Logo
Logo

नेपालमा एकैदिन ९ जनामा कोरोना संक्रमण, संक्रमित ४० पुगे, पाँच डिस्चार्ज


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ८ बैशाख ।
नेपालमा कोरोना संक्रमण विस्तार हुँदै गएको छ । मंगलबार एकैदिन नौ जना नयाँ बिरामी भेटिएका हुन् ।
उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका थप ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। मंगलबार धरानमा गरिएको पुनः परीक्षणमा ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना देखिएको हो। यससँगे कोरोना संक्रमितको संख्या ४० पुगेको छ ।


सोमबार विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ८ जनामा पोजेटिभ देखिएपछि थप परीक्षण गर्न धरान पठाइएको थियो।

संक्रमित आठै जना धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा छन्। गत शुक्रबार भुल्केमा रहेको उक्त मस्जिदमा रहेका १६ मध्ये एकैपटक १२ जनामा कोरोना संक्रमण देखिएको थियो।

गत शनिबार १३ जना संक्रमितसँग सम्पर्कमा आएका ६९ जनाको स्वाब परीक्षण गर्न विराटनगर पठाइएकोमा ८ जनामा कोरोना देखिएको हो। यी आठै जना मुस्लिम समुदायका हुन्। सो बस्तीबाट पछि २ सय ५२ जनाको स्वाब परीक्षण गर्न काठमाडौं पठाइएको हो।
उनीहरू विराटनगरको कोरोना अस्पतालमा उपचाररत छन्। संक्रमितको संख्या बढेसँगै भुल्के पूरै बस्ती अहिले पनि सिल गरिएको छ। बस्तीमा सुरक्षाकर्मी खटिएका छन्।
उता दुबईबाट आउँदा संक्रमित भएका धनगढीमा रहेका युवा मंगलबार डिस्चार्ज भएका छन् । उनीसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या पाँच पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्