काठमाडौं । भारत आईसीसी टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर ८ अन्तर्गत समूह १ को आफ्नो अन्तिम खेलमा अस्ट्रेलियालाई २४ रनले हराउँदै भारत विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।
२ सय ६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८१ रन मात्र बनाउन सक्यो । अस्ट्रेलियाका लागि ट्राभिस हेडले सर्वाधिक ७६ रनको योगदान दिए । उनले ४३ बलमा ९ चौका र ४ छक्का प्रहार गरे ।
उनलाई कप्तान मिचेल मार्सले ३७ रन बनाउँदै साथ दिए । मार्सले २८ बलमा ३ चौका र २ छक्का प्रहार गरे । मार्स र हेड मिलेर ४८ बलमा ८१ रनको साझेदारी गरे । ग्लेन म्याक्सवेलले १२ बलमा २० रन बनाए । उनले २ चौका र १ छक्का हिर्काए । टिम डेभिडले ११ बलमा १५ रन जोडे ।
भारतका लागि अर्शदीप सिंहले ४ ओभरमा बलिङ गर्दै ३७ रन खर्चेर ३ विकेट लिए । कुलदीप यादवले २ विकेट हात पारे । जसप्रित बुमराह र अक्षर पटेलले १–१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ५ रन बनाएको थियो ।