Logo
Logo

सिमानामा रोकिएकाहरु भन्छन्, ‘हामी नेपाल आउन पाउने हो ?


नरेन्द्रसिंह कार्की/रासस

0
Shares

  • नरेन्द्रसिंह कार्की/रासस

दार्चुला, १२ बेशाख । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी भएको एकमहिना पुरा भयो । सिमानाकामा धेरै नेपाली रोकिएका छन् ।


‘भारत पिथौरागढको दार्चुलाको क्वारेन्टाइनमा मात्र बसेको एक महिना बित्न लाग्योे । पौडिन सक्ने जति महाकाली तरेर दिनहुँ गइरहन्छन् । हामी पौडन नसकेरै क्वारेन्टाइनमै छौँ’, बैतडीका दीपक चुनाराले भने, ‘स्वदेश फिर्ता ल्याउँछाँै ल्याउँछौँ भनेर भन्छन्, तर हामी कहिले आउन पाउने हो ?’ उनले क्वारेन्टाइनमा अहिलेसम्म स्वास्थ्य जाँच नभएकोमा दुःखेसो पोखे । गत चैत १३ गते दार्चुला पुगेदेखिका नेपालीहरु घर फर्किन पाएका छैनन् । क्वारेन्टाइनमा बसेकाहरु अझै स्वदेश फर्किन नपाउँदा निराश भएका छन् ।
भारत पिथौरागढको दार्चुलास्थित मिनीस्टडियममा बस्नुभएका उनीहरुले अहिलेसम्म आफूहरुको स्वास्थ्यप्रति सरकारले ध्यान नदिएको गुनासो गरेका छन् । उनीहरु एक महिनासम्म आफूहरुलाई सरकारले घर फर्काउन पहल नभएकोमा चिन्तित छन् ।
अमृत बोहरा भन्छन्, ‘क्वारेन्टाइनमा न खाना समयमा पाइन्छ, न बास बस्न नै राम्रो व्यवस्था छ । एउटै देशका नागरिकमाथि किन विभेद ।’ नेपालमा पौडिएर गएकाहरु राम्रो गाउँघरका क्वारेन्टाइनमा छन् भने कोही गाउँ पुगिसके । हामी भाग्न नसक्नेहरु यहाँ बस्नुपरेको बोहराको भनाइ छ । उनले भने, ‘क्वारेन्टाइनबाट भागेर जानेहरुका कारण आफूहरुले समस्या झेल्नुपरेको छ । शौचालय जाँदा पनि केरकार गर्न थालेका छन् । दिशा गर्न महाकाली किनार जानुपर्छ । प्रत्येकलाई पाँच मिनेटको समयावधि दिइएको छ । गालीगलौच र कुटपिट हुन्छ, हाम्रो कहिले उद्धार हुन्छ ।’
तर उनीहरुसँगै क्वारेन्टाइनबाट भागेर आउने तथा ट्युब, महाकाली पौडिएर शुक्रबारसम्म २२० जना नेपाल प्रवेश गरेका छन् । लकडाउन अवधिमा अन्तर्रा्ष्ट्रिय सीमानाका बन्द गरी सीमानाकामा हुने अवैध आवतजावतलाई पूर्णरुपमा नियन्त्रण गर्ने भनिए पनि उनीहरु महाकालीबाट अवैध रुपमा भित्रिएका हुन् ।
गत शुक्रबार मात्र मार्मा गाउँपालिका–६ का २५ वर्षीय प्रजापति देउरुखी र उहाँका श्रीमती २२ वर्षीया रेखा बोहरा महाकालीमा ट्युबमार्फत नेपाल भित्रिएका छन् । उनीहरु महाकाली नगरपालिका–९ उडै क्षेत्रबाट स्वदेश प्रवेश गरेको महाकाली नगरपालिका विपद् शाखा संयोजक भुवन जोशीले जानकारी दिए । रोजगारीको सिलसिलामा गएका दार्चुला, बैतडी, बझाङलगायत क्षेत्रका स्थानीयवासी दिनहुँजसो महाकाली नदी तरेर स्वदेश भित्रिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए ।
आजसम्म यहाँका पाँच वटा क्वारेन्टाइनमा एक हजार ६३ जना व्यक्ति रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भारतमा रहेका नेपालीलाई उद्धार गरेर ल्याउन जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पुनः अनुरोध गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको अध्यक्षतामा बसेको बैठकले जिल्लामा क्वारेन्टाइनमा रहेकाकोे समयावधि पुगिसकेका कारण स्वदेश ल्याउनका लागि सरकारलाई आग्रह गर्ने निर्णय गरिएको उनले बताए ।
‘हामीले उनीहरुको व्यवस्थापनका लागि स्थानीय तहलाई तयार रहन भनेका छौँ’,ं प्रजिअ पौडेलले भने, ‘सरकारले निर्णय गर्ने्बित्तिकै उद्धार हुन्छ । अहिले स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाइनलाई यथावत् राख्न आग्रह गरेका छौँ ।’
भारतमा रहेका नेपालीलाई यही वैशाख १५ गतेभित्र स्वदेश ल्याउन स्थानीय तहका जनप्रतिनिधिले समेत आग्रह गरेका छन् । बैठकमा सहभागी मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले समस्यामा रहेको भन्दै तत्काल उनीहरुको उद्धार गर्नुपर्ने बताए । उनले भने, ‘चार सातादेखि उनीहरु अप्ठ्यारोमा छन्, । उनीहरुलाई तत्काल ल्याउने व्यवस्था मिलाउनुपर्छ ।’
जिल्ला समन्वय समिति प्रमुख करवीरबहादुर कार्की बैठकले सरकारलाई धार्चुलामा रहेकाहरुलाई उद्धारका लागि आग्रह गर्ने निर्णय गरेको बताए । तर १५ गतेसम्म पनि कुनै निर्णय नआए पनि दार्चुलाका स्थानीय तहहरुले व्यवस्थापन गर्ने गरी उद्धार गर्नुपर्छ भन्ने बैठकको निष्कर्ष रहेको उनले बताए । बैठकका एक सहभागीका अनुसार दुई÷तीन दिनभित्र सरकारले आदेश नगरे पनि स्थानीयस्तरमा सहमति गरेर ल्याउने कुरामा बैठकका सहभागी एकमत देखिएका छन् ।
बैठकमा महाकाली नगरपालिका प्रमुख हंशराज भट्ट, मार्मा गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामी, नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामी र मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्