लामो समयसम्म औपचारिक पढाइ त्यागेर बसेको मान्छेले एकाएक विदेशमा विद्यार्थी जीवनमा पुनः प्रवेश गर्नुको अनुभव भिन्दै हुँदो रहेछ । बल्लबल्ल एकै ठाउँ बस्न पाएको परिवार छुट्टिएर तीनजना तीनतिर भइयो ।
बच्चालाई समेत होस्टेलमा छोड्नुपर्ने परिस्थितिको अनुभव सुखद थिएन । तर, फेरि एकपल्ट उत्तर–किशोरावस्थाको विद्यार्थी जीवनमा फर्केजस्तो अनुभूतिले भने केही ऊर्जा थपेको पनि थियो । नयाँ परिवेश, नयाँ विषय, नयाँ पाठ्यक्रम, नयाँ जीवनशैलीमा आफूलाई उतार्नु रमाइलो र अप्ठ्यारो दुवै थियो ।
सुरुमा पढाइमा बेस्सरी खट्नुबाहेक अरू कामै पनि थिएन । विद्यार्थी जीवन न हो, स्कुलले तय गरेको पाठ्यक्रम र होस्टेल जीवनमा अभ्यस्त हुँदै, नयाँ परिवेशमा बानी पार्दै समय अगाडि बढ्न थाल्यो ।
आफ्नो परिवारबाट छुट्टिएर नयाँ कोठामा अरू कोहीसँग मिलेर बस्नु अर्को एउटा नयाँ अनुभव थियो । होस्टेलमा एक्लै बस्ने कोठा पाइँदैनथ्यो, अरू देशका फरक रहनसहन, अर्कै भाषा, भिन्नै वेशभूषाका मान्छेसँग मिलेर बस्नु पनि अनौठै अनुभव हुँदो रहेछ ।
एउटा लाम्चो खालको कोठामा दुई सेट खाट, टेबुल र दराज थिए । आधा मात्र आफूले प्रयोग गर्न पाउने, बाँकी आधा अरू विद्यार्थीले आफ्नो खुसी प्रयोग गर्ने । संयोगले मात्र आफ्नो मन मिल्ने रुममेट भेटिन्थ्यो । नत्र स्कुल प्रशासनले जसलाई आवश्यक छ उसैलाई कुनै न कुनै रुममा राखिदिन्थे ।
मेरो पहिलो रुममेट थिइन् चिनियाँ मूलकी एकजना ‘ऊ’ थरकी केटी । उनका बाबु चिनियाँ रहेछन्, आमा क्यानेडियन । उनी गोरी थिइन् । वेशभूषा बानी रहनसहन सबै बेग्लै । उनीसँग सुरुमा मिलेर बस्नै पनि धेरै गाह्रो भयो ।
राति प्रायः हड्याङहुडुङ् गर्दै ढिलो कोठामा पस्थिन् । मेरो निद्रा पहिलेदेखि नै पातलो । राती यसरी निद्रा खलबलिएपछि निदाउनै सक्दिन थिएँ । उनी भने फ्वाँफ्वाँ निदाउँथिन् । म रातभरि घर परिवार सम्झेर बस्थेँ ।
देशदेखि यति टाढाको बसाइको पहिलो अनुभव थियो मेरो निम्ति । सँगै भएको बेला केही न केही जस्तो, टाढा भएपछि भने आमालाई धुमधाम सम्झिन थालेँ । त्यस्तै दिदीहरूलाई, दिदीका बच्चाहरूलाई, साथीहरूलाई पनि सम्झिन थालेँ । म पनि ‘होमसिक’ जस्तो भएँ । बल्लबल्ल पढ्न पाउनु, त्यो पनि विदेशमा– त्यसको महत्त्व आफ्नै ठाउँमा थियो ।
म क्लासमा जान थालेको दुई महिना जति भएपछि छ महिना अगाडि नै प्रवेश गरेका विद्यार्थीहरूसँग बल्ल तालमेल र स्तर मिल्दै गयो । शिक्षक शिक्षिकाहरूले मलाई विशेष मन पराउन थालेको पनि थाहा पाउँदै गएँ । कहिलेकाहीँ त मलाई थप समय दिएरै पढाएको पनि याद छ ।
बिहान क्लास हुन्थ्यो । दिनभरि कहिले वरिपरिको पार्कमा डुल्न जाँदा र कहिले नयाँ साथी बनाउँदैमा समय बित्थ्यो । एउटा थप काम भनेको आमादेखि लिएर सासू–ससुरा, नन्द–देवर आफ्नै दिदीहरू र साथीहरूलाई चिठी लेख्ने काम थियो ।
मेरो युनिभर्सिटीको नजिकै हुलाक थियो । हरेक दिन जस्तो कसै न कसैलाई चिठी लेखेर खसाल्न जान्थेँ । अहिलेका केटाकेटीलाई त हुलाकको टिकट किन्ने वा त्योबेलाको जस्तो ‘एयरोग्राम’ किन्ने अनुभव कहाँ होस् !
संसारको जुनसुकै कुनाबाट अर्को जुनसुकै ठाउँमा रहेका आफन्तसँग अनुहारै हेरेर कुरा गर्न सक्ने अहिलेको जमानामा यी कुराहरू कथाजस्तै लाग्छ होला । मेरो आफ्नै जीवनमा पनि सबैभन्दा धेरै चिठी लेखेको बेला त्यही नै होला ।
त्यो बेला नेपालबाट आफन्त र साथीहरूले पठाएका कतिपय चिठीहरू अझै मसँग छन् । हरेक विद्यार्थीको निम्ति एउटा पोस्ट बक्स हुन्थ्यो अफिसमा, हरेक दिन चेक गर्थेँ । भएको बेला खुसी नभएको बेला निराश हुन्थेँ ।
अहिले कहिलेकाहीँ ती चिठीहरू निकालेर पढ्दा त्यो बेलाको देशको अवस्थामा फर्किइन्छ । पञ्चायती शासनको बिगबिगी भएको बेलाको देशको अवस्था आजभन्दा धेरै फरक थियो । कति साथीहरू जेलमा परेको कुरा पनि सुन्नुपथ्र्याे । केही साथीले त जेलैबाट पनि चिठी पठाएको कुरा सम्झन्छु । त्यो बेला साथीहरूबिचको सम्बन्ध कति आत्मीय थियो !
कहिलेकाहीँ एक्लै पार्कमा डुलिरहँदा प्रकृतिसँग नजिक भएजस्तो लाग्थ्यो । रुख बिरुवासँग, चन्द्रमासँग, बताससँग, बगिरहेको पानीसँग एक्लै कुरा गरेर पनि बस्थेँ । आफ्नै देशमा पनि यस्ता पार्कहरू भइदिए कति राम्रो हुन्थ्यो भन्ने लाग्थ्यो ।
हामीकहाँ त उही नयाँ सडकको भूगोलपार्क र टुँडिखेलको रत्नपार्कको मात्र सम्झना हुन्थ्यो । ती पार्कहरू यति सफा र व्यवस्थित थिएनन् । चीनको हरियाली व्यवस्थापन देख्दा लोभ लाग्थ्यो । बूढाबूढीहरू पार्कमा घुमिरहेको देख्दा, बिहान बिहान सामूहिक व्यायाम गरिरहेको देख्दा आफ्नै देशका बूढाबूढीहरूलाई पनि सम्झिन्थेँ, कहिले यस्तो वातावरण पाउने होला भन्ने लाग्थ्यो ।
म अलिअलि भावुक प्रकृतिकै मान्छे हो जस्तो लाग्छ । किशोरावस्थामा पनि अलिअलि कविता, कथा लेखेकै हो । तर साङ्हाइमा त्यसरी समय पाउँदा पनि किन कविता, कथा लेखिन छु, अझै थाहा छैन । लेख्नलाई पनि वातावरण र संगत चाहिन्छ भन्छन्, साँच्चै हो कि त !
बरु दिनहुँजस्तो कसै न कसैलाई चिठी लेख्थेँ, डायरीमा मनको कुरा कोर्थेँ । त्यही डायरी लेखेकै भएर पनि यति ढिलो गरेर चीनको बसाइ र यात्रा बारे लेख्दा मद्दत भएको छ मलाई । अक्षर जति नजिकको साथी अरू कोही नहुँदो रहेछ । पाठ्यपुस्तक बाहिरकै किताब पनि पढ्थेँ बेलाबेलामा– त्यो बेलाजस्तो पढेको पनि पहिले कहिल्यै थिइन र पछि पनि कहिल्यै त्यति मेहनत गरिन् ।
सरोजको सर्जरीको पढाइमा त अनुसन्धान गर्नैपथ्र्याे । कहिले अस्पतालमा, कहिले प्रयोगशालामा उनको रात बित्थ्यो । उनको व्यस्तताको त म बयानै गर्न सक्तिनँ । हप्तामा एकचोटी भेट हुँदा उनलाई थकित थकित भेट्थेँ । म उनको काममा सघाउन पनि सक्तिनँ थिएँ ।
छोरीलाई पनि सजिलो त थिएन नै । अरू सबै चिनियाँ केटाकेटीको बीचमा एक्ली नेपाली बच्ची थिई । पछि दुई वटी जापानी बच्चीहरू पनि थपिएछन् । उसका शिक्षिकाहरू धेरै नै समझदार र सहयोगी थिए । सधैँ मेरी छोरीको राम्रो कुरा मात्र सुनाउँथे म भेट्न जाँदा ।
ऊ पनि किन्डरगार्टेन जानु अगाडि मसँग भनेजस्तै ज्यादै नै ज्ञानी भइदिई । ‘मामुलाई सम्झे पनि रुँदिन’ भनेकी थिई । कति गाह्रो भयो होला ! यो सब शिक्षाको निम्ति भनेर गरेको संघर्षको कथा हो ।
कति उपलब्धि भयो, त्यति उपलब्धिको निम्ति कति मूल्य चुकाउनुप¥यो, त्यो मूल्य सस्तो थियो कि महँगो, यो सबको हिसाबकिताब अझै गरिसकेको छैन । के संसाररूपी प्रयोगशालामा एकपछि अर्को प्रयोग गर्दै निरन्तर अघि बढिरहने गरिने यात्राको नाम हो जिन्दगी ? वा जिन्दगी आफैँ नै एउटा प्रयोगशाला हो ?