Logo
Logo

नयाँ सरकार गठनबारे ओली-देउवाबीच हस्ताक्षर, यस्तो छ समझदारीको प्रारम्भिक मस्यौदा


2k
Shares

काठमाडौं । नेपाली काँग्रेस र नेकपा एमालेबिच नयाँ सरकार गठन गर्नेबारे सहमति भएको छ । सोमबार मध्यरातमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाबीच नयाँ सरकार बनाउने सहमति भएको हो ।

पहिलो चरणमा ओली र दोस्रो चरणमा देउवाले प्रधानमन्त्री बन्नेछन् । सहमतिको प्रारम्भिक खाका अनुसार एमालेले अर्थसहित नौ र काँग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति छ । उनीहरूले प्रदेशलाई ३÷३ वटा सरकार बाँडेका छन् भने मधेस प्रदेशमा चाहिँ मधेस केन्द्रित दलकै नेतृत्व हुन सक्ने समझदारी भएको छलफलमा सहभागी एक नेताले बताए ।

त्यसैगरी संविधान संशोधनका लागि प्रारम्भिक सहमतिको खाका तयार भएको र जसमा समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभा लैजाने र उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने समझदारी भएको छ ।

पालिकाको संख्या ७५३ बाट घटाएर वडाको संख्या वृद्धि गर्न संविधान संशोधन प्रस्तावमा सहमति गर्ने सम्भावना छ । संविधान पुनरावलोकन गर्न पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा समिति बनाउने सहमति गरिएको छ ।

प्रदेश सभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचित मात्रै राख्ने विकल्पबारे उनीहरुबीच छलफल भएको छ ।
प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैको सिटसंख्याबारे पनि पुनर्विचार गर्न सकिने सम्भावनाबारेमा समेत छलफल भएको छ ।

दुई दलको सहमतिसँगै मध्यराति नै काँग्रेस र एमालेका नेताहरू शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका थिए । धारा ७६(३) अनुसार आह्वान भएमा संसद्को ठूलो दल काँग्रेस नेतृत्वमा सरकार बन्ने अवस्था रहने भएकोले एमालेले धारा ७६(२) अनुसार सरकार आह्वानको सुनिश्चितता खोजेपछि परामर्शका लागि नेताहरू शीतल निवास पुगेका थिए ।

एमालेले अहिलेको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३० दिनभित्र विश्वास मत लिनुपर्नेछ । प्रधानमन्त्रीले राजीनामा दिए वा विश्वासको मत नपाए संविधानको धारा ७६ को २ अनुसार राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गर्नेछन् । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा एमालेको ७९ सिट छ भने कांग्रेसको ८८ सिट छ ।

प्रतिक्रिया दिनुहोस्