नेपालको खेलकुद क्षेत्र (शारीरिक सुगठन)मा महिला बडी विल्डर्स नगन्यमात्र छन् । तीमध्येकी एक हुन् रजनी श्रेष्ठ । सन्जोगले बडी विल्डर बनेकी रजनी राष्ट्रियस्तरका खेलाडी हुन् । एक दशकदेखि यो क्षेत्रमा क्रियाशील रजनीले देश–विदेशमा बडी विल्डर खेलबाट थुप्रै स्वर्ण पदक जितिसकेकी छिन् । उनी बडी विल्डरमै वर्ल्ड च्याम्पियन बन्न चाहन्छिन् । रजनी भन्छिन्, ‘अब वर्ल्ड च्याम्पियनसिप खेल्न चाहन्छु । तर, त्यसका लागि सरकारले योजना बनाइदिनुपर्याे ।’
आगामी नोभेम्बरमा मालदिभ्समा बडी विल्डरहरुको ‘वर्ल्ड च्याम्पियनसिप’ हुँदै छ । त्यहाँ अवसर पाएमा ‘स्वर्ण पदक’ जित्ने उनी बताउँछिन् । यिनै बडी विल्डर्स रजनी श्रेष्ठसँग रेजिना पाण्डेको जम्काभेट :
आजभोलि कसरी दिन बितिरहेको छ ?
आजभोलि गेमको सिजन छैन । त्यसैले आफ्नो बिजनेस, पारिवारिक काम, ट्रेनिङ, जिम यस्तैमा दैनिकी बितिरहेको छ ।
तपाईँ बडी विल्डर क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
सन्जोगले बडी विल्डर खेलाडी भएको हुँ । मैले खेलाडी बन्छु भनेर कुनै योजना बनाएकै थिएनँ । मेरो शरीरमा सानो–सानो गाँठोहरू आएको थियो । धेरै डाक्टरलाई देखाएँ । धेरैले क्यान्सरको शंका गरे । त्यसपछि मलाई रोग लाग्यो, बाच्दिँन भन्ने लाग्यो । तर, श्रीमानले हौसला दिनुभयो । व्यायाम गर्न मित्रपार्कको जिम सेन्टर लिएर जानुभयो । जिम गर्न थालेपछि गाँठा गुठीहरू हरायो । त्यतिबेला (सन् २०१७)मा शारीरिक सुगठन खेल हुँदै थियो । उक्त गेममा म पनि सहभागी भएँ र स्वर्ण पदक पनि जितेँ ।
पहिलोपटक खेल्दा कस्तो अनुभव भएको थियो ?
कल्पना नै नगरेको खेल, अझ खेल्छु भनेर सोचेकै थिइनँ । तर, श्रीमानको सहयोगले तौल र शारीरिक बनावटलाई म्यानेज गरेर खेल्छु र जित्छु भनेर मैदानमा उत्रिएँ । मैले स्वर्ण पदक जितेँ पनि । त्यो दिन कहिल्यै बिर्सिन सक्दिनँ ।
बडी विल्डर बनेपछि के–कस्ता समस्याहरू आयो ?
महिला, त्यसमाथि बुहारी भएका कारण मप्रति हेर्ने नजर फरक थियो । छोरीचेलीलाई पुरानै संकुचित सोचले हेर्नु नै पहिलो समस्या हो । तर, अहिले महिलाले विश्व हाँकिसकेका छन् । समाजले यो नबुझ्नु गलत हो ।
राष्ट्रिय खेलाडी भएर चिनिँदा कस्तो लागिरहेको छ ?
खुसी लाग्छ । मैले काम गरेर देखाएको छु । परिवार, समाज र राष्ट्रका लागि केही गरौँ भन्ने लाग्छ । हिजो कुरा काट्ने समाज आज सम्मान गर्न थालेको छ । खेलाडीले पाउनुपर्ने सेवा सुविधामा राज्यले कुनै कन्जुसलाई नगरे हुन्थ्यो जस्तो लाग्छ ।
अहिलेसम्म राज्यबाट के पाउनुभयो ?
सम्मान त पाइरहेकी छु । तर, विदेशमा जस्तै सम्मानको साथसाथै खेलाडीलाई खेल्ने वातावरण बनाइदिए अझ राम्रो हुने थियो । साथै, राज्यले खेलाडीका लागि बिमा र बुढेसकालका लागि केही आर्थिक सहयोग गरे धेरै राम्रो हुन्थ्यो ।
तपाईँले राज्यबाट केही सुविधा पाउनुभएको छैन ?
छैन । मजस्ता धेरै खेलाडीहरू मारमा परेका छन् । गेम खेल्दा केही भइहाल्यो भने आफैँले बोर्नुपर्छ । उमेर भइन्जेलसम्म त आफ्नै खर्चले पनि खेल्छौँ । तर, पछि के गर्ने ? हाम्रो बारेमा कुनै योजना नै बनेको छैन । यसो सम्झिदा दुःख लाग्छ ।
तपाईँ आफ्नै खर्चमा गेम खेल्दै आउनुभएको छ हो ?
हो, आजसम्म जति पनि गेम खेलेँ, आफ्नै खर्चमा खेलेँ । मलाई राज्यले कुनै सुविधा दिएको छैन । एउटा गेम खेल्नलाई कम्तीमा तीन महिना तयारी गर्नुपर्छ । बडी विल्डर खेलका लागि भिटामिन र प्रेटिनयुक्त खाना चाहिन्छ । एउटा खेलको तयारी गर्दा ६ लाखसम्म खर्च हुन्छ । म मात्रै होइन, मजस्ता धेरै खेलाडीहरू आफ्नै खर्चमा गेम खेलिरहेका छन् ।
तपाइँजस्ता खेलाडीहरूलाई यहाँ गाह्रो छ ?
धेरै गाह्रो छ । खेल्न र खर्च गर्न नसकेर नचाहँदै पनि विदेशनुपरेको छ । मसँग कला छ, देशका लागि केही गर्छु भन्दै स्वदेशमै बस्दा धेरै अवसरहरू गुमाएका छन् । देशलाई चिनाउने खेलाडी नै हुन् । तर, खेलाडीको अवस्था राज्यले बुझ्न सकेको छैन ।
तपाईँमाथि त्यस्तो अवस्था आइपरेको छ कि छैन ?
केही समयअघि कोरियामा भएको ‘एसियन च्याम्पियनसिप’मा जान आफ्नै खर्चमा सबै तयारी गरेँ । मिहिनेतको कुरै नगरौँ । तर, अन्तिम समयमा कोरियाले भिसा दिएन । एउटा खेलाडीलाई राज्यले बेवास्ता गर्दा त्यो अवस्था आएको हो । त्यो समयमा निकै दुःखी भएकी थिएँ ।
तपाईँलाई राज्यले खेलकुद क्षेत्रका लागि काम गर्ने अवसर दियो भने के गर्नुहुन्छ ?
म आफैँ खेलाडी भएकोले खेलाडीहरूको अवस्थाबारे पहिला जानकारी लिन्थेँ । खेलाडीले खेलमा दिएको समय र उमेर हेरेर के कस्ता सुविधा दिन सकिन्छ, त्यो कुरालाई पहिलो प्राथमिकता दिन्थेँ । कुनै पनि खेलाडी भोको मर्न नपरोस् भन्ने मनमा राखेर काम गर्ने थिएँ । किनकि, खेलाडीको जीवन व्यर्थ खेर नजाओस् भन्नेबारे अहिले सोच्ने बेला आएको छ ।
तपाईँ आफूलाई सुन्दरताको विषयमा कसरी हेर्नुहुन्छ ?
सुरु सुरुमा चाहिँ ठूलो–ठूलो बडी र मार्सलहरू देख्दा दिक्क लाग्थ्यो । मेरो शरीरको बनावट फरक भएकाले केटाको जस्तो कपाल शृङ्गार र मेकअप गर्न नपर्ने । तर, ऐनामा आफ्नो रुपरंग हेर्दा बिग्रिएको जस्तो लाग्थ्यो । तर, अहिले केही लाग्दैन ।
तपाईँको बुझाइमा सुन्दरता के हो ?
सुन्दरताबारे आ–आफ्नै बुझाइ हुन्छ । मेरो बुझाइमा स्वस्थ शरीर र हँसिलो मुस्कान नै सुन्दरता हो ।