Logo
Logo

नेकपा एसको अध्यक्षमा माधव सर्वसम्मत, घनश्यामले छाडे दाबी 


6.6k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल सर्वसम्मत चयन भएका छन् ।

अध्यक्षका अर्का आकंक्षी घनश्याम भुसालले दाबी छाडेसँगै माधव अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । यद्यपि, घोषणा हुन भने बाकीँ रहेकाे छ । भुसाललाई वरिष्ठ उपाध्यक्ष दिनेबारे छलफल भइरहेको छ । झलनाथ खनाल भने फेरि पनि सम्मानित नेता नै बन्ने भएका छन् ।

महासचिवमा भने प्रकाश ज्वाला र जगन्नाथ खतिवडाले दाबी गरिरहेका छन् । उक्त पदमा पनि सर्वसम्मत चयन गर्ने प्रयास भइरहेको छ । नेताहरू सहमति जुटाउने प्रयासमा लागेकाले दिउँसो २ बजे हुने भनिएको मनोनयन दर्ताको प्रक्रिया अझै सुरु हुन सकेको छैन । अहिले सबै पदमा सहमति जुटाउने प्रयासमा भइरहेको छ ।

नेकपा एमालेबाट विभाजित भएपछि पहिलोपल्ट एकीकृत समाजवादी महाधिवेशनमा गएको हो । महाधिवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ । केन्द्रीय कमिटीमा अध्यक्ष एक, सम्मानित नेता एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव एक, उपमहासचिव चार र सचिव सात जना रहनेछन् । 

प्रत्येक जिल्लाबाट कम्तीमा एकजना केन्द्रीय सदस्य हुनेछन् । प्रदेशअन्तर्गतका २५ सय संगठित सदस्यबराबर एकजनाका दरले केन्द्रीय सदस्य थप हुनेछन् । 

समावेशी क्षेत्रबाट महिला, आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, थारू, अल्पसंख्यक गरी ७० जना केन्द्रीय सदस्य हुनेछन् । पदाधिकारीसहित खुला क्षेत्रबाट ८० जना केन्द्रीय कमिटीमा हुनेछन् । 

भूगोललगायत विभिन्न कार्यक्षेत्र, समावेशी र खुला निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा प्रत्येक क्षेत्रमा ३३ प्रतिशत महिलालाई आरक्षण गर्नुपर्ने भएको छ । 

महिलालगायत सबै निर्वाचन क्षेत्रबाट २० प्रतिशत २५ देखि ४५ वर्ष उमेर समूहलाई आरक्षण गर्ने भएको छ । सबैभन्दा बढी बागमतीबाट २३ जना केन्द्रीय सदस्य हुनेछन् । त्यसपछि कोशी र मधेशबाट २१–२१ जना केन्द्रीय सदस्य बन्नेछन् । 

कर्णालीबाट १९, लुम्बिनीबाट १८, सुदूरपश्चिमबाट १६, गण्डकीबाट १५ केन्द्रीय सदस्य हुनेछन् । यस्तै, सम्पर्क प्रदेशबाट आठ, पेसागतबाट ६, भारत र अन्य प्रदेशबाट एक–एकजना केन्द्रीय सदस्य बन्नेछन् ।

असार १६ मा उद्घाटन गरिएको महाधिवेशनको आज अन्तिम दिन हो ।

प्रतिक्रिया दिनुहोस्