काठमाडौं, ११ बैशाख ।
सामाजिक सञ्जालमा अत्याधिक सक्रिय पूर्व सचिव भिम उपाध्याय फेसबुक र ट्वीटरको लतले प्रहरी हिरासतमा पुगेका छन् । चर्चाका लागि जथाभावी लेख्दै आएका उनलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो ।
सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाली गलौच गरेको तथा सामाजिक सद्भाव बिगार्ने सामाग्री पोष्ट गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले उनलाई बुधबार साँझ ललितपुरस्थित घरबाट पक्राउ गरेको हो ।
प्रधानमन्त्रीको स्वास्थ्यसँग जोडेर उनले सोमबार ट्वीटरमा मानमर्दन हुने गरी टिप्पणी गरेको विषयमा अनुसन्धानका लागि पक्राउ गरिएको ब्यूरोका एक अधिकारीले बताए । ‘स्वास्थ्यको विषयलाई लिएर व्यक्तिगत गालीगलौच गरेकाले साइबर क्राइम आकर्षित भएको हो,’ ब्यूरोका तीन अधिकारीले भने । प्रधानमन्त्रीको चार वटा मिर्गाैला भएको लगायतका विषय राखेर उनले आलोचना गरेका थिए । पछि त्यो ट्वीट हटाएका छन् । साथै मुस्लिम समुदायमाथि गालीपूर्ण पोष्टहरु समेत गरेका थिए ।
पूर्व सचिव उपाध्याय सामाजिक सञ्जालमा निकै सक्रिय छन् । हल्लाकै भरमा कतिपय गलत सूचना फैलाउने गरेको आरोप पनि उनीमाथि लाग्ने गरेको छ । वर्तमान सरकारप्रति उनले कडा आलोचना गर्दै आएका छन् । त्यही कारण उनलाई पक्राउ गरिएको हुनसक्ने भन्दै सामाजिक सञ्जालमा पक्राउको विरोध भएको छ । उनलाई बिद्युतीय कारोबार ऐनअनुसार मुद्दा चलाउने प्रहरी तयारी छ ।
पदमै रहँदा पनि दिनभरी फेसबुकमा स्टाटस लेखेर बस्ने गरेको भन्दै उनको आलोचना हुने गरेको छ । हल्लाकै विषयहरुलाई समेत उनले पुष्टि नगरी पोष्ट गर्दथे । जसले गलत कुराहरु फैलने गरेको थियो ।