काठमाडौं । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ ले वरिष्ठ पत्रकार तथा लेखक भैरव रिसाललाई ’यज्ञप्रसाद आचार्य रोटरी जोर्नो लाइफटाइम अचिभमेन्ट अवार्ड’ द्वारा सम्मान गरेको छ । रोटरी इन्टरनेशनल डिस्ट्रिक्टले स्थापना दिवसको अवसरमा ९६ वर्षीय रिसाललाई एक लाख एक हजार रुपैयाँ नगद राशीसहित सम्मान गरेको हो ।
पत्रकारिता क्षेत्रमा व्यावसायिक जीवन बिताएका एक जनालाई प्रदान गरिने यो अवार्ड यसै वर्षदेखि सुरेश आचार्यले आफ्ना स्वर्गीय पिता यज्ञप्रसाद आचार्यको स्मृतिमा स्थापना गरेका हुन् । स्व. आचार्य पत्रकार एवं लेखक हुनुका साथै सामाजिक सेवा र राजनीतिक क्षेत्रमा सात दशकभन्दा लामो समय सक्रिय थिए ।
रिसालको लेखन तथा पत्रकारिताबाट रोटरीका सामुदायिक तथा मानवीय सेवासँग सम्बन्धित सात विधागत क्षेत्रका साथै नैतिक र सदाचारयुक्त सञ्चारीकरणमा महत्वपूर्ण योगदान पुगेको रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भूटानका गभर्नर राजेन्द्र ध्वजूले बताए । रिसाल अस्वस्थताको कारणले उपस्थित हुन नसकेका कारण रोटरीका पदाधिकारीहरूले निवासमै गएर सम्मानपत्र र पुरस्कार राशी प्रदान गरिने भएको रोटरी जोर्नो अवार्ड कमिटीका निमित्त संयोजक पत्रकार नम्रता शर्माले बताए ।
त्यसै समारोहमा अन्य सात जना पत्रकारलाई विभिन्न विधामा सम्मान गरिएको छ । स्वतन्त्र लेखनीतर्फ रामु सापकोटा, आर्थिक तथा सामुदायिक विकासतर्फ अमर सुनार, खानेपानी तथा सरसफाइतर्फ तिलक तिवारी, सुरक्षित मातृत्व र बाल स्वास्थ्यतर्फ वसन्तप्रताप सिंह, आधारभूत शिक्षा तथा साक्षरतातर्फ विद्या राई, रोग तथा उपचारतर्फ स्वस्तिक श्रेष्ठ र शान्ति तथा द्वन्द्व व्यवस्थापनतर्फ टंक पन्तलाई पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कृत पत्रकारहरूलाई ५१ हजार रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरिएको छ । रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भूटानका डिस्ट्रिक्ट गभर्नर राजेन्द्र ध्वजूले पुरस्कार तथा सम्मानपत्र प्रदान गरेका थिए ।