Logo
Logo

काठमाडौं उपत्यकामा भारी वर्षा, यस्तो रहने छ आज देशभरको मौसम


504
Shares

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै, मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिम तर्फ सरदर स्थानको उत्तरमा अवस्थित छ ।

शनिबार बिहानैदेखि देशका अधिकांश भू–भाग तथा काठमाडौं उपत्यकामा वर्षा भइरहेको छ । उपत्यकाको विभिन्न वर्षा मापन केन्द्रहरूमा मध्यम तथा भारी वर्षा मापन भएको बढी पूर्वानुमान महाशाखाले जनाएको छ । थप वर्षा हुन सक्ने सम्भावना रहेकोले उपत्यकाको नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले उच्च सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

यस्तै, ललितपुर जिल्लास्थित खोड्कु खोला झरुवारासी जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको छ । जलसतह बढ्दो क्रममा रहेको तथा नदी तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन भन्दै महाशाखाले एसएमएस अलर्ट नै जारी गरेको हो ।

यस्तै, शनिबार सबै प्रदेशका धेरै स्थानहरूका मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कोशी, बागमती , गण्डकी , लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा धेरै भारी देखि अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।

भारी वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्