काठमाडौं, १२ चैत ।
पूर्व राज्यमन्त्री तथा सांसद डा सुरेन्द्र यादबलाई पार्टी फुटाउन जबरजस्ती उठाएर काठमाडौं ल्याइएको घटनामा नेकपाका सांसद र पूर्व आईजिपी मात्र होइन बहालवाला प्रहरीको समेत मिलेमतो देखिएको छ । उनलाई उठाउन महोत्तरीको प्रहरीले सहयोग गरेको डा. यादबले बताएका छन् ।
महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले सहयोग गरेका हुन् । उनले सांसद यादब रहेको ठाउँ पत्ता लगाइदिएर सहयोग गरेका थिए ।
डा. यादबले नयाँ पत्रिकासँगको अन्तर्वार्तामा भनेका छन्–
बुधबार बिहान ९ बजेतिर आइजीसाबले फेरि फोन गर्नुभयो । तपाईंलाई भेट्न खोजेको छु भन्नुभयो । म त जनकपुर जाँदै छु भनेँ । किनकि मेरो सालाको छोरो जन्मिएका थियो, त्यसैले मैले श्रीमतीलाई लिएर जनकपुर जाने तयारी गरेको थिएँ । त्यति मात्र होइन, कोभिड–१९ विरुद्ध प्रदेश २ सरकारले बनाएको समितिमा म पनि सल्लाहकार छु । त्यसैले पनि म जनकपुर आवतजावत गरिरहन्छु ।
तर, उहाँले सीधै म त महोत्तरीमा छु, तपाईंको घर आउँछु भन्नुभयो । उहाँ त्यतिञ्जेलसम्म बर्दिबास आइसक्नुभएको रहेछ । उहाँ जनकपुरमा एसपी हुँदादेखिकै सम्बन्ध हो । बर्दिबास आइपुगेको छ, एकैछिनमा घरै आइपुग्छु भन्दा मैले नाइँनास्ती गर्ने कुरै भएन । फेरि महोत्तरीको एसपीलाई भनेर उहाँहरूले मेरो पिएसओमार्फत म कहाँ छु भन्ने जानकारी पनि लिइसक्नुभएको रहेछ ।
करिब आधा घन्टामा उहाँ घरमै आइपुग्नुभयो । फोनमा त आइजीसाबसँग मात्र कुरा भएको थियो । तर, घरमा त महेश बस्नेत माननीय, किसन श्रेष्ठ माननीय पनि आउनुभएको थियो, अर्को एकजना ड्राइभिङ सिटमा समेत हुनुहुन्थ्यो ।’
अधिकारीलाई तत्कालिन महानिरीक्षक सर्वेन्द्र खनालले नै महोत्तरी पठाएका थिए । त्यसअघि उनको पहाडी जिल्लामा सरुवा भएको थियो । पहाडी जिल्लामा कमाई नहुने भन्दै जान नमानेपछि उनलाई महोत्तरी बढाइएको प्रहरी स्रोत बताउँछ ।
उता सहमतिमै नभई प्रभावमै पारेर डा. यादबलाई काठमाडौं ल्याइएको उनले बताएका छन् । जसमा सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठभन्दा पूर्व आईजिपी खनालकै मुख्य भूमिका देखिन्छ ।
अन्तवार्तामा डा.यादबले भनेका छन्–
हाम्रो कुरा अलिक पेचिलो हुन थालेपछि आइजीसाबले बारा जाऊँ भन्नुभयो । मैले दोहोर्याएर जनकपुर जानु छ भनेँ । तर, मेरो भनाइ वास्तै नगरेर बारा नै जाऊँ कि जाऊँ भन्न थाल्नुभयो । स्थिति असहज होला जस्तो भयो । मैले पहिला जनकपुर जाऊँ, त्यसपछि बारा जाउँला भनेँ । पहिले जनकपुर गएपछि केही न केही उपाय लगाउँछु भनेर मनमनै सोचेँ । त्यसैमा सहमति भयो ।
मैले आफ्नै गाडीमा जान्छु भनेँ । तर, उहाँहरूले तपार्ईंको गाडी चाहिँदैन, हाम्रो गाडीमा जाऊँ भन्नुभयो । उहाँहरू विस्तारै ममाथि हाबी हुन थाल्नुभयो । मेरा कुरा सुन्न चाहनुभएन । जाऊँ जाऊँ मात्र भनेर मनोवैज्ञिानिक त्रास सिर्जना गर्नुभयो । मैले अस्वीकार गरे उहाँहरूले जबर्जस्ती गर्ने देखियो । तैपनि मैले आफ्नो गाडी निकाल्न भनेँ । ड्राइभर र पिएसओलाई गाडी लिएर पछिपछि आउन भनेँ । समाजवादीका प्रदेश कमिटी सदस्य राजीव यादव पनि मसँगै आए ।
वर्षौंदेखि मित्रता भएका पूर्वप्रहरी महानिरीक्षक, दुईजना सांसद । तर, उहाँहरूले सिर्जना गरेको अनौठो वातावरणबीच म उहाँहरूको गाडीमा चढेँ । मलाई असुरक्षा महसुस भइरहेको थियो । उहाँहरू भने हाँसेर कुरा गरिरहनुभएको थियो । त्यहीबीचमा बाटोमा मैले कौशलकिशोर यादवलाई भेटेँ । उहाँ हाम्रो पार्टीको प्रदेश सभा सदस्य हुनुहुन्छ । केहीबेरमा हामी बर्दिबास होटेल पुग्यौँ । त्यहाँ फेरि उही कुरा दोहोरियो ।
महेश र किसन माननीयले हामीसँग समाजवादीका ९–१० जना सांसद पहिला नै सम्पर्कमा हुनुहुन्छ, पार्टी फुटाउन संख्याको समस्या छैन, तपार्ईंजस्तो ‘हेभिवेट’ माननीय खोजेको भन्नुभयो । उमाशंकर अरगरिया पनि बर्दिबासमै हुनुहुन्छ भन्नुभयो । उमाशंकर हाम्रो पार्टीको संसदीय दलको सचेतक, तर महेश र किसन माननीयको सम्पर्कमा गइसक्नुभएको रहेछ, एकैछिनमा उहाँ पनि होटेलमा आउनुभयो ।