Logo
Logo

रोल्पा–सल्यान सडकको ठेक्का किनबेचमा महासेठको सेटिङ


1.7k
Shares

काठमाडौं । केपी शर्मा ओलीको शासनको उत्तराद्र्धमा जग्गा नै अधिग्रहण नगरी रेलको ठेक्का सेटिङमा दिएको बिषय खुब चर्चामा आएको थियो । अहिले ओली अध्यक्ष रहेको एमालेका तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ नै ठेक्का सेटिङ गर्न जुटेका छन् ।

यसअघि भौतिक पूर्वाधारमन्त्री हुँदा हुलाकी सडकदेखि विभिन्न सडक आयोजना सेटिङमा ठेक्का दिएर अर्बौंको हेराफेरी गर्न खोजेका मन्त्री महासेठलाई सडक विभागका तत्कालीन महानिर्देशक केशव शर्माले रोकेका थिए । शर्माकै कारण अघिल्लो पटक ठेक्का सेटिङ गर्न नपाएको झोंक उनले यसपटक मन्त्री हुनासाथ उनलाई ऊर्जा आयोगमा सरुवा गरेर फेरेका छन् ।

वाम पृष्ठभूमिका सचिवको सरुवा गरेर ठेक्का सेटिङमा माहिर कांग्रेसी पृष्ठभूमिका गोपालप्रसाद सिग्देललाई विभागमा ल्याएका छन् । सिग्देललाई सचिवमा ल्याएपछि उनले ठूलो बजेट भएका आयोजना प्रमुखहरू परिवर्तन गरी ठेक्का सेटिङ गर्र्ने खुबी भएका भ्रष्ट पृष्ठभूमिका सुई र डीईहरूलाई खटाएका छन् ।

रोल्पा–सल्यान सडकखण्डको आयोजना प्रमुख बेलबहादुर भूजेल वाम पृष्ठभूमिका भएकाले उनलाई सरुवा गरी दीपक बाराहीलाई लगिएको छ ।

बाराहीलाई आयोजना प्रमुख बनाइसकेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ५२.१७ किमीको रोल्पा–सल्यान सडकखण्डको ठेक्का सेटिङमा दिने प्रक्रिया अन्तिम चरणमा पु्¥याएका छन् ।

गत बैशाख ३१ गते रोल्पा–सल्यान सडकखण्डको कुल ३ अर्ब ७२ करोड रुपैयाँको बोलपत्र सूचना निकालिएको थियो । उक्त ठेक्का सुशील श्रेष्ठको कुमार श्रेष्ठ निर्माण सेवालाई दिनेगरी मन्त्री महासेठले सेटिङ गरिसकेका छन् ।

प्राविधिक मूल्यांकनको प्रस्ताव गत जेठ अन्तिममै खोलिसकिएको छ । भौतिक पूर्वाधारमन्त्री महासेठले प्राविधिक मूल्यांकनमै तीन वटा ठेकेदारलाई मात्र भाग लिन लगाइएको छ । खरिद नियमअनुसार तीन वटाको प्रस्ताव राख्न लगाई कुमार श्रेष्ठलाई ठेक्का दिनेगरी सेटिङ भइसकेको छ ।

आर्थिक प्रस्तावमा कुमार श्रेष्ठको भन्दा कालिका कन्स्ट्रक्सन र आशिष निर्माण सेवालाई कम दरमा बोलपत्र हाल्न लगाई सेटिङमा ठेक्का दिने तय भइसकेको छ । प्रतिस्पर्धा गराउँदा कम्तीमा २० प्रतिशत कम(बिलो)मा काम हुन्थ्यो, सरकारलाई करिब १ अर्ब फाइदा हुन्थ्यो । तर, मन्त्रीद्वयकै सेटिङमा राज्यलाई नोक्सान पारी ठेक्का दिने तयारी छ ।

यो ठेक्काका लागि मापदण्ड पुग्ने ठूला निर्माण व्यवसायीहरू रसुवा, स्वच्छन्द र तुँदी निर्माण सेवा, लामा कन्स्ट्रक्सन, शर्मा एन्ड कम्पनीलाई अरु ठेक्कामा सेटिङ गर्नेगरी भाग नै नलिएको सडक विभाग स्रोत बताउँछ । उनीहरूलाई अन्यत्रको ठेक्का सेटिङमा दिनेगरी रोल्पा–सल्यानको टेण्डरमा सहभागी हुनबाट मन्त्री बुढाले नै रोकेको स्रोतको दाबी छ ।

यसैगरी सहरी विकासमन्त्री बुढा ठेकेदार हुन् । उनलाई मन्त्रालयको काममा भन्दा ठेक्का सेटिङमा बढी चासो रहँदैआएको छ । उनले सबै ठेक्का पनि सेटिङ गराउने र बिक्री गरी करोडौं लाभ लिने गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि गौतम बुद्ध विमानस्थलका अर्बौंका ठेक्का पनि उनले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसँग मिलेर सेटिङमा लिने र आशिष निर्माण सेवालाई बिक्री गर्दैआएका छन् ।

भौतिक पूर्वाधारमन्त्री महासेठले रोल्पा–सल्यानको यो ठेक्का सेटिङको हिस्सा बालकोटसम्म पुर्याउनेगरी ठेक्का दिन लागेको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्