Logo
Logo

काठमाडौंमै गुणस्तरीय एसोसोल बक्स उत्पादन


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १२ बैशाख । कोरोना भाइरस (कोभिड–१९)को महामारीसँगै त्यसको उपचारमा संलग्न डाक्टर र नर्सहरुका लागि आवश्यक सुरक्षा सामग्रीको सबैतिर अभाव भइरहेको छ । स्वास्थ्यकर्मीको सुरक्षाका लागि अत्यावश्यक सामग्रीमा पीपिई, मास्क र पञ्जाको मात्रै चर्चा हुने गरेको छ । तर, कारोनाको उपचारका लागि अति उपयोगी सामग्रीचाहीँ एरोसोल बक्स पनि हो । जसले चिकित्सकलाई संक्रमितको सम्पर्कबाट टाढै राख्दछ । जुन बक्स नेपालमा समेत उत्पादन गर्न थालिएको छ ।


ताइवानी डाक्टर हिङसिङ युङले कोरोना उपचारमा एरोसोल बक्सको अवधारणा ल्याएका थिए । सोही अवधारणा अनुरुप ताइवान, फिलिपिन्सलगायत विश्वका धेरै देशमा कोरोनाको उपचारमा एरोसोल बक्सको प्रयोग भइरहेको छ । युरोपमा पनि कोरोना भाइरस संक्रमितको उपचार गर्दा एरोसोल बक्सको प्रयोग गर्ने गरिएको छ ।
नेपालमा पनि स्थानीयस्तरमा एरोसोल बक्सलगायतका सामग्री बनाउन थालिएको छ । महावीर पुनको समूहले त्यस्ता सामग्रीहरुको उत्पादन गरेको भएपनि त्यसले थेग्ने अवस्था छैन । तर, काठमाडौंमै अन्य समूहहरुले पनि कोरोना उपचारमा आवश्यक सामग्री निर्माण गरिरहेका छन् ।
डिभाइन प्याकेजिड टेकु र प्रिमियर प्रिन्ट कम्पनीले संयुक्त रुपमा केही समययता एरोसोल बक्सको उत्पादन गरिरहेका छन् । यो समूहले काठमाडौंका १० बटा अस्पताल र उपत्यका बाहिर पोखराको गण्डकी मेडिकल कलेजमा एरोसोल बक्स उपलब्ध गराइसकेको छ । कोरोना मात्रै नभई जुनसुकै भाईरल इन्फेक्टेड बिरामीको उपचारमा उपयोगी हुने एरोसोल बक्स काठमाडौंका गंगालाल, उपेन्द्र देवकोटा मेमोरियल न्यूरो अस्पताल, शिक्षण अस्पताल, ग्राण्डी अस्पताल, ब्लुक्रस, मध्यपुर ठिमी हस्पिटल, वयोधा अस्पताल, भक्तपुर क्यान्सर अस्पताललाई उपलब्ध गराएको डिभाइन डाईका प्रोपराइटर बिक्रम शाक्यले बताए । एक स्थानीय डाक्टरको मागमा प्रिमियर प्रिन्टका कबिर जोशी र राजेश शाक्यसँग मिलेर आफूहरुले अन्तर्राष्टिय डिजाइन र मापदण्ड अनुरुपको एरोसोल बक्स बनाइरहेको शाक्यको भनाइ छ ।
यस बक्सको प्रयोग गरिरहेका शिक्षण अस्पतालका डाक्टर प्रमेशले बक्सको प्रयोगले उपचारमा धेरै सहज भएको बताए । यस्तै गण्डकी अस्पतालका डाक्टर तुमाया घलेले पनि एरोसोल बक्स आपूmले तयारी अवस्थामा राखेको र यसबाट उपचारमा सहज हुने बताउनु भएको छ । डा घलेले एरोसोल बक्स कोराना मात्र नभई अन्य सरुवा रोगको उपचारमा पनि उपयोगी हुने बताएका छन् ।
यो समूहले बिहीबार शुक्रराज सरुवा रोग उपचार अस्पताल टेकुलाई एउटा एरोसोल बक्स उपलब्ध गराएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष बिकास डंगोलको रोहबरमा अस्पतालका डाक्टर अनुप बास्तोलालाई बक्स हस्तातरण गरिएको हो । डा. बास्तोलाले पनि बक्स अन्तर्राष्ट्रिय डिजाइन र गुणस्तरको अनुरुपको रहेको बताउनु भएको छ । प्रिमियर प्रिन्टका सञ्चालक कबीर जोशीले आफ्नो ज्यानको माया नगरी कोरानासंग फ्रन्ट लाइनमा लडिरहेका डाक्टर र स्वास्थ्यकर्मीहरुको सुरक्षालाई ध्यानमा राख्दै आफूहरुले एरोसोल बनाउने पहल गरेको र त्यसमा सफल भएको प्रतिक्रिया दिएका छन् । यसबाट महामारी विरुद्धको लडाइँमा सानै भएपनि योगदान गर्न पाउँदा खुशी लागेको जोशीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्