काठमाडौं । आगामी १२ वर्षपछि को प्रधानन्याधीश हुने भन्ने विषयमा गणित नमिल्दा सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति अलपत्र परेको छ । सर्वोच्च अदालतमा रिक्त चार न्यायाधीशमा नियुक्त गर्ने विषयमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच १२ वर्षपछि प्रधानन्याधीश को हुने भन्ने गणित नमिल्दा अलपत्र परेको हो ।
रिक्त चारमध्ये तीनजना उच्च अदालतको न्यायाधीशबाट बढुवा गरेर सर्वोच्चको न्यायाधीश बनाउने विषयमा न्याय परिषद्मा विवाद थिएन । तर, एकजना कानुन व्यवसायीबाट ल्याउने विषयमा ओली र प्रचण्डबीच सहमति बन्न सकेन ।
न्यायाधीश सिफारिसका लागि जेठ ३२ गते बसेको बैठकमा निर्णय हुन नसकेपछि भोलिपल्ट असार १ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो ।
तर, ओलीले कानुन व्यवसायीमा सहमति जनाउन सकेनन् । एमालेबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री एवं परिषद् सदस्यसमेत रहेका पदम गिरीले असार १ गते अकस्मात काम परेर आफू काभ्रे जानुपर्ने खबर पठाएपछि अन्तिम समयमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बैठक नै स्थगित गरेका थिए । प्रधानन्यायाधीशलाई बैठकमा नआउने खबर गर्नुअघि गिरीले बालकोट पुगेर अध्यक्ष ओलीसँग परामर्श गरेका थिए । प्रधानमन्त्री प्रचण्डले माओवादी कोटाबाट जसरी पनि महान्यायाधिवक्ता डा. दीनमणि पोखरेललाई सर्वोच्चको न्यायाधीश बनाउन अडान लिइरहेका छन् ।
प्रचण्डले प्रधानन्यायाधीश र कानुनमन्त्री पदम गिरीसहित परिषद्का सदस्यहरूलाई डा. पोखरेललाई जसरी पनि सर्वोच्चको न्यायाधीश सिफारिस गर्न दबाब दिएका छन् । तर, एमाले अध्यक्ष ओलीले पोखरेलको नाममा असहमति प्रकट गरेपछि रोकिएको छ । ओलीले दुईपटक गरेको संसद् विघटन ब्यूँताउन पोखरेलले भूमिका खेलेको कारण पनि असहमत भएको स्रोतको दावी छ । तत्कालीन नेकपाको प्रचण्ड–नेपाल खेमामा खुलेका डा. पोखरेलले दुवै विघटनमा ओलीको विपक्षबाट बहस गरेका थिए ।
न्यायपरिषद् स्रोतका अनुसार उच्च अदालतबाट ल्याउने न्यायाधीशको विषयमा करिब कुरा मिलेको थियो । जसमा उच्च अदालत पाटनका मुख्यन्यायाधीश नृपध्वज निरौला, उच्च अदालत विराटनगरका मुख्यन्यायाधीश रमेशप्रसाद राजभण्डारी, उच्च अदालत तुलसीपुरका मुख्यन्यायाधीश नित्यानन्द पाण्डे, उच्च अदालत जनकपुरका मुख्यन्यायाधीश श्रीकान्त पौडेल र विशेष अदालतका अध्यक्ष टेकनाराण कुँवरमध्येबाट ल्याउन न्याय परिषद् सदस्यका आ–आफ्ना प्रस्ताव थिए ।
प्रधानन्यायाधीश श्रेष्ठले राजभण्डारीलाई ल्याउन प्रस्ताव गरेका थिए । राजभण्डारी पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठनिकट हुन् ।
त्यस्तै, कानुनमन्त्री गिरीको जोड कुँवरलाई सर्वोच्च ल्याउनुपर्नेमा थियो । गिरी र कुँवरको गृहजिल्ला पर्वत भएकाले उनले सर्वोच्च लैजान खोजेका छन् । गिरीले निरौलालाई समेत ल्याउनुपर्ने प्रस्ताव गरेका थिए । यदि, यसपटक निरौलालाई सर्वोच्चको न्यायाधीश सिफारिस गरेमा २०९३ साल पुसपछि करिब दुई महिना मात्रै माघ २४ गतेसम्म प्रधानन्यायाधीशको रोलक्रममा बस्नेछन् ।
एमालेनिकट भएकाले उनलाई ल्याउनुपर्ने जोड ओली र कानुनमन्त्रीको छ । सुवेदीको अवकासपछि २०९३ साल असार ८ गतेदेखि पुससम्म एमालेकै जोडबलमा सर्वोेच्च पुगेका टेकप्रसाद ढुंगाना ६ महिनाका लागि प्रधानन्यायाधीशको लाइनमा बसिसकेका छन् ।
यस हिसाबले २०९३ सालमा सर्वोच्चले चार जना प्रधानन्यायाधीश पाउनेछ । अवकाशप्राप्त वरिष्ठतम न्यायाधीश आनन्दमोहन भट्टराईले जनकपुरका मुख्यन्यायाधीश पौडेललाई ल्याउनुपर्ने प्रस्ताव गरेका थिए । असार १ गतेदेखि भट्टराईले अवकाश पाएकाले प्रकाशमान सिंह राउत वरिष्ठतम न्यायाधीश भएका छन् ।
तर, एमाले अध्यक्ष ओली पोखरेललाई कुनै पनि हालतमा सर्वोच्चको न्यायाधीश बनाउन नहुने पक्षमा छन् । यदि पोखरेललाई अहिले सर्वोच्चको न्यायाधीश नियुक्त गर्ने हो भने उनी स्वतः भावी प्रधानन्यायाधीशको रोलक्रममा बस्नेछन् ।
सर्वाेच्चमा न्यायाधीशहरुको वरियताक्रम कुनै कारणबस तलमाथि नभएमा निरौला अहिले एक नम्बरमा सिफारिस हुँदा पनि पोखरेल २०९३ साल माघ २५ गतेपछि २ वर्ष २ महिनाका लागि प्रधानन्यायाधीश बन्ने रोक्रममा हुनेछन् ।
यदि, पोखरेललाई पहिलो नम्बरमा सिफारिस गर्ने हो भने निरौला प्रधानन्याधाधीश हुने रोलक्रमबाट आउट हुनेछन् । दुई वर्षभन्दा बढी प्रधानन्यायाधीशसहित पोखरेलले सर्वोच्चमा १४ वर्ष बिताउने हिसाब किताब भएपछि ओली झन झस्किएका छन् । उनी २०३० चैत २९ गते प्यूठानको झिमरुक गाउँपालिका–४ चुँधारामा जन्मिएका हुन् ।
पोखरेलको नाममा ओली रिजिड हुनुका पछाडि एमालेको पकडबाट सर्वोच्चको नेतृत्व बाहिर जानु पनि हो । हालका वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतले झण्डै १८ महिने प्रधानन्यायाधीशको कार्यकाल २०८२ चैत १७ गते पूरा गरेपछि ११ वर्षमध्ये ८ वर्ष न्यायिक नेतृत्व एमालेको पकडमा रहने सुनिश्चित भइसकेको छ । रोलक्रममा ठूलो बदलाव नआएमा ११ वर्षे अवधिमा सपना प्रधान मल्ल साढे दुई वर्ष, कुमार रेग्मी दुई वर्ष १० महिना, हरि फुयाल ४ वर्ष, नहकुल सुवेदी ८ महिना, टेकप्रसाद ढुंगाना ६ महिना प्रधानन्यायाधीश हुने पक्का छ ।