काडमाडौं । नेकपा एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत् आजबाट बन्दसत्र सुरू हुँदैछ । कमलादीस्थिति प्रज्ञा भवनमा आइतबारदेखि जारी महाधिवेशनमा आज बिहान ९ बजेबाट बन्द सत्र सुरू हुने तालिका रहेको छ ।
बन्दसत्रलगत्तै अध्यक्ष मण्डल गठन हुने एकीकृत समाजवादीले जानकारी दिएको छ । बन्द सत्रमा अध्यक्षको राजनीति प्रतिवेदन, महासचिवको सांगठनिक प्रतिवेदन, नेपाली विशेषताको समाजवाद, विधान संशोधन प्रस्ताव पेश गरिनेछ । ती प्रतिवेदनमाथि छलफल गरेर पारित गरेपछि नेतृत्व चयनको प्रक्रिया सुरू हुने एकीकृत समाजवादीले जनाएको छ ।
एकीकृत समाजवादीको केन्द्रीय पदाधिकारी २१ सदस्यीय बनाउने सहमति भएको छ । यसअघि नै सचिवालय बैठकले २१ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय सदस्य रहने व्यवस्था गर्ने निर्णय गरेको थियो । पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार महाधिवेशन हलबाट अनुमोदन हुने गरी केन्द्रीय समिति २९९ सदस्यीय बनाउने निर्णय भएको छ । साथै पार्टीमा अहिले रहेको सम्मानित नेताको पद पनि कायमै राख्ने सहमति भएको उनले बताए ।
यस्तै, पार्टीमा वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरिनेछ । आगामी महाधिवेशनबाट केन्द्रीय उपाध्यक्षमा महिला सिट सुरक्षित रहने व्यवस्था गरिएको उनले बताए । महाधिवेशनका लागि केन्द्रीय प्रतिनिधि पाँच प्रतिशत मनोनीत गर्ने व्यवस्था रहे पनि त्यो मनोनीत नगर्ने सहमति भएको उनको भनाइ छ ।
खतिवडाका अनुसार सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने तयारी छ । यदि प्रतिस्पर्धा भयो भने त्यसलाई स्वीकार गरेर गइने एकीकृत समाजवादीले जनाएको छन् । तर, अधिकांश महाधिवेशन प्रतिनिधिको धारणा सहमतिबाटै नेतृत्व चयनको रहेको खचिवडाले बताए ।
एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल, झलनाथ खनाल र घनश्याम भूसाल उठ्ने चर्चा भइरहेको छ । अध्यक्ष नेपालले आफूलाई एक कार्यकाल सहयोग गर्न नेताहरूलाई भनेका छन् भने खनालले आफू प्रतिस्पर्धा नगरेको खण्डमा भूसाललाई समर्थन गर्न संकेत गरेका छन् । प्रवक्ता खतिवडाले सर्वसम्मत तरिकाबाट नेतृत्व चयन गर्न पहल भइरहेको बताएका छन् । एकीकृत समाजवादीको दसौं महाधिवेशन असार २० गतेसम्म चल्नेछ ।