काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीले अघि सारेको नीति अनुसार नेतृत्व चयन हुने बताएका छन् । शनिबार महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले महाधिवेशबाट सर्वसहमत नेतृत्व चयन गर्ने बताएका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले भने, ‘अबको नेतृत्व सर्वसम्मत ढंगले निर्माण गरौं, त्यसले सिंगो कम्युनिष्ट आन्दोलनलाई ठिक दिशामा अगाडि बढाउँछ । हामी नेताहरुमा केही त्यस्तो ठूलो समस्या छैन । कहिलेकाहिँ बहस गर्छौ ँ। कम्युनिष्ट पार्टीका नेताहरुका बीचमा बहस हुनु कुनै ठूलो कुरा होइन ।’
नेता खनालले महाधिवेशनले निकालेको निष्कर्ष लागू गर्ने नेतृत्व सर्वसहमत चयन गर्ने बताए । केही गर्दा नमिलेपछि लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्ने उनको भनाइ छ । नेतृत्वको विषयमा नेताहरुबीच छलफल चलिरहेको उल्लेख गर्दै उनले आफूहरुले गुटबन्दी नगरेको बताए ।