Logo
Logo

कहिले सुध्रिन्छ सार्वजनिक यातायात ?


2k
Shares

नाम, बस । तर, बस्न कहिल्यै नपाइने ! सधैँ उभिनुपर्छ ! हो, संघीय राजधानी काठमाडौंका सार्वजनिक यातायातमा यस्तै हुन्छ । सिट पाउन त भाग्यमै लेखेको हुनुपर्छ !

गाडी पाउँछ भन्ने लागेपछि हिँड्न मन नलाग्ने । बस पर्खेर बस्यो, आउँदै नआउने । हिँडेको भए आधा बाटो पुगिसकिन्थ्यो । सडक छेउ उभिँदाउभिँदै खुट्टा गलिसक्छ । न थचक्क बस्नु, न लखरलखर हिँड्नु ! चर्को घाम । पानी कतिबेला ओइरिन्छ पत्तो हुँदैन । कहिले धुलोमांडौं कहिले हिलोमांडौं !

तर, यहाँ सबैको विवशता एउटै छैन । कोही कारमा हुइँकिन्छन् । केही बाइकमा । उभिएकालाई हिलो छ्याप्दै । कहिले धुलोले ढाक्छ । कुनै पाँच सिटे कारमा चालक मात्रै हुन्छन् । कुनै कारले हाकिम मात्रै बोकेको हुन्छ । सँगै गुडेका सार्वजनिक बसमा दाउराको हारजस्ता मान्छे ।

सार्वजनिक गाडी आउन साथ यात्रु दौडिएर चढ्न पुग्छन् । मानौँ, यहाँ कुनै दौड प्रतियोगिता भइसकेको छ । उपाधि सिट छ । तर, त्यो उपाधि अरूले नै जितिसकेको हुन्छन् । ‘सपनाको सहर’मा अचम्मको नियति । कतै मान्छेलाई सिट छैन, कतै सिटलाई मान्छे ।

लाग्छ– खाली गाडीलाई भरी बनाउन । सार्वजनिक गाडीमा हावा छिराउन । खाली र कोचाकोच गाडीको तालमेल गराउन । तर, सत्ताको सिटजस्तो नहुने गाडीको सिट । तालमेल गरेर बस्न मिल्ने प्रधानमन्त्री, मन्त्रीको सिट होइन । भोट दिन मात्रै काम लाग्ने मान्छेहरू बस्ने गाडीको सिट न प¥यो !

सोच्दै थिएँ– मसँग पनि निजी गाडी भइदिएँ ! उताबाट बस आइपुग्यो । करायो– नयाँ बानेश्वर, अनामनगर, पुतलीसडक … । चढ्न दौडिएर पुगेँ । बसको ढोका खुल्यो । तर, भित्र छिर्ने ठाउँ थिएन ।

ढोका बाहिरसम्मै मान्छेको भीड । ढोका खोल्न र बन्द गर्न पनि मुस्किल । ट्राफिक प्रहरीका लागि मात्रै ढोका लगाउने ! बाहिरै झुन्डिएर गन्तव्यमा गइरहेका मान्छे । विशेषगरी कार्यालय जाने र फर्कने समयमा यात्रुको चाप थेगिनसक्नु हुन्छ । खुट्टा राख्ने ठाउँसम्म हुँदैन ।

स्टेसनमा बस आइपुग्नासाथ यात्रुको ठेलमठेल सुरु हुन्छ । एकले अर्कोलाई धकेल्दै, कुल्चिँदै पस्ने र निस्कने गर्छन् । कसैले नभन्ने शब्दको प्रयोग गर्दै सहचालक कराइरहेका हुन्छन्– पछाडि सर्नुहोस्, पछाडि पछाडि…।

गाडी अगाडि बढाइरहेका चालकले पनि सहचालकको स्वरमा स्वर खाप्छन्– ‘अलि पछाडि सर्नुहोस्, पछाडि जानुहोस् पछाडि । दायाँबायाँ मिलेर बस्नुस् ।’ उनीहरूलाई लाग्दो हो– ‘यो बस पनि तन्किने भए हुन्थ्यो । जति यात्रु आएपनि अटाउन् ।’

बिचरा यात्रु ! पछाडि सर्न त परको कुरा । हल्लिन सक्दैनन् । सहचालकलाई चालकले आदेश दिन्छ– ‘भित्र नजानेलाई ओरालिदेऊ ।’ यात्रुलाई व्यङ्ग हान्छन्– ‘सजिलो खोज्नेले आफै गाडी किनेर चढ्नु ।’

सार्वजनिक गाडी चढ्नु रहर होइन, बाध्यता हो । म पनि जसोतसो गाडीभित्र छिरे । कक्रक्क हुँदै उभिएँ । सिटमा हुनेहरूलाई पनि सजिलो छैन । दुई जनाको सिटमा तीनजना राखेका हुन्छन् । अरू यात्रु वरिपरि उभिएका ।

मान्छेको हात एकातिर, खुट्टा अर्कोतिर । टाउको एकातिर, ज्यान अर्कैतिर । सास फेर्नै मुस्किल । हावा पनि चल्दैन । त्यसैमाथि कसैको सास गनाउने, कसैको काखी । बसभित्र न बस्न सजिलो छ, न उभिन नै । बरु सिट नै नभए सजिलो हुन्थ्यो ! सिटै नभए तीनजना कोचिएर बस्ने ठाउँमा अर्को तीनजना उभिन मिल्थ्यो !

घरबाट निस्कँदा कोरेको कपाल, कपडामा लगाएको आइरन गाडीबाट निस्कँदा बिग्रिसकेको हुन्छ । टिलिक्कको जुत्तामा चप्पलको छाप हुन्छ । स्वास्थ्य मान्छे बिरामी भइसक्छन् ।

तर, ‘मौकामा चौका हान्ने’ चाहिँ मालामाल हुन्छन् । अरूका खल्तीबाट मोबाइल र पर्स छिनभरमै हराउँछ । कति महिला तथा बालकालिकाहरू दुर्व्यवहारमा समेत पर्छन् । ‘ब्याड टच’को सिकार हुन्छन् ।

भिडभाडमा केही पुरुष महिलाको संवेदनशील अङ्गमा छुने, धकेल्ने, कुहिनाले घोच्ने र टाँसिने गर्छन् । जति बढी भिडभाड, त्यति नै पाकेटमाराहरूलाई अवसर हुन्छ । मोबाइल, पर्स र पैसा कतिखेर हराउँछ पत्तै हुँदैन । कहिलेकाहीँ त गाडीभाडा तिर्ने पैसा समेत हुँदैन ।

सार्वजनिक यातायात सुधार गर्न ढिला भइसक्यो । तर, सरकार र सम्बन्धित निकायको ध्यान अझै जान सकेको छैन । सार्वजनिक यातायात सुधार गर्न त्यस्तो ठूलो केही गर्नै पर्दैन । नयाँ नीति नियम बनाउनै पर्दैन । तर, कम्तीमा पनि बनिसकेको यातायात सम्बन्धी नीति, नियम, ऐन कानुन र आचार संहिताको कार्यान्वयन गर्नुपर्छ । यति मात्रा गर्न सके सार्वजनिक यातायात धेरै सुधार हुने देखिन्छ ।

सार्वजनिक यातायात सुधार्न सबैभन्दा पहिले रुट निर्धारण गर्नुपर्छ । यसले सबै स्थानमा सार्वजनिक यातायातको उपलब्धतालाई सुनिश्चित गर्छ । कतै सवारीसाधनको अभाव त कतै छेलोखेलो भएका कारण हुने अस्वस्थ प्रतिस्पर्धा हटी दुर्घटनासमेत घट्दै जान्छ ।

दोस्रो, सार्वजनिक यातायातमा रियल टाइम लोकेसनको सूचना हुने जिपिएस जडान गर्नुपर्छ । र, त्यस्तो सवारीसाधन रहेको स्थान पहिचान गर्ने प्रणालीलाई गुगल नक्सा÷ट्रान्जिटमा एकीकरण गर्नुपर्छ । यसले यात्रुलाई कुन सवारीसाधन कुन स्थानमा छ, आफूले पर्खिरहेको बिसौनीमा आउन कति समय लाग्छ र कति समयमा आफ्नो गन्तव्यमा पुगिन्छ भन्ने पूर्वजानकारी दिन्छ ।

तेस्रो, भाडा भुक्तानी प्रणाली र भाडादर निर्धारण पद्धतिमा वैज्ञानिकता ल्याउनुपर्छ । यसले सहचालकसँग भाडालाई लिएर अनावश्यक तनाव नहुने हुन्छ ।

चौथो, सार्वजनिक यातायातको लागि डेडिकेटेड लेनको व्यवस्थापन गर्नुपर्छ । कम्तीमा चार लेन भएको उपत्यकाभित्रका सडकमा दुई लेन सार्वजनिक सवारीसाधनले मात्र प्रयोग गर्न पाउने गरी व्यवस्था गरिनु जरुरी छ । यसो गरिएमा सार्वजनिक यातायात समयमै गन्तव्यमा पुग्छ । यसले निजी चारपांग्रे र दुईपांग्र्रे सवारीसाधनहरू क्रमशः निरुत्साहित हुँदै जान्छन् । र, जामको समस्या हट्नेछ ।

काठमाडौंमा जमिनमुनि मेट्रो रेल चलाउने चर्चा पनि चल्दै आएको छ । तर, ठूलो लगानी र बनाउन लामो समय लाग्ने हुँदा यो भने तत्कालको लागि सम्भव देखिँदैन । यसको लागि त अन्तर्राष्ट्रिय सहयोग नै आवश्यक पर्दछ ।

तर, सम्भव हुने अरू भने तत्काल सुधार गर्न सकिन्छ । आवश्यकता छ त केवल सार्वजनिक यातायात सुधार्ने राजनीतिक प्रतिबद्धता, नीति कार्यान्वयन गर्ने कर्मचारी नेतृत्वको दृढता र प्रदेश एवं स्थानीय तहबिचको सहकार्य ।

सार्वजनिक यातायात सहज हुनुपर्छ । सर्वसाधारणको पहुँचमा हुनुपर्छ । विश्वसनीय र यात्राको समय सजिलै अनुमान गर्न सकिने हुनुपर्छ । यी विशेषता भएको सार्वजनिक यातायातले मात्र सहरी जनतालाई सहज यातायात सेवाको सुनिश्चितता गर्छ ।

प्रतिक्रिया दिनुहोस्