काठमाडौं । अस्ति आइतबारदेखि प्रज्ञा भवनमा आयोजित नेकपा (एकीकृत समाजवादी)को १०औँ राष्ट्रिय महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको निकै खोजी भयो । एमालेबाट विद्रोह गरेको एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशनमा ओली आएको भए निकै रमाइलो हुन्थ्यो । उखान टुक्का माधव–झलनाथसँगको विगतको तितामिठा कुरा सुन्न सहभागीहरू उत्साहित थिए ।
मञ्चमा आसिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मात्र होइन, गृहमन्त्री रवि लामिछाने, जनमतका अध्यक्ष सिके राउत, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसम्मले ओलीको अनुपस्थितिको विषयमा अध्यक्ष माधवकुमार नेपालसँग जिज्ञासा राखेका थिए ।
सिंगो हलमा बोल्ने कम्युनिष्ट पार्टीका वक्ताहरुले वाम एकताको चर्चा गरिरहँदा धेरै वक्ताले ओलीको अनुपस्थिति खड्किएको महसुस गरे । किनभने, दुईतिहाइको वाम गठबन्धन सरकार विघटन गर्ने ओली नै अहिले आएर वाम एकताको बढी गफ गर्ने नेता पर्छन् । त्यति मात्र होइन, कांग्रेससँगको गठबन्धन भत्काउँदा पनि ओलीले वाम गठबन्धनकै गीत गाएका थिए । पछि, त्यसलाई सच्याएर बाम गठबन्धनलाई वाम समीकरण भनेर उच्चारण गरेका थिए ।
नेपाली कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्दा प्रचण्डसँग बहुमत थिएन । बहुमतका लागि प्रचण्ड ओलीको प्रतिनिधि बनेर नेपालनिवास कोटेश्वर पुगे । नेपालले भने– ‘अहिले हाम्रो पार्टी पर्ख र हेरको नीतिमा छ, तपाईँले मसँग एक शब्द नसोधी एमालेसँग गठबन्धन गर्नुभयो, सरकारमा सहभागी हुने नहुने विषयमा पार्टीमा छलफल गरौंला ।’
माधव नेपालबाट स्पष्ट जवाफ नआएपछि रन्थनिएका प्रचण्डले ओलीलाई बालुवाटारमा बोलाएर कोटेश्वर जान आग्रह गरे । प्रचण्डले ओलीलाई यस्तो आग्रह गरिरहँदा ओलीले मुख बिगार्दै जाउला नि त भने । फेरि ढिलो भयो भने माधव नेपाल फुत्किएलान् भनेर तुरुन्त ओलीले शंकर पोखरेललाई बोकेर कोटेश्वर पुगे । त्यहाँ ओली र नेपालबीच लामै कुरा भयो ।
ओलीले विगतका कमीकमजोरी सच्याउँदै अगाडि बढ्ने प्रतिबद्धता मात्रै जाहेर गरेनन्, पुरानो गठबन्धनमा भएको सहमति कार्यान्वयन गर्दै नेपाललाई प्रचण्डपछि प्रधानमन्त्री बनाउनेसम्मको बचन दिए । पार्टी एकताको चास्नीमा नेपाललाई डुबाए । वास्तवमा, सरकारमा सहभागी हुने इच्छा नेपालको थिएन । झलनाथ खनालले बढी दबाब दिएपछि मात्रै सरकारमा सहभागी हुन नेपाल तयार भएका थिए ।
ओलीसँग वार्ता सकिएपछि बसेको समाजवादीको सचिवालय बैठकमा नेपालले ठट्टा गर्दै भनेका थिए– ‘ओलीको कुनै विश्वास छैन । एउटा कुरा गर्छन्, व्यवहार अर्कै । नेकपाकालमा ओलीबाट धेरै पीडा भोगियो, विद्रोह गरेर संविधान जोगाइयो । प्रचण्डले थाहै नदिई विगतको चोट बिर्सिएर फेरि ओलीकै जालमा फसे । हामी पनि बाध्य भएर लत्रदै सरकारमा जानु प¥यो ।’
नभन्दै सुदूरपश्चिम प्रदेशको सरकार निर्माणमा ओलीले बखेडा झिकिहाले । सरकारमा जानु अगाडि कोटेश्वरमा भनेका सारा कुरा बिर्सिहाले र नेपाललाई पेल्न थाले ।
तै पनि १०औँ महाधिवेशनमा एमालेलाई निम्ता गर्ने टुंगोमा नेपाल पुगे । नेपाललाई ओली आउने विश्वास त थिएन, शंकर पोखरेल अथवा विष्णु पौडेललाई पठाउँछन् भन्ने विश्वास थियो । तर, एमालेबाट कोही पनि महाधिवेशनमा अतिथि देखा परेनन् । हलमा कतिपय कार्यकर्ताले त्यस्ता प्रतिगामीलाई किन निम्ता गरेको भन्ने चर्चा पनि गरेको सुनियो । हलमा उपस्थित पुराना नेता, कार्यकर्ता ओलीको नामसमेत सुन्न चाहँदैनन् । तर पनि नेपालले राजनीतिक संस्कार देखाएर एमालेलाई निम्ता पठाए, ओलीलाई धेरैपटक फोन गरे । त्यति राजनीतिक संस्कार पनि ओलीले देखाउन सकेनन् । यस घटनाले ओली कति संकीर्ण, दम्भी, घमण्डी र अधिनायकवादी सोचका नेता हुन् भन्ने प्रष्ट हुन्छ ।
ओलीको दम्भकै कारण नेकपा विभाजन भयो, एमाले टुक्रियो तर पनि उनको चेत अझै खुलेको छैन । उनको यस्तो शैलीले न वाम एकता हुन्छ न त वाम गठबन्धनमा बनेको प्रचण्डको सरकार टिक्छ । प्रचण्ड र कांग्रेसको बीचमा फाटो ल्याएर आफू प्रधानमन्त्री बन्न पछिल्लो पटक प्रचण्डलाई प्रयोग गरेको कुुरा विस्तारै खुल्न थालेको छ ।
एमाले अध्यक्ष ओलीको अनुपस्थितिलाई लिएर एकीकृत समाजवादीका अध्यक्ष नेपालले पार्टी विभाजनको घाउ आलो भएकाले ओली नआएको बताए । नेपालले महाधिवेशन उद्घाटन सत्रमा उपस्थितिका लागि आफूले धेरैपटक ओलीलाई फोन गरेको र सन्देश पठाएको बताउँदै राजनीतिमा घृणा भाव राख्न आवश्यक नभएको तर्क गरेका थिए ।
उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले ओलीको नाम नलिई विगतमा संसद् विघटन गर्नेहरूले फेरि पनि संसद् विघटन गर्देलान् नि भन्दै मञ्चमा आसिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई खबरदारीसमेत गरे । नेपालले, राजनीतिमा बैरभाव नराखी ‘आफूले ओलीलाई महाधिवेशनमा आउनका लागि १० कल फोन गर्दा पनि सम्पर्क नभएपछि म्यासेज पठाएको’ बताए । तर ओलीले यसलाई सजिलै इग्नोर गरिदिए ।
महाधिवेशन सफलताका लागि शुभकमना दिन पुगेका शीर्ष नेताहरूको शुभकामना मन्तव्यको दृष्य ओलीले बालकोटमा बसेर प्रत्यक्ष प्रसारणमार्फत हेरिरहेका थिए ।