काठमाडाैँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक अस्थिरताका कारण सहकारीका समस्या ओझेलमा परेको धारणा व्यक्त गरेका छन् ।
आज यहाँ आयोजित ‘सहकारी रकम अपचलन र त्यसमा राज्यले गरेको संरक्षणबाट उत्पन्न परिस्थिति’ विषयक कार्यक्रममा उनले सत्ता गठबन्धनमा देखिएको निरन्तरको फेरबदलपछि उत्पन्न राजनीतिक उथलपुथलसँगै सहकारीको बचत अपचलन हुँदा लाखौँ जनता बिचल्लीमा परेको बताए ।
त्यस अवसरमा पार्टीद्वारा प्रस्तुत कार्यपत्रमा सहकारीको जन्म पुँजीवादी शोषण र पीछडिएका मुलुकमा सामन्तवादी शोषण तथा साहुकारी प्रथाविरुद्ध भएको उल्लेख छ । सहकारीको मुख्य उद्देश्य मजदुर, किसान, समाजमा दबिएका, उपेक्षित र किनारामा पारिएका वर्गको आर्थिक रुपले पक्षपोषण गर्नु रहेको समेत उल्लेख गरेको छ ।
सहकारीको समस्या समाधानमा जनता र राजनीतिक दलले दबाब सिर्जना गर्न आवश्यक रहेको बताउँदै अध्यक्ष केसीले गरिब जनताले छाक काटेर जोगाएको पैसा केही सीमित टाठाबाठाले हिनामिना गरेका जिकिर गरे ।
त्यस अवसरमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सहकारीको समस्या अत्यन्त गम्भीर समस्याकारुपमा देखा परेको बताए । उनले भने, “लाखौँ नागरिकको अर्बाै रकम हजारौ सहकारीमा जम्मा गरेका छन् । उनीहरुको बचत अपचलन, दुरुपयोग, हिनामिना र ठगी भएको छ । केही सहकारीले बचत फिर्ता गर्न सकेका छैनन् भने केहीमा बचतको सुरक्षामै प्रश्न उठेको छ ।”
केही सहकारीको समस्याका कारण सम्पूर्ण सहकारीमा रहेको बचत रकम सुरक्षाबारे गम्भीर प्रश्न उठेको उनको भनाइ थियो । उनले सहकारीको बचत अपचलनमा सार्वजनिक र राष्ट्रको महत्वपूर्ण जिम्मेवारीमा रहेका व्यक्तिको संलग्नता देखिने चिन्ताको विषय भएको टिप्पणी गरे ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले सामान्तवादविरुद्धको अभियानकारुपमा अघि बढेको सहकारी आन्दोलनका माध्यमद्वारा समाजवादतर्फ जान सकिन्छ भन्ने ध्येय रहे पनि नेपालमा भने उद्देश्य अनुरुप कार्यान्वयन हुन नसकेको बताए ।
उनले भने, “वस्तु उत्पादन गरी निर्यात गर्नुपर्नेमा शेयर लगानी गर्ने, मुनाफा कमाउने तथा ब्याज खानेमा सहकारी आन्दोलन सीमित भएको छ ।”