काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीको आज ७३औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ । जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले विविध कार्यक्रम आयोजना गर्दै आएको छ ।
विसं २०४९ माघ १४–२० मा सम्पन्न एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा जननेता भण्डारीबाट प्रस्तुत र पारित ‘नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद’ अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रूपमा रहेको छ ।
फाउन्डेसनले जननेता भण्डारीको जन्मजयन्तीको अवसरमा आज राष्ट्रिय सभागृहमा राष्ट्रिय विचार गोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रम तय गरेको छ ।
विसं २००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मिएका भण्डारीको विसं २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा परी निधन भएको थियो । जनताको बहुदलीय जनवाद सिद्धान्तका प्रवर्तक भण्डारी नेपालको राजनीतिक वृत्तमा मार्क्सवादको नवीन प्रयोगकर्ता तथा विचारक रहेका थिए ।