नेपाल यतिबेला सरकारको नेता एउटा र सत्ताको नेता अर्कै भएको अस्वाभाविक समयबाट गुज्रिरहेको छ । संसदमा ३२ स्थान रहेको माओवादी अध्यक्ष पुष्यकमल दाहाल ‘प्रचण्ड’ सरकारका नेता छन् भने संसद्मा ७९ स्थान रहेको एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओली सत्ताका नेता ।
अझ गजबको कुरा के छ भने यी दुई दल परस्पर विरोधी गठबन्धनबाट चुनाव लडेर संसद्मा पुगेका हुन् । त्योभन्दा पनि गजबको कुरा, यी दुई दल एकीकृत भएर फुटेका हुन्, जोडिएर फुटेको पनि धेरै भएको छैन । त्योभन्दा अझ अगाडि जाने हो भने यी दुई नेता एक अर्काका ‘जानी–दुस्मन’ हुन् र एक अर्काविरूद्ध सबैभन्दा बढी विषवमन पनि यिनीहरूबिच नै भएको छ ।
नेपाली राजनीतिका यी दुई गजबका पात्रहरूको एक दशक यताको सम्बन्धको ग्राफ हे¥यो भने तेस्रो विश्वको राजनीतिमा जे पनि सम्भव छ भन्ने सत्य बुझ्न अरू कुनै उदाहरण खोजिरहनै पर्दैन । अझ, अर्को कोणबाट हेर्दा यिनीहरूबिचको ‘प्रेम र घृणा’ले भरिएको सम्बन्धले नेपाली सत्ता राजनीति कति फोहोरी आहाल भैसकेको छ भन्ने पनि छर्लङ्गै हुन्छ ।
यी दुईबिचको सम्बन्धसँग जोडिएका अर्का पात्र हुन् माधवकुमार नेपाल । अहिले नेकपा एसका अध्यक्ष रहेका नेपाल एमालेका पूर्वमहासचिव हुन् । १५ वर्षसम्म एमालेको नेतृत्व गरेका नेपालसँग अहिलेका एमाले अध्यक्ष ओलीको जानी दुस्मनी छ, यो अहिलेको हैन, वर्षौदेखिको क्रोनिक दुस्मनी हो । त्यो दुस्मनी यो उचाइमा पुग्नुको एक कारण नेपालले प्रचण्डलाई दिएको साथ पनि हो । यति साथ दिए कि नेपाल अन्ततः एमाले छोडेर नेकपा एस बनाउनुपर्ने स्थितिसम्म धकेलिए ।
समय साक्षी छ, नेपालको बुई चढेर नै प्रचण्डले सरकारको वैतरणी तरेका हुन् । तर, अहिले प्रचण्डका लागि ओली नजिक र नेपाल टाढा भएका छन् । त्यति मात्र हैन, ओलीलाई खुसी पार्न प्रचण्ड नेपालको मानमर्दन नै गरिरहेका छन् । यसले अर्को कुरा पनि पुष्टि गरिरहेको छ कि सिद्धान्त, मूल्य र मान्यता स्खलित भएको नेपालको सत्तामुखी राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्र छैनन् ।
कुनै समय नेकपा नामको एउटै कम्युनिष्ट सटर चलाउने यी तीन नेताका अहिले तीन सटर छन्– ओलीको एमाले, प्रचण्डको माओवादी र नेपालको एस । सबै सटरको अगाडि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) छ । तर, नेकपा साइनबोर्डमा बाहेक अन्त कतै छैन ।
भन्नलाई उनीहरू एकापसमा कमरेड भन्छन् । तर त्यो कमरेडी सम्बन्ध पनि कतै छैन । पार्टी हो भन्ने देखाउनलाई अनेक नामका जम्बो कमिटी र पदाधिकारीहरू त छन् तर जो भए पनि ती सबै आआफ्ना मालिकको आदेश तामेली गर्ने कुरिमानेभन्दा बढी छैनन् ।
एमाले अध्यक्ष ओली नेपालकै सबैभन्दा धूर्त नेता हुन् । उनको धुर्त्याइँलाई चुनौती दिन सक्ने भनेको रवि लामिछानेले मात्र हो । अहिले यी दुई धूर्तहरू एउटै हलोमा नारिएर आफ्नो स्वार्थसिद्ध गरिरहेका छन् ।
हलोको अनौ प्रचण्डको हातमा भए पनि यिनीहरू नारिएर जता जान्छन्, प्रचण्डले अनौ त्यतै बिसाइरहेका छन् । यी दुई एउटै जुवामा भए पनि यिनीहरूको आआफ्नो स्वार्थ छ । ओलीको स्वार्थ माधव नेपाल र उनको एसलाई सकाउदै प्रचण्डलाई सिद्ध्याउने र एमाले सटर मात्रै नेकपाको फ्रेञ्चाइज बनाउने हो । रविको स्वार्थ दोहोरो नागरिकता र सहकारी प्रकरणमा जेल जानबाट जोगिने हो । यी प्रमुख स्वार्थहरू पूरा भएपछिको स्वार्थ चाहिँ आआफ्नो पार्टीको वर्चस्व कायम गर्ने हो ।
ओली मध्यावधिको रोडम्यापमा छन् । त्यसका लागि उनलाई संसदमा सबैभन्दा ठूलो दल बन्नु छ । अहिले ७९ स्थानसहित एमाले प्रतिनिधिसभामा दोस्रो ठूलो दल हो । कांग्रेस ८९ स्थानसहित सबैभन्दा ठूलो दल हो । यो संख्यालाई उछिनेर सबैभन्दा ठूलो दल बन्न एमालेलाई ११ स्थान चाहिएको छ । त्यही संख्या जोहो गर्न अहिले ओली रविको बैसाखी टेकाएर प्रचण्डलाई प्रधानमन्त्री बनाइरहेका छन् ।
यसबीचमा ओलीले उपेन्द्र यादवको नेसपा फुटाएर सात संसदको जोहो गरिसकेका छन् । अशोक राईको हाइकमाण्डमा रहेका ती सांसद ओलीको टाट्नामा पुगिसकेका छन् । जुन दिन नेकपा एसका पाँच सांसदको जोहो हुन्छ, त्यो दिन ओलीले टाट्नाका सांसदलाई एमालेको खोरमा हुलेर एमालेलाई सबैभन्दा ठूलो ‘गोठ’ बनाउँछन् ।
त्यसपछि ओलीले उपयोगिता सकिएका प्रचण्डलाई प्रयोग गरिसकेको कण्डोमझै फालिदिन्छन् । अनि ओलीले संसदमा सबैभन्दा ठूलो दलको नेताका हैसियतले सरकारको नेतृत्व दाबी गर्छन् । यतिबेला सम्ममा ओलीले बाँकी कसैको नाममा पनि बहुमत नपुग्ने गरी सबै दलबीचको सम्बन्ध मात्र खरानी बनाइसकेका हुँदैनन् कि सरकार बनाउन सक्ने संख्या पनि बाँकी छोडेका हुँदैनन् ।
त्यसपछि सकेसम्म सरकार चलाउँछन्, नसकेका दिन मध्यावधि घोषणा गर्छन् । चुनावसम्ममा नेकपा एसका धेरै लोभीपापी नेता–कार्यकर्ताहरू एमाले फर्किसकेका हुन्छन् । सम्भवतः त्यसको नेतृत्व एसका सम्मानित नेता झलनाथ खनालले गर्नेछन् । माधव नेपाल र उनका केही अनुयायी भने सीपी मैनालीको नेकपा मालेजस्तै नेकपा एसमै थन्किन्छन् ।
अहिले देश ओलीको यही रोडम्याप भएर बिस्तारै अगाडि बढिरहेको छ । माओवादी अध्यक्ष प्रचण्ड एकथान प्रधानमन्त्रीका लागि सिंगो पार्टी र सारा सामर्थ्य ओलीको रोडम्यापमै च्याँखे दाउ थापिरहेका छन् । दुःखका साथ भन्नुपर्छ, त्यत्रो ठूलो इतिहास र पार्टी भएका प्रचण्ड ३२ सिटमा खुम्चिदा पनि आफूसँग जादुवाला संख्या भएको डिङ हाँकिरहेका छन् । अझ लाजै नमानी भनिरहेका छन्, ‘यो जादुले पाँच वर्षसम्मै प्रधानमन्त्री हुन्छु ।’
आखिर उनी के का लागि र किन प्रधानमन्त्री भइरहेका छन् ?, अब त स्वयं उनलाई पनि थाहा छैन । जनआन्दोलनमा बगेको रगतको धङधङी र छोरी, छोरा र श्रीमतीको अप्रत्याशित निधनले होस र विवेक दुवै गुमाइसके जस्तो छ । उनका विरोधीहरूले ‘पाप करायो’ भने पनि यो स्तम्भकार ती शब्दहरू प्रयोग गर्न चाहँदैन । तर, पछिल्लो समय कान्छी छोरीप्रतिको ‘धृतराष्ट्र आशक्ति’ र सत्ताको बढ्दो नशाले भने उनी असामान्य भैसकेको संकेत गर्छ । र, यही क्रममा अगाडि बढ्ने हो भने उनको अन्त पनि दर्दनाक नहोला भन्न सकिन्न । माओवादी द्वन्द्वको बेला उनको आदेशमा आफन्त गुमाएका त आक्रोशित छन् नै, उनको आदेशमा मर्न र मार्न तयार भएकाहरू पनि आज उनको यो मति देख्दा बाटो ढुक्ने अवस्थामा धकेलिएका छन् ।
यही बीचमा ओलीले रवि लामिछानेको नयाँ रास्वपालाई पत्रु मात्र बनाएनन्, कांग्रेस र राप्रपाबाट कोशै टाढा पनि पु¥याइदिए । रविको रास्वपा र कांग्रेसबीचको सम्बन्ध यति तिक्त भइसक्यो कि वैचारिक हिसाबले लगभग एकै कित्तामा रहेका यी दुई पार्टीको सहकार्यको सम्भावना नै सकियो भने पनि हुन्छ ।
एक किसिमले भन्ने हो भने रास्वपा ‘भाइ एमाले’ नै भइसक्यो । तर, यति धेरै गुमाएर पनि रवि सुरक्षित छैनन्, ओलीले कुनै पनि बेला माया गरेजस्तो गरेर घाँटी अँठ्याउन सक्छन् । त्यसपछि झर्छ जादुवाला रविको रालो । रालो नै झरेपछि घण्टी बज्ने कुरै भएन । अनि बिचल्ली हुने पालो हो, अरूतिर टिकट नपाएर रास्पवा भएका ‘नो भोटवाला’ लोभी पापीहरूको ।
रवि र रास्वपाको पतन भनेको एक चटकेको चटक सकिने मात्र हैन, नेपालमा नयाँहरूको विश्वास पनि गुम्ने हो ।
यसअघि नै ओलीले प्रचण्डका लागि काँग्रेसको ढोका लगभग बन्द गरिइदिइसकेका छन् । सबैलाई सबैतिरको ढोका बन्द गरेका ओलीले यस बीचमा राजदूतमा पनि आफ्ना मान्छे फिट गरिसकेका छन् । संवैधानिक परिषद् र सर्वोच्च अदालतमा आफूले भनेजस्तो नहुँदा प्रधानमन्त्री प्रचण्डकै लिस्टका मान्छे पनि नियुक्ति हुन नदिएर थापिएको ‘ओली–अड्को’ सबैले देखेकै छन् । उता, आफूले असंवैधानिक किसिमले भर्ती गरेका संवैधानिक निकायका प्रमुखहरूको मुद्दामा ओली–कृपा पर्दा सर्वोच्च अदालतको बेन्च नै देखिरहेको छैन ।
यसरी आफ्ना सारा चालहरू फत्ते गर्दै अगाडि बढेका ओलीको अर्जुन–दृष्टि यतिबेला नेकपा एसको महाधिवेशनमा अडिएको छ । माधव नेपाल अध्यक्ष हुन्जेल एस नसकिने ठानेका एस सक्न ‘रणनीति ख’ अगाडि सारिएको छ । यो रणनीतिअनुसार उनले नेपाल र खनालबीचको सम्बन्धमा पर्खाल ठड्याइसकेका छन् ।
एसको अध्यक्षका लागि खनाल र नेपाल आमनेसामने हुने लगभग निश्चित छ । खनाललाई ओली र उनका मान्छेले नै अध्यक्ष बन्नुपर्छ भनेर उकासेका छन् । ओली चाहन्छन्, खनाललाई अध्यक्ष बनाएपछि एसलाई एमालेमा गाभ्न पाइन्छ । ओलीको चाहना खनाललाई २०५४ मा एमाले टुक्रेर बनेको मालेका वामदेव गौतम र नेपाललाई सिपी मैनालीजस्तै बनाउने हो ।
तर, नेपालका कम्युनिष्ट नेताहरूमा चुलिएको पदलोलुपता देख्दा अहिले त्यो सम्भावना देखिँदैन । राष्ट्रिय पार्टी बन्न नसकेको एसको अध्यक्ष हुन त यस्तो रडाको छ भने देशकै सबैभन्दा ठूलो जनाधार भएको एमाले र त्यसका मुखिया ओलीको त के कुरा भो र ? आखिर यस्तो गलत बाटोतिर नहिडी नेपालका कम्युनिष्ट कसरी सकिन्छन् ? विश्वका अन्य देशका कम्युनिष्ट पार्टीहरू सक्ने रोग पनि यही थियो । अहिले ओलीमा त्यही भाइरस सल्केको छ । उनको काम त्यही भाइरसबाट आफू पनि सकिने र अरूलाई पनि सक्ने हो ।
त्यही क्रममा अहिले ओलीको हातमा झलनाथ कार्ड छ । उनी त्यो कार्ड नेकपा एसको खालमा फालेर च्याँखे दाउ थाप्ने योजनामा छन् । अध्यक्ष बन्ने अन्धो रेसमा निस्केका नेपाल र खनाल ओलीले थापेको च्याँखे दाउ देखेकै छैनन् वा देखेर पनि नदेखेजस्तो गरिरहेका छन् ।त्यसको पटाक्षेप हुन अझै केही दिन बाँकी छ । बाँच्नुपर्छ, समयको ऐनामा सबै देख्न पाइन्छ ।