- अशोकशरण अधिकारी
काठमाडौं, ९ बैशाख । कोरोना संक्रमणले विश्व नै आक्रान्त छ । हामी पनि एक महिनादेखि लकडाउनमा छौँ । यसले सर्वत्र असर पारेको छ । महामारीबाट सबैभन्दा पहिले हुने मानिसको मृत्यू र त्यसपछि मात्र विश्व अर्थतन्त्रमा पर्ने क्षतिको बारेमा चर्चा गरिन्छ, यसमा दुईमत छैन । चीन, क्यनाडा, बेलायत, भारत, जापान, सिंगापुर, अष्ट्रेलियालगायतका मुलुकले अर्थतन्त्र भन्दापहिले कोरोना महामारीबाट आफ्ना नागरिकको जीवन जोगाउनुलाई नै पहिलो महत्व दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केही दिनअघि सरकारी सञ्चारमाध्यमका प्रतिनिधिसँग यतिखेर कोरोना भाइरसबाट नेपाली नागरिकको जीवन जोगाउने नै आफू र सरकारको प्रमुख दायित्व रहेको बताएका थिए । कोरोनाले अर्थतन्त्रमा असर पारेको सन्दर्भमा उनले ‘यो महामारीमा अर्थतन्त्र, सर्थतन्त्रको कुरा नगर्नुस, त्यो गौण हो’ भनेका थिए । मुलुक र जनताको समृद्धिको लागि सबैभन्दा पहिले त्यो समाजमा स्वस्थ नागरिक हुनुपर्दछ भन्ने सिद्धान्तको आधारमा पनि प्रधानमन्त्रीको उक्त भनाई शतप्रतिशत सत्य हो ।
तर, पछिल्लो समयमा प्रधानमन्त्रीका सबैभन्दा विश्वासपात्रको रुपमा देखिएका अर्थमन्त्री युवराज खतिवडाले भने उनकोभन्दा फरक ढंगले हुनेगरी पश्चिमा पुँजीपति र अर्थशास्त्रीको पदचापलाई पछ्याएका छन् । अहिलेको महामारीमा पनि उनी दिनदिनै चलायमान अर्थतन्त्र, राजश्व संकलन र ब्याजदरको रटान लगाउनमै ब्यस्त छन् । यो रटान प्रधानमन्त्रीको ‘सबैभन्दा पहिले नागरिकको स्वास्थ्य र जीवन’ भन्ने मान्यताको ठ्याक्कै विपरित देखिन्छ ।
पछिल्लो एक महिनामा विश्वका सबैजसो देशले आवश्यक गृहकार्य सहित राहत प्याकेजको घोषणा र कार्यान्वयन गरिसकेका छन् । उनीहरूले आफ्नो मुलुकको अर्थतन्त्रमा पर्न सक्ने असरलाई आन्तरिक रूपमा अध्ययन गरिरहेका छन् । त्यसको लागि आवश्यक संयन्त्र बनाएका छन् । तर, दिनदिनै विश्वविद्यालयमा अर्थशास्त्रका प्रोफेसरले अध्यापन गरेको शैलीमा फलानो क्षेत्रमा यति असर पर्ने भन्दै ‘हावादारी’ आँकलन भने गर्ने गरेका छैनन् । यता, हाम्रो अर्थमन्त्रालयले दिनदिनैजसो क्षतिको आँकलन र अनुमान मात्रै गर्ने गरेको छ । राहतको ठोस प्याकेज हालसम्म ल्याएको छैन । किनकी कुर्सिमा बसेर क्षतिको आँकलन र अनुमान गर्दा बजेट खर्च गर्नुपर्दैन ।
अहिलेको प्रकोप कहिले सकिन्छ र कुन ढंगले यसको अन्त्य हुन्छ भन्ने बारे कसैले पनि अनुमान गर्न सकेका छैनन् र गरेका पनि छैनन् । गरेपनि आन्तरिक प्रयोजनमा सीमित गरिएको छ । खतिवडाले केहि दिनअघि रासससँग गरेको कुराकानीमा आफूले कोरोनाको प्रकोप मुलुकमा यति लामो समयसम्म रहने र महिनौंसम्म मुलुक लकडाउन हुने कल्पनै नगरेको ‘सतही’ र हाँसउठ्दो कुरो बताएका थिए । ब्रम्हाण्डको सबै कुरो आफूले मात्र थाहा पाएझैं विद्धता छाँट्ने पीएचडी होल्डरले वुहानदेखि युरोप र अमेरिकामा समेत कोरोनाले ताण्डव देखाएको पछिल्लो साँढे तीन महिनासम्म के हेरेर बसे होलान् ? हुन त, विश्वव्यापी महामारीलाई पनि तपाईंको विद्धताले पश्चिम नेपालका जिल्लाहरूमा विगतमा देखिएको झाडा पखाला प्रकोपकै अर्को श्रृंखलाको रूपमा हेरेको र बुझेको हो भने हाम्रो भन्नु केहि छैन ।
उता अमेरिकाका केही राज्यले आन्तरिक राजनीतिको द्वन्दमा अर्थतन्त्र चलायमान बनाउन लकडाउनलाई खुकुलो बनाउने बताइरहँदा यता पश्चिमाहरूका उनै विश्वासपात्रले पनि उनीहरूको बोलीमा लोली मिलाएका छन् । अर्थतन्त्र होइन मन्त्रीज्यू पहिले विश्वव्यापी महामारीमा गाँस र वासको अभावमा चलायमान भएका सीमान्तकृत नागरिकको व्यवस्थापन गर्नुस् । विभिन्न तह र तप्काका नागरिक, कृषक, व्यवसायी र उद्यमीमा परेको प्रारम्भिक असरलाई व्यवहारिक ढंगले सम्बोधन गर्नुहोस् । विगतमा पश्चिमाको लहलहैमा लागेर हाम्रो सयौं वर्षदेखिको जीवन्त पहिचानको रूपमा रहेको निर्वाहमुखी कृषिलाई निर्यातमुखी बनाउन कर्मचारीकै हैसियतमा भएपनि अंग्रेजीमा लेखेर योगदान गर्नु भएकै हो । यतिखेर त्यो ऐतिहासिक गल्तिलाई सुधार्ने मौका आएको छ, तत्काल पहल गर्नुस् । चार दशकको तपाईंको बैंकदर र ब्याजदर सम्बन्धी एक्लो विषयको अनुभवलाई अब राष्ट्र बैंकका ठूलाबडाकहाँ पठाइदिनुस् । अर्थमन्त्रीको कुर्सीमा बसेर बृहत समस्या र सर्वव्यापी समाधानको पहल गर्नुस् । सानो घेराको बैंकदर र ब्याजदरमात्र होइन ।