Logo
Logo

सम्पादकीय : गम्भीर संकटमा नेकपा


- दृष्टि न्युज/संवाददाता

0
Shares

राजनीति स्थिरताका लागि नेपाली जनताले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई दिएको दुई तिहाई मत ‘बोकाको मुखमा कुभिण्डो’ जस्तै बनेको छ । पार्टी एकता गर्दा दुई जना पाइलटले जहाज हाँक्ने भनिएपनि एक जना पाइलटको जिद्दीका कारण दुर्घटनाको सम्भावना बढेर गएको छ । हिजो सोमबार बेलुका राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी दुई वटा अध्यादेशले त्यही कुराको संकेत गरेको छ ।
सोमबार बसेको सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजपा र समाजपार्टी पार्टीका नेताहरु सरकारमा सहभागी हुन चाहेकाले उक्त अध्यादेश ल्याउनुपरेको बताएपनि त्यसभित्र पार्टी फुटाउने उद्देश्य रहेको आशंका नेकपाका नेताहरुले गरेका छन् । ओलीले सरकार र एकता महाधिवेशन पछाडि पनि पार्टी नेतृत्व नछाड्ने उद्देश्यले यो अध्यादेश ल्याएको हुन् भन्ने एकथरी नेताहरुको बुझाइ छ ।


प्रचण्डसँग पार्टी एकता गर्दा आधा–आधा कार्यकाल प्रधानमन्त्री चलाउने र एकता महाधिवेशनपछि प्रचण्डलाई पार्टी अध्यक्ष बनाउने सहमति गरेका प्रधानमन्त्री ओलीले अहिले आएर एक तिर, दुई शिकारको रणनीति तय गरेका हुन् । यस्तो आरोप लगाउने नेकपाका नेताहरुले राजपा र समाजवादीलाई सरकारमा भित्राएर आफूले ४० प्रतिशत मत पु¥याउन अध्यादेशको खेल खेलेको बताएका छन् ।
अहिलेकै स्थितिमा पार्टी फोड्नुप-यो भने नेकपा केन्द्रीय समिति र संसदीय दलमा समेत ओली आफू अल्पमतमा परिने हिसाब–किताब गरेरै यो अध्यादेश ल्याएको तर्क नेकपा नेताहरुको छ । तर, कुनैपनि हालतमा पार्टी फोड्न नदिने पक्षमा नेकपाका नेताहरु एकजुट भएका छन् ।
पार्टी एकता हुँदा देखिनै अर्काथरी नेकपाका नेताहरु यो एकताको विपक्षमा थिए । पार्टी एकता गर्दा ति नेताहरु अल्पमतमा भएपनि पार्टी एकता भइसकेपछि तिनीहरु अहिले आएर निर्णायक बनेका छन् । तिनीहरुकै उक्साहटमा प्रधानमन्त्री ओलीले जानेर वा नजानेर एकपछि अर्को गल्ती गर्दै गएका छन् ।
ओलीको कमजोरीमा खेलेर आफ्नो स्वार्थपूर्ति गर्ने खेलमा लागेका नेताहरु कुनैपनि हालतमा नेकपाको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छाड्ने पक्षमा छैनन् । बरु, ओली जिवितै भएको मौका छोपेर पार्टी फोड्ने षडयन्त्रमा लागेका छन् । यो षडयन्त्र ओलीले नबुझेका होइनन्, बुझेरै अध्यादेश ल्याएका हुन् । यो कुरामा नेकपाका कुनैपनि नेताहरु भ्रममा नपरे हुन्छ । बरु नेकपाका नेताहरु अहिलेदेखि नै पार्टी फोड्ने तत्वविरुद्ध एक हुन जरुरी छ ।
विश्वमै कम्युनिष्ट पार्टीलाई अनुशासित पार्टी भनेर चिनिन्छ । त्यो पार्टी विधि र पद्दतीसम्मत ढंगले चल्छ । जहाँ पार्टी विधिसम्मत ढंगले चल्दैन, त्यहाँ कम्युनिष्ट पार्टीले ठूला दुर्घटना भोगेको इतिहास छ । अब हामीले पनि इतिहासबाट पाठ नसिक्ने हो र गल्ती दोहो¥याउँदै जाने हो भने गणतन्त्रको यात्रासम्म सफल संघर्ष गरेका नेपालका कम्युनिष्ट पार्टीहरु आफ्नै कारण धरापमा पर्नेछन् ।
पार्टी फोड्ने अध्यादेशजस्तो महत्वपूर्ण कुरा पार्टीमा छलफल नै नभइ कसको इशारामा विधेयक ल्याइयो भन्ने गम्भीर कुरा हो । पार्टीलाई ‘पाटी’ बनाएर आफू खुसी पार्टी सञ्चालन गर्न खोज्नु अधिनायकवाद भन्दा पनि अराजक सोच हो । यस्तो सोचलाई समयमै निरुत्साहित गरिएन भने यो सोच अहिलेसम्म नेपाली जनताको आन्दोलनले स्थापित गरेका सम्पूर्ण उपलब्धी धराशायी बन्न सक्छ । प्रतिगामी र पुर्नउत्थानवादीले टाउको उठाइरहेको बेला आफ्नो खुट्टामा आफैँ बन्चरो हान्ने काम नगरौँ ।

प्रकाशित मिति : मंगलबार, ९ बैशाख २०७७

प्रतिक्रिया दिनुहोस्