भएको छैन ।
विचौलियाको लहलहैमा लागेर अर्बौं कमिशनको लागि निजी क्षेत्रलाई पनि छुट्टै स्टक एक्सचेञ्जको अनुमति दिनु उचित होइन । यस विषयमा निजी क्षेत्रलाई समेत समेटेर सबैभन्दा पहिला यसको आवश्यकता र औचित्य बुझ्नुपर्छ । अहिले अर्थमन्त्री वर्षमान पुनले अध्यक्षको नियुक्तिमा लिएको अडान एकदम राम्रो छ भनेर विज्ञहरूले भनिरहेका छन् । तर, एमालेले देशको आवश्यकता र औचित्यभन्दा पनि मिसन ८४ निर्वाचनका लागि पैसा जुटाउन अध्यक्ष श्रेष्ठको दाबी गरिएको स्रोतले बताएको छ ।
केही दिनअघि प्रमुख सत्ता घटक दल एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेबीचको छलफलमा पनि ओलीले बोर्डको अध्यक्ष सन्तोषनारायणलाई बनाउने बताएपछि रोकिएको थियो । श्रेष्ठलाई अध्यक्ष बनाउने कुरामा पूर्वअर्थमन्ी विष्णु पौडेलको जोडबल छ ।
बोर्डको अध्यक्षका लागि दरखास्त दिएका मध्ये ५ जनालाई सर्टलिष्टमा पार्दै गत हप्ता आफ्नो कार्ययोजना प्रस्तुती तथा अन्तर्वार्ताका लागि बोलाइएको थियो । बोलाइएको समयमा सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले कार्ययोजना प्रस्तुती तथा अन्तर्वार्ता दिएका थिए । बाँकी तीनजना बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्स्चेन्जका सीईओ कृष्णबहादुर कार्की र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं तोकिएको समयमा अन्तर्वार्ताका लागि उपस्थित भएनन् ।
उनीहरुले दलीय भागवण्डामा अध्यक्ष चयन गर्न लागेको भन्दै असहमति जनाएका थिए । अध्यक्ष कसलाई बनाउने भन्नेमा सत्तारुढ दल, प्रधानमन्त्री र अर्थमन्त्रीबीच कुरा नमिलेपछि समस्या देखिएको थियो । निकटस्थ स्रोतका अनुसार धितोपत्र बोर्डको अध्यक्ष कसलाई बनाउने भन्नेमा अर्थमन्त्री वर्षमान पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड फरक–फरक कित्तामा थिए । तर, त्यसमा ओलीको इन्ट्री भएपछि बोर्डको अध्यक्ष एमालेलाई दिन माओवादी तयार भएको छ ।
अर्थमन्त्री पुनले कार्की वा चापागाईँमध्ये एक जनालाई अध्यक्ष बनाउन चाहेका थिए । उनको चाहनामा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र व्यवसायी उपेन्द्र महतोले साथ दिएका थिए । प्रधानमन्त्री प्रचण्डले मुक्तिनारायण श्रेष्ठ, ओलीले सन्तोषनारायण श्रेष्ठलाई च्यापेका थिए ।
सिफारिस समितिले बोर्ड अध्यक्ष नियुक्तिका लागि मन्त्रिपरिषद् बैठकमा कम्तीमा ३ जना श्रेष्ठद्वय र डा. अधिकारीको नाम पठाउने तयारी छ । जसमा अधिकारीले अन्र्तवार्ता दिएका छैनन । धितोपत्रसम्बन्धी ऐनको दफा ७ को उपदफा ४ मा ‘समितिले नाम सिफारिस गर्दा यस ऐनबमोजिम योग्यता पुगेका कम्तीमा तीनजना व्यक्तिको नाम सिफारिस गर्नेछ ।’ भन्ने वाक्यांश उल्लेख छ ।