Logo
Logo

बेचन झाले कृष्ण सिटौला र आरजुलाई पोल्लान ?


10k
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पीडितहरूसँग पैसा उठाउने गिरोहलाई राजनीतिक व्यक्तिहरूसँग कनेक्सन बनाइदिएका बेचन झा पक्राउ परेपछि बुढानीलकण्ठमा हलचल मच्चिएको छ । प्रहरीले शुक्रबार भारतबाट पक्राउ गरेर काठमाडौँ ल्याएका झामाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले ७ दिन थुनामा राख्न अनुमति दिएको छ ।

प्रहरी स्रोतका अनुसार संगठित अपराधमा अनुसन्धान गर्न पाउने ६० दिनको समयमा झासँग सम्बन्धित राजनीतिक कनेक्सन खोज्ने प्रयास प्रहरीले गर्नेछ । ‘संगठित अपराधमा अनुसन्धानका लागि ६० दिनको समय छ । झाको बयान लिएपछि उनीसँग कनेक्सन देखिएका व्यक्तिहरूको बारेमा अनुसन्धान सुरु हुन्छ,’ प्रहरी स्रोतले भन्यो, ‘उनले बयानमा पोलेका व्यक्ति र यसअघिको बयानमा आएका व्यक्तिहरू समेत अनुसन्धानको दायरामा आउने छन् ।’

प्रहरीका अनुसार झाले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण र सचिव टेकनारायण पाण्डेलाई ठगी गिरोहसँग भेट गराइदिएको पुर्पक्षका लागि थुनामा रहेका सचिव पाण्डेले लिखित बयानमै बताएका छन् । ‘मन्त्रालयमा राजनीतिक रूपमा सम्पर्कमा आएका बेचन झासँग बयान लिएपछि यस विषयमा थप गहिराइमा पुग्न सकिन्छ,’ पाण्डेले अदालतको बयानमा भनेका छन् ।

झाको सबैभन्दा बढी सम्बन्ध कांग्रेस नेता कृष्णप्रसाद सिटौलासँग थियो । सिटौलाले नै झालाई तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गराइदिएका थिए । नक्कली भुटानी शरणार्थीसम्बन्धमा देउवापत्नी आरजु राणासँग सिटौलाले झालाई भेटाइदिएपछि कुरा गरेर ‘कन्भिन्स’ गर्ने काम गरेका थिए ।

त्यसपछि आरजुले देउवालाई कन्भिन्स गरेर देउवाले यसबारे तत्कालीन गृहमन्त्री खाँणलाई भेट्नु भनेर पठाएका थिए । आरजुले सचिव पाण्डेलाई झालाई भेटेर कुरा सुनिदिनु भनेको प्रारम्भिक प्रमाण भेटिएको प्रहरीले जनाएको छ । यही प्रारम्भिक बयानबारे झासँग प्रश्न गर्दा अबको अनुसन्धानको दिशा तय गर्ने अनुसन्धानमा संलग्न प्रहरी अधिकारी बताउँछन् ।

तत्कालीन गृहमन्त्री खाँण र सचिव पाण्डेसँग भेट गरेपछि झाले बिचौलियालाई गृहसचिव पाण्डेसँग भेटाउने समन्वय गरिदिएका थिए । सिटौलाले पनि झालाई भेटेर कुरा सुन्दिनु भन्दै गृहसचिव पाण्डेलाई भनेका थिए । त्यही समन्वय गरिदिएवापत बिचौलिया रामशरण केसीले झालाई दुई करोडको चेक दिएका थिए । केसीले ८ मङ्सिर २०७८ को राति ८ बजे मध्य बानेश्वरमा झालाई दिएको दुई करोडको चेक प्रहरीले फेला पारेको छ । आफूले झालाई चेक दिएको केसीले बयानमा खुलाएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य आरोपीमध्येका सानु भण्डारीले ‘१३ मङ्सिर २०७८ को मन्त्रिपरिषद् बैठकबाट भुटानी शरणार्थीबारे हामीलाई फाइदा हुने गरी निर्णय गर्दैछ, यो काम बेचन झाले गराएकाले उनलाई चेक काटिदिनू,’ भनेपछि आफूले चेक काटेर झालाई दिएको केसीले बयानमा उल्लेख गरेका छन् ।

आरजु राणाका भाइ भूषण राणासँग व्यावसायिक चिनजान भएका बेचन झा भूषण राणामार्फत नै आरजुसँग पनि जोडिएको हुन सक्ने प्रहरी बताउँछ । भूषण र बेचन व्यवसायी साझेदारसमेत हुन् ।

बेचन झाको सम्बन्ध टोपबहादुर रायमाझी ऊर्जामन्त्री भएको बेला राम्रो सम्बन्ध थियो । बेचनले आफ्नो विभांशु ब्रदर्स नामक कम्पनीमार्फत रायमाझी मन्त्री हुँदा काम गरेको देखिएको छ । बिजुलीको ट्रान्सफर्मरदेखि एयर कन्डक्टर खरिदको ठेक्का रायमाझीमार्फत बेचनले ठेक्का पाएका थिए । बेचनमाथिको अनुसन्धान हुँदा पूर्वमन्त्री रायमाझीलाई पुनः बयानमा बोलाउनु पर्ने हुनसक्ने प्रहरी बताउँछ ।

प्रहरीले अब भने ६० दिनको समयमा बेचनसँग संलग्न देखिएका सवै व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याइने बताएको छ । भारतीय मूलका बेचन झाको काठमाडौंको बानेश्वरमा घर छ । बेचनले पर्साबाट नेपाली नागरिकता लिएका छन् । कांग्रेस नेताहरूको आडमा नेपालमा ठेक्कापट्टाको काम गर्दै आएको र बिचौलियाको धन्दामा पनि संलग्न रहेको खुलेको थियो । उनको नेपाल र भारतमा दुवैतर्फ नागरिकता देखिएकाले त्यसतर्फ पनि अनुसन्धान हुने प्रहरीले बताएको छ ।

पहिलो चरणमा बिचौलियाले नै नेताहरूको नाम लिएपछि उच्च तहसम्म अनुसन्धान पुगेको थियो । तर, बिचौलियाले बयान फेरेर इन्कारी बयान दिएकापछि प्रहरी अलमलमा परेको थियो । अब भने उच्च तहसम्म पुग्ने प्रहरी बताउँछ । उच्च तहमा समन्वयको काम गर्ने झाले त्यसवेला उच्च राजनीतिक नेतृत्व र गृह मन्त्रालयबीच समन्वयको काम गरेका थिए ।

झा कै समन्वय र उच्च राजनीतिक नेतृत्वको दबाबका कारण गृह मन्त्रालयले दर्तामा छुट भएका शरणार्थीको विवरणमा नेपालीको नाम राखेर सोही आधारमा अमेरिका पठाउने प्रयास गरेको बताइन्छ । तर, योजना सफल नभएपछि पीडितहरू आफ्नो पैसा डुबेको भन्दै उजुरी लिएर प्रहरीमा पुगेपछि प्रकरण बाहिर आएको थियो ।

झाको बयानपछि पूर्वगृहमन्त्री रामबहादुर थापा, सांसदसमेत रहेकी उनकी पत्नी नैनकला थापा, एमाले अध्यक्ष केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, पूर्वप्रदेश सांसद तथा एमाले नेता अजयक्रान्ति शाक्यलगायत माथि पनि अनुसन्धान गर्ने तयारी प्रहरीको छ ।

प्रतिक्रिया दिनुहोस्