काठमाडौं । नेपाल टेलिकमले हुम्ला, बाजुरा र बझाङको सिमा क्षेत्रमा पर्ने सैपाल हिमालको काखमा रहेको रानीसैनमा गत असार ९ देखि टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ । हुम्लाको नाम्खा गाउँपालिका- ३ मा अवस्थित रानीसैनमा कम्पनीले भीस्याट प्रविधिबाट सेवा सञ्चालन गरेको हो ।
यो भन्दा पहिले करिव २० किलोमिटर तल लाम्पाटा र माथि ५ हजार ५ सय मिटर उचाईको साके पुगेर मात्र मोबाइल सेवामार्फत सम्पर्क गर्न सकिने अवस्था थियो । अब भने यहाँका करिव ६ सय बासिन्दाले सहज तरिकाले आफन्तसँग टेलिफोन गर्न सक्ने टेलिकमले जनाएको छ ।
सैपाल हिमालको काखमा अवस्थित नाम्खा, रानीसैन खासगरी चरिचरण क्षेत्र हो । यहाँ ६ महिनाभन्दा बढी हिउँ पर्ने भएकाले अन्य समयमा मानिसको बसोबास हुँदैन । करिव ३ हजार ६ सय मिटरको उचाईमा अवस्थित सो क्षेत्रमा सेवा सञ्चालन भए पश्चात त्यहाँ बसोबास गर्ने हुम्ला र बाजुरा दुवै क्षेत्रका वासिन्दा लाभान्वित टेलिकमले जनाएको छ ।
भीस्याट सेवा सञ्चालनका लागि आवश्यक उपकरण हुम्लाको ताँजाकोट जिमानादेखि करिव चार दिनसम्म मानिसले बोकेर रानीसैन पु¥याएका थिए । दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने सरकारको नीतिअनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो ।