Logo
Logo

संक्रमित किशोरलाई वीरगञ्ज पठाइयो, थप एक जनामा पोजेटिभ


- दृष्टि न्युज/संवाददाता

0
Shares

गाइघाट, १२ बैशाख । सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवाका १४ वर्षीय किशोरमा कोरोना भाइरस संक्रमण पोजेटिभ पाइएपछि थप उपचारका लागि उनलाई वीरगञ्ंज पठाइएको छ ।
किशोरलाई बिहीबार राति उपचारका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा पठाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।
किशोरको परिवारका पाँच सदस्यलाई धनकौल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको प्रजिअ जिसीले बताए । किशोर बुधबार साँझ क्वारेन्टाइनबाट आफ्नो घर गए पनि उनी आफ्नो परिवारका सदस्य बाहेक कसैको सम्र्पकमा नगएको उहाँले जानकारी गराए । गाउँपालिकामा अहिले सुरक्षा व्यवस्था कडा पारिएको प्रजिअ जिसीले बताए ।
गत शुक्रबार वैशाख ५ गते आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि किशोरलाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा पिसिआर जाँचका लागि लगिएको थियो । त्यहाँ किशोरमा कोरोना सङ्क्रमण नदेखिएपछि वैशाख ७ गते धनकौलको क्वारेन्टाइनमा पठाइएको थियो ।
ती किशोरलाई जनकपुरबाट धनकौल पठाएको चार दिनपछि बिहीबार पुनः कोरोना रहेको भन्दै रिपोर्ट आएको हो । टेकुमा गरिएको परीक्षणमा किशोरमा कोरोना संक्रमण पुष्टि भएको बिहीबार सार्वजनिक गरिएको छ ।
यस्तै, ईश्वरपुर नगरपालिकामा बिहीबार आरडिटी गर्दा एक व्यक्तिमा पोजेटिभ नतिजा आएको छ । ईश्वरपुर–९ रामनगर निवासी ५८ वर्षीय एक पुरुषलाई आरडिटी विधिवाट कोरोनाको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको सर्लाहीका प्रजिअ जिसीले जानकारी दिए । ती पुरुषको स्वाब पिसिआर विधिबाट परीक्षण गर्न प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको छ । धेरैजसो आरडिटी पोजेटिभ देखिएको ‘केस’मा पनि पिसिआर परीक्षण गर्दा नेगेटिभ नतिजा आउने भएका कारण आरडिटी प्रभावकारी नरहेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्