मुगु । रारा तालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । रारा तालको पूर्वी भागमा पौडी खेल्ने क्रममा छायाँनाथ रारा नगरपालिका–५ का २१ वर्षीय शिशिरजङ रावलको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
रावल रारा ताल किनारमा निर्माणाधीन साइकल लेनमा मजदुरी गर्थे । अरु चार साथीसँग घर फर्किने क्रममा तालको छेउमा पौडी खेल्दा उनको मृत्यु भएको काका नरेन्द्र रावलले जानकारी दिए ।
घटनाबारे जानकारी पाउनासाथ नेपाली सेनाको हनुमान ध्वज गुल्मबाट दुई डुङ्गा लिएर नेपाली सेना घटनास्थलमा पुगेको थियो। रारा विमानस्थल र जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी टोली पुगी शव तालबाट निकालिएको हो ।
घटनाको मुचुल्का पछि शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।