काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायलका लागि ८ सय जना केयरगिभर माग गरेको छ । विभागले सूचना जारी गर्दै
इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न सहायक कामदार (केयरगिभर) लागि आवेदन आह्वान गरेको हो । सूचना प्रकाशित भएको मितिले २१ दिनभत्रमा अनलाइन मार्फत आवेदन दिन सकिने विभागले जनाएको छ ।
त्यसका लागि २५ वर्ष पुरा भई ४५ वर्ष ननाघेको, कम्तीमा १.५ मिटर उचाइ र ४५ किलोग्राम तौल भएको, कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पुरा गरेको वा प्लस टु वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभर सम्बन्धी तीन महिनाको तालिम प्राप्त गरेको हुनुपर्नेछ ।
त्यस्तै विगतमा इजरायल गई कार्य नगरेको, बाबु, आमा, पति ,पत्नी, छोरा, छोरी इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको, शारीरिक र मानसिक रुपमा स्वस्थ रहेको हुनुपर्ने योग्यता तोकिएको छ ।
८०० जना माग गरिएकोमा ५०० जना मुख्य उम्मेदवार हुनेछन् भने ३०० जना वैकल्पिक उम्मेदवार हुनेछन् । जसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष हुनेछन् । उनीहरुले मासिक पाँच हजार ८८० सेकेल (इजरायली मुद्रा) न्यूनतम तलब हुनेछ । जुन नेपालका दुई लाख १० हजार नेपाली रुपैयाँभन्दा बढी हुनेछ । इजरायल जाने कामदारको करार अवधी पाँच वर्षको हुनेछ ।