काठमाडौं, ९ बैशाख ।
डिआईजी बढुवा जस्तै एसएसपी बढुवामा पनि चरम राजनीतिक हस्तक्षेप भएको छ । सिनियर र इमान्दार अधिकृतहरु छुट्दा केही जुनियरहरु भने बढुवामा पर्न सफल भएका छन् ।
गृहसचिव महेश्वर न्यौपाने नेतृत्वको बढुवा सिफारिस समितको बैठकले १९ जनाको नाम सिफारिस गरेको हो । समितिमा प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली सदस्य र एआईजी शैलेश थापा क्षेत्री सदस्य सचिव थिए ।
समितिले वीरेन्द्र कुमार बस्याल, जनक भट्टराई, विष्णु बहादुर केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकालको नाम सिफारिस गरेको छ । त्यस्तै, अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह, रबिन्द्र केसी, राजेश बाँस्तोला, किरण राणा, नवराज भट्ट, लालमणि आचार्य, यज्ञमणि पोखरेल, हृदय थापा, राजकुमार बैदवार, मुकेश सिंह र चन्द्रकुबेर खापुङको सिफारिस भएको छ ।
बढुवामा केही सिनियरलाई छुटाएर जुनियरलाई राखिएको भन्दै आलोचना भएको छ । अर्जुन चन्द ठकुरी, चक्रबहादुर सिंह, सुरेन्द्र मैनाली, कृष्ण कुमार महत, उमाशंकर पञ्जियार, जनक पाण्डे लगायत छुटेका छन् । जुनियर एसपी चन्द्रकुबेर खापुङलाई बढुवा सिफारिस गरिएको छ । उनी एसपी भएको तीन वर्ष मात्र भएको छ । एसपीमा उनले कतै पनि इन्चार्ज भएर काम गरेका छैनन् । डिएसपी हुँदा गुन्डाहरुसँग मिलेको आरोपमा उनी कारबाही भोगेका अधिकृत हुन् ।