काठमाडौं । देशको सबैभन्दा ठूलो सुपर मार्केट चेन भएको भाटभटेनी सुपर स्टोर्सले थप दुई हजार युवाका लागि रोजगारी दिने घोषणा गरेको छ । अहिले भाटभटेनीमा छ हजार बढीले रोजगारी पाइरहेका छन् ।
भाटभटेनी सुपर मार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङका अनुसार देशमा युवाहरूका लागि रोजगारीको अवसर कम भयो भन्ने जनगुनासोलाई ध्यानमा राख्दै भाटभटेनीले रोजगारीको अवसर सिर्जना गर्ने निर्णय गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद (डीपी) अर्यालसँग भेट गरेर आफूले रोजगारी सिर्जनाका लागि सरकारलाई सहयोग गर्ने वचन दिएको र सोही अनुरूप यो घोषणा गरेको गुरुङले जनाएका छन् । अध्यक्ष गुरुङ भाटभटेनीका निर्देशक कल्याण गुरुङ र चिफ अपरेसन अफिसर पानु पौडेलसहित मन्त्री अर्याललाई भेट्न पुगेका थिए ।
काठमाडौंसहित देशभर रहेका भाटभटेनी स्टोरमा आफ्नो पढाई चालु राख्दै काम गर्न चाहने मेहनती युवा युवतीका लागि ‘पार्ट टाइम’ रोजगारी उपलब्ध गराउने सोच अनुरूप यो योजना ल्याएको भाटभटेनीले जनाएको छ ।
कम्पनीले १८ वर्ष पूरा भई २१ वर्ष ननाघेकोका युवालाई मात्रै यस्तो जागिर दिइने जनाएको छ । उनीहरूले दिनमा ४–५ घण्टाभन्दा बढी काम गर्नुपर्ने छैन । आगामी साउनदेखि नै यो योजना कार्यान्वयन गर्ने भाटभटेनी सुपर मार्केटको तयारी छ ।
हालसम्म भाटभटेनीमा काम गर्न चाहनेहरूले आठ घण्टा काम गरेर महिना दिनमा सोही अनुसारको तलब बुझ्दै आएकोमा नयाँ योजना अनुसार रोजगारी पाउनेहरूलाई फरक नियम लागु हुने बताइएको छ ।
नयाँ प्रक्रिया अनुरूप जागिर खाने र काम गर्ने रोजगारलाई हरेक हप्ताको अन्त्यमानै उनीहरूले सो हप्ता कमाएको तलब दिइने व्यवस्था गरिने अध्यक्ष गुरुङले जनाएका छन् ।
यसरी जागिर पाउने युवाहरूलाई उनीहरूले कुन दिन कुन समयमा आफ्नो ड्युटी गर्न सक्छन् सकभर सोही अनुसार काम दिइने व्यवस्था मिलाइने छ ।
कसैले बिहान, कसैले दिउँसो वा कसैले राति काम गर्न चाहन्छ भने सोहीअनुसार गर्न पाउने र अझ कसैले कुनै दिन बिहान र कुनै दिन राति वा दिउँसो गर्न चाहन्छ भनेपनि सकभर उसको ड्युटीको समय मिलाइने जनाइएको छ ।
मुलुकमा देखिएको बेरोजगारको अवस्था र युवा पलायनलाई रोक्न यस्तो योजना ल्याइएको गुरुङले बताए । सरकारले सबै नागरिकलाई रोजगारी सिर्जना गर्न नसक्ने भएकाले पनि निजी क्षेत्रका तर्फबाट सरकारलाई साथ दिन यो योजना ल्याइएको उनको भनाइ छ ।
गुरुङले यसअघि काठमाडौंमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड सहयोगको घोषणा गर्दै काम अघि बढाइसकेका छन् । त्यसबाहेक २०६८ सालमा ११ करोड खर्च गरेर काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सी भवन निर्माण गरिदिएका थिए ।
भूकम्पलगत्तै सोही अस्पतालमा गुरुङले १५ करोड लागतमा ईएचएस भवन निर्माण गरिदिएका छन् । उनैले अहिलेसम्म १४ जनालाई एमबीबीएस अध्ययन गराएका छन् । रोल्पा, खोटाङ, मुगु, डोल्पा, बैतडी, दार्चुला, संखुवासभा, ताप्लेजुङ, पाँचथर र कालीकोटका गरी १४ जनालाई एमबीबीएस तहको अध्ययन गराएका हुन् । उनीहरूको सम्पूर्ण खर्च भाटभटेनीले नै बेहोर्दै आएको छ ।
नेपालभित्र गरिखाने सम्भावना नदेखेपछि बिदेसिने युवाको संख्या तीव्र रूपले बढिरहेको छ । भाटभटेनीको नयाँ रोजगारीको अवसरले विभिन्न जिल्लाबाट काठमाडौं आएर कलेज पढ्ने विद्यार्थीलाई सहयोग पुग्ने देखिन्छ ।