काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा. मुकुल ढकाललाई ७ दिनका लागि पदबाट निम्बलन गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री ढकाललाई पार्टी अनुशासनविपरीत कार्य गरेको भन्दै सात दिन निलम्बन गर्ने निर्णय गरेको हो ।
पार्टी केन्द्रीय सदस्य शिशिर खनालका अनुसार केन्द्रीय समितिको बैठकले सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र मनीष झालाई प्रवक्ता तोकेको छ ।
बुधबार नै डा. ढकाललाई निलम्बनको पत्र थमाइएको उनले बताए । बुधबार बसेको केन्द्रीय समितिको बैठकमा पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिएको बेहोरा पत्रमा रहेको बताइएको छ ।
यस्तै, महामन्त्री ढकालले आफूलाई स्पष्टीकरणको मौकासमेत नदिएको बताएका गरेका छन् । राजनीतिक दलसम्बन्धी ऐन र प्रचलित लोकतान्त्रिक अभ्यास अनुरूप कारबाही नभएको उनको भनाइ छ ।
उनले भने, ‘राजनीतिक दलसम्बन्धी ऐन र प्रचलित लोकतान्त्रिक अभ्यास अनुरूप कसैलाई पनि कारवाही गर्नुअघि स्पष्टीकरणको मौका दिनपर्छ । तर स्पष्टीकरणको मौका पनि नदिइ कारबाही भयो ।’
बुधबार महामन्त्री ढकालले ३९ जिल्ला घुमेर तयार पारिएको प्रतिवेदन छलफल गर्ने केन्द्रीय समितिको बैठक लाइभ गर्न माग गरेका थिए । पार्टी उपसभापति स्वर्णिम वाग्लेका अनुसार सभापति रवि लामिछानेले त्यस विषयलाई केन्द्रीय समितिमा प्रस्तुत गरेका थिए । तर शतप्रतिशत केन्द्रीय सदस्यले अस्वीकृत गरेका थिए ।
केन्द्रीय समितिले लाइभ गर्ने प्रस्ताव विफल तुल्याएपछि महामन्त्री ढकाल मुखमा कालो टेप टाँसेर विरोधमा बसेका थिए ।